१३ मंसिर २०८३, आइतबार

स्पेन नजिकै आप्रवासी बोकेको डुङ्गामा १५ शव फेला, ६ जनाको गम्भीर अवस्थामा उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्पेनको क्यानरी टापुनजिकै आप्रवासीहरू बोकेको एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ ।

डुङ्गाको इन्जिन बिग्रिएपछि करिब १०० जना मानिस तीन दिनसम्म समुद्रमा अलपत्र परेका थिए । यस अवधिमा डुङ्गामा भएको खानेकुरा र पानी सकिएको थियो ।

स्पेनी सञ्चारमाध्यमका अनुसार अत्यधिक तिर्खाले पीडित केही व्यक्तिले समुद्रको पानी पिएका थिए । त्यसकै कारण उनीहरूमा गम्भीर जलवियोजन (डिहाइड्रेसन) भई मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । यद्यपि, मृत्युको यकिन कारण भने अझै चिकित्सकीय रूपमा पुष्टि भइसकेको छैन ।

घटनापछि ६ जनाको अवस्था गम्भीर छ र उनीहरूलाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ । डुङ्गामा रहेका अन्य व्यक्तिहरूको पनि उद्धार गरिएको छ । उनीहरू सबै पश्चिम अफ्रिकी राष्ट्र गाम्बियाबाट समुद्री मार्ग हुँदै युरोप पुग्ने प्रयास गरिरहेका थिए ।

स्पेनको सामुद्रिक उद्धार टोलीले क्यानरी टापुहरूमध्ये एक एल हिएरोबाट करिब ७२ किलोमिटर दक्षिणमा उक्त डुङ्गा फेला पारेको थियो । त्यसपछि उद्धार कार्य सुरु गरी डुङ्गालाई तानेर ला एस्टाका बन्दरगाहसम्म पुर्‍याइयो ।

बाँकी आप्रवासीहरूलाई पनि सुरक्षित रूपमा उद्धार गरी एल हिएरोस्थित ला रेस्टिङ्गा बन्दरगाहमा पुर्‍याइएको छ, त्यहाँ उनीहरूका लागि बसोबास र चिकित्सा सेवाको व्यवस्था मिलाइएको छ ।

क्यानरी टापुहरू अफ्रिकाको उत्तर-पश्चिमी तट नजिक आन्ध्र महासागरमा अवस्थित छन् र यी टापु स्पेनको हिस्सा हुन् । पश्चिम अफ्रिकाका विभिन्न देशबाट आएका आप्रवासी समुद्री मार्ग हुँदै यी टापुसम्म पुग्ने प्रयास गर्छन्, त्यसपछि उनीहरू स्पेन तथा युरोपेली सङ्घका अन्य देशमा जाने कोसिस गर्छन् ।

सन् २०२४ मा ४६,००० भन्दा बढी आप्रवासी यहाँ समुद्री मार्ग हुँदै आइपुगे, यो हालसम्मकै उच्च सङ्ख्या हो । त्यसपछि समुद्री निगरानी बढाइयो र आप्रवासीहरूलाई रोक्न अफ्रिकी राष्ट्रहरूसँग सहकार्य गरियो । फलस्वरूप, यहाँ आउने मानिसको सङ्ख्यामा कमी आएको छ ।