चितवन, १४ कात्तिक । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेलले चेपाङ बालबालिकाको शिक्षाका लागि चितवनमा अक्षयकोष स्थापना गर्नुभएको छ ।
भरतपुरस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रबाट काठमाडौं सरुवा हुनुभएका खरेलले विदा हुनुअघि चितवनको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा अक्षयकोष स्थापना गर्नुभएको हो । स्थापना गरिएको अक्षयकोषमा एक लाख ९१ हजार रुपैयाँ जम्मा भएको छ । केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई शिक्षा प्रदान गर्न दीर्घकालिन स्रोतको लागि एसएसपी खरेलको पहलमा अक्षयकोष स्थापना गरिएको हो ।
मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा आज शनिवार आयोजित कार्यक्रममा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेपछि अक्षयकोषमा अहिलेसम्म एक लाख ९१ हजार रुपैयाँ जम्मा भएको हो ।
अक्षयकोषमा एसएसपी खरेलले ५१ हजार, डाक्टर ढुण्डी पौडेलले ५१ हजार १११, समाजसेवीहरु जमुना पौडेलले २५ हजार, सरस्वती रिजालले १६ हजार, राजन खयरखोलीले १५ हजार, दिपक खाँडले ५ हजार, केशब कुमार गुरुङले ३ हजार १ सय, व्यवसायी नवराज न्यौपानेले १० हजार १ सय, चितवन युवा समुह दोहा कतारबाट ११ हजार १ सय आर्थिक सहयोग गर्नुभएको छ ।
यसभन्दा अगाडि अक्षयकोषमा सशस्त्र प्रहरीका एसपी शम्भू उप्रेतीले ५ हजार सहयोग गरेका थिए । अक्षयकोषमा पाँच करोड पु¥याउने महत्वकाँक्षी योजना रहेको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले जानकारी दिनुभयो । केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई एसएसपी खरेलले प्रहरी तालिम केन्द्रभित्र फुटबल खेल्न दिनुका साथै प्रहरीसँग विहानको खाना खाने व्यवस्था पनि गरिदिनुभएको थियो ।


















प्रतिक्रिया