११ मंसिर २०८३, शुक्रबार

कांग्रेसमा दुई पक्ष : एउटा महाधिवेशनको तयारीमा, अर्को कारबाहीको तयारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मनिषा बस्नेत

काठमाडौं । नेपालको पुरानो पार्टी नेपाली कांग्रेसका यतिबेला दुई धारमा विभाजित छ । दुवै पक्षले समान्तर गतिविधि गरिरहेका छन् । दुई पक्षका नेताहरु एकअर्काको अस्तित्व स्वीकार्ने अवस्थामा छैनन् । दुवै पक्ष फरक फरक रणनीति र कार्यक्रममा व्यस्त छन् । 

निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष काठमाडौंको चुनदेवीमा कार्यालय स्थापना गरेर १५ औं नियमित महाधिवेशनको तयारीमा जुटेको छ । साथै, विशेष महाधिवेशन हुँदै १५ औं नियमित महाधिवेशनमार्फत निर्वाचित गगन थापा पक्ष सानेपा कार्यालयबाट नियमित गतिविधि गर्दै देउवा पक्षका नेताहरुलाई कारबाहीको तयारीमा उत्रिएको छ ।

गगन पक्षले समानन्तर गतिविधी गरेको तथा पार्टीको चुनाव चिन्ह र झण्डाको दुरुपयोग भएको भन्दै देउवा पक्षका नेताहरुलाई कारबाही गर्नेगरी केन्द्रीय समिति बैठकमा बहस नै चलाएको छ । यस्ता गतिविधिले कांग्रेस प्रष्ट रुपमा विभाजित भइसकेको प्रमाणित हुँदै गएको छ ।

हुनत, विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीको आधिकारिकता र १५ औं महाधिवेशनलाई लिएर दुई पक्षबीचको विवाद गत पुसदेखिकै हो । तर नियमित महाधिवेशनपूर्व एकताको प्रयास भएपनि त्यो संभव नभएपछि दुवै पक्षका नेताहरु दुई धारमा विभाजित भएर गतिविधिलाई आक्रमक बनाएका हुन् ।

त्यसैले यतिबेला एक पक्षले १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं नियमित महाधिवेशन गर्ने तयारी गरिरहेको छ भने अर्को पक्षले गगन थापाको नेतृत्वमा पार्टीको नियमित गतिविधि अघि बढाइरहेको छ । दुवै पक्षले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै आएका छन् ।

चुनदेवीमा महाधिवेशनको तयारीमा जुटेको पक्षले १४ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन सम्पन्न गर्ने बताएको छ ।

नेपाल दलित संघकी अध्यक्ष यमुना खड्का विश्वकर्माले पार्टीभित्र दुईवटा कांग्रेस रहेको भन्ने कुरा स्वीकार गर्न नसकिने बताइन् ।

उनले भनिन्, ‘दुई पक्ष भन्ने नै छैन । किनभनेसरसर्ती हेर्दा १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ । उहाँकै अध्यक्षतामा, नेतृत्वमा १५ औं महाधिवेशन सम्पन्न गर्ने हो । त्यो कुरा विधि र विधानमा स्पष्ट छ । त्यसैले निर्वाचित सभापति देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन गर्दैछौं । यसमा दोस्रो, तेस्रो, अर्को कांग्रेस भन्ने कुरै हुँदैन ।’

पार्टीभित्र एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने विषय समेत उठिरहेको सन्दर्भमा उनले सबै पक्ष कांग्रेस भएकाले कारबाहीको औचित्य नरहेको बताइन् । दुवै पक्षले चारतारे झण्डा र रूख चुनाव चिह्न प्रयोग गरेर महाधिवेशन गरिरहेको अवस्थामा कसलाई कारबाही गर्ने भन्ने प्रश्न उनको छ ।

उनले भनिन्, ‘कारबाही के का लागि गर्ने, सबै कांग्रेस होइन र ? सबै कांग्रेस नै हो । उहाँहरूले पनि चारतारे झन्डा र रुखमुनि नै अधिवेशन गराएर आउनुभयो, हामी पनि चारतारे झन्डा र रुख नै राखेर अधिवेशन गरिरहेका छौँ । भनेपछि कारबाही कसको लागि र कसलाई गर्ने हो ?’

उनका अनुसार देउवा पक्षले १५ औं महाधिवेशनको तयारीलाई तल्लो तहबाटै अघि बढाएको छ । धेरै जिल्लाको अधिवेशन सम्पन्न भइसकेको र केही जिल्लामा भौगोलिक तथा संगठनात्मक कठिनाइका कारण अधिवेशन बाँकी रहेको उनले बताइन् । गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशनसमेत सम्पन्न भइसकेको उनको भनाइ छ ।

यस्तै, १५ औं नियमित महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्रीको तयारीमा रहेका तीर्थ गौतमले पनि आफूहरू नियमित महाधिवेशनको प्रक्रियामा रहेको बताए । उनले दुई महामन्त्रीले अघि बढाएको विशेष महाधिवेशनलाई आफ्नो पक्षले नचिन्ने स्पष्ट पारे । पार्टीभित्रका विभिन्न समूहले आ–आफ्नै ढंगले महाधिवेशन गर्दै जाने हो भने संस्थाको अवस्था कमजोर हुने उनको तर्क छ ।

उनले भने, ‘१५ औं नियमित महाधिवेशन अन्तर्गत हामी छौँ । विशेषलाई अहिले चिन्दैनौँ । किनभने दुई महामन्त्रीहरूले विशेष गर्नुभयो अब अरू दुई–तीन उपसभापतिले अर्को विशेष गर्नुहोला । पार्टीभित्रका विभिन्न समूहले आ–आफ्नो अधिवेशन गर्दै जाने हो भने पार्टी संगठन कहाँ पुग्ला ? दुई जना महामन्त्रीहरू उफ्रेर, कसैबाट प्रभावित भएर, कतैबाट सञ्चालित भएर उहाँहरूले विशेष महाधिवेशन गर्नुभयो, त्यसलाई हामी चिन्दैनौँ । उहाँहरूको आफ्नो पार्टी फुटाएर जानुभएको हो कि, पार्टीबाट अलग भएर जानुभएको हो कि, पार्टीका साथीहरूलाई कन्भिन्स गरेर लानुभएको हो कि र पार्टी चोइट्याएर लानुभएको हो, उहाँहरूको कुरो हो। उहाँसँग हाम्रो कुनै पनि सरोकार छैन । हामी अहिले तलदेखि माथिको संरचनालाई अगाडि बढाएर, तलदेखि माथिको सङ्गठनलाई सुदृढ गर्दै हामी अगाडि बढिरहेका छौँ ।’

विशेष महाधिवेशन र त्यसबाट चयन भएको नेतृत्वको आधिकारिकताको विषय अदालतमा समेत पुगेको उल्लेख गर्दै गौतमले आफूहरूलाई सर्वोच्च अदालतले निस्सा दिएको र दुवै पक्षले अहिले आधिकारिकता नपाएको अवस्था रहेको दाबी गरे । उनले पार्टीभित्र एकअर्कालाई कारबाही गर्ने विषयभन्दा नियमित महाधिवेशनको प्रक्रियामा अघि बढ्नु आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा उहाँहरू पनि अहिले आधिकारिक होइन, हामी पनि अहिले नियमित महाधिवेशन अन्तर्गत छौँ । एकले अर्कोलाई कारबाही गर्ने कुरा कानुनी रूपमा अहिले मिल्दैन । तर गगन थापाजीहरूले विशेष भनेर पार्टी फुटाएर जानुभयो, उहाँहरूलाई अलरेडी केन्द्रीय समितिको दुई तिहाइले कारबाही गरिसकेको छ ।’

यता गगन थापाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिको बैठकमा भने पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोगको विषयले प्राथमिकता पाएको छ । केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पार्टीको नाम र चुनाव चिह्नको दुरुपयोग रोक्नुपर्ने भन्दै आफूले बैठकको सुरुमै दुईवटा प्रस्ताव दर्ता गराएको बताए ।

उनका अनुसार एउटै पार्टीको नाम, झण्डा र चुनाव चिह्न प्रयोग गरेर फरक–फरक गतिविधि सञ्चालन हुनु पार्टीको पहिचानको दुरुपयोग हो । यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय बैठकबाट गरिने उनको भनाइ छ ।

उनले भने, ‘यो विषय नै छलफलको प्रमुख विषय थियो । म आफैँले प्रारम्भमा यो विषयको दुईवटा प्रस्ताव दर्ता गराएको छु । हाम्रो पार्टीको झण्डा, पार्टीको नाम, चुनाव चिह्नको दुरुपयोग भइरहेको छ । कांग्रेस १५ औं महाधिवेशनबाट निर्वाचित भएर आएको गगन थापाको नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक बसिराखेको छ । झण्डा, चुनाव चिह्नको दुरुपयोग रोक्ने काम निर्वाचन आयोगको हो । कांग्रेसको चुनाव चिह्न, झण्डा कहीँ कसैले दुरुपयोग गर्न पाइँदैन । जसले कांग्रेसको नाम हुँ भनेर गतिविधि गरिराखेका छन्, उहाँहरू नेपाली कांग्रेस होइनन् । कांग्रेस हुँ भन्ने उहाँहरूलाई कुनै अधिकार छैन ।’

तिमल्सिनाले कांग्रेसको रूख चुनाव चिह्नबाट स्थानीय तह, प्रदेश र संघीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई पनि पार्टीको नियमित गतिविधिमा सहभागी हुन आग्रह गरिने बताए ।

पार्टीको महाधिवेशन तथा नियमित प्रक्रियामा सहभागी नहुने जनप्रतिनिधिलाई सचेत गराउने र त्यसपछि पनि पार्टी गतिविधिमा नफर्किए विधानअनुसार अनुशासन समितिबाट कारबाही अघि बढाउने उनको भनाइ छ ।

उनले पार्टीको आधिकारिकता र वैधानिकताको अन्तिम निर्णय गर्ने निकाय निर्वाचन आयोग भएको उल्लेख गर्दै आयोगले गगन थापाको नेतृत्वलाई अद्यावधिक गरिसकेको दाबी गरे । पार्टीको नाम, झण्डा र चुनाव चिह्नको प्रयोगसम्बन्धी विषयमा केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्ने पनि उनले बताए ।

यसैगरी, अर्का केन्द्रीय सदस्य सुशील भट्टले निर्वाचन आयोगले गगनकुमार थापालाई आधिकारिक सभापति मानेर विशेष महाधिवेशनलाई वैधानिकता दिएको र अदालतले पनि अधिवेशन निरन्तर अघि बढाउन आदेश दिएको दाबी गरे । सोही आधारमा महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वको बैठक बसिरहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपाली कांग्रेस वैधानिक रूपले सबैभन्दा उपल्लो निकाय भनेको निर्वाचन आयोग हो । आयोगले निर्णय गरिसक्यो, अदालतले पनि अधिवेशन कन्टिन्यु गर्ने भनेर आदेश दिइसक्यो । सोही अनुसार हामी अगाडि बढेका हौँ ।’

भट्टले पार्टीभित्रका असहमति र असमझदारीलाई आन्तरिक छलफलबाटै समाधान गर्नुपर्ने धारणा राखे । पार्टीका वरिष्ठ नेताहरूलाई बाहिर रहेर समानान्तर गतिविधि गर्नुभन्दा पार्टीकै संरचनाभित्र फर्किएर छलफलमा सहभागी हुन उनले आग्रह गरे ।

तर चुनदेवीमा महाधिवेशनको तयारी गरिरहेको पक्षले भने गगन थापाको नेतृत्वलाई आधिकारिकता दिने विषय अझै अन्तिम रूपमा टुंगिनसकेको दाबी गरेको छ ।

महाधिवेशन प्रतिनिधि राजकुमार डागीले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले नै कुनै एक पक्षलाई आधिकारिक र अर्को पक्षलाई अनधिकृत भन्न नमिल्ने बताए ।

नेता डागीले पार्टीको वैधानिकता माथिल्लो निकायबाट तल्लो निकायमा हस्तान्तरण हुने प्रक्रिया रहेको जिकिर गरे ।

उनले विशेष महाधिवेशन आयोजना गर्न महामन्त्रीहरूलाई केन्द्रीय कार्यसमिति वा सभापतिले अधिकार दिनुपर्ने बताए । उनका अनुसार त्यस्तो अधिकार नलिई गरिएको विशेष महाधिवेशन वैधानिकताको दृष्टिले प्रश्नयोग्य छ ।

उनले निर्वाचन आयोगको निर्णयमा त्रुटि भएको आफ्नो पक्षको बुझाइ रहेको र त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गरिएको पनि बताए । अदालतको अन्तिम फैसला नआएसम्म आधिकारिक कांग्रेसको विषयमा निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ । डागीले कारबाहीको विषयलाई पनि विवाद समाधानको उपयुक्त माध्यमका रूपमा लिन नसकिने बताए ।

कांग्रेसभित्र एक पक्ष नियमित महाधिवेशनको तयारीमा जुटिरहेको छ भने अर्को पक्ष विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वको वैधानिकताका आधारमा पार्टीका गतिविधि अघि बढाइरहेको छ ।

दुवै पक्षले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्नमाथि आफ्नो अधिकार रहेको दाबी गरिरहेका छन् । पार्टीको आधिकारिकता, महाधिवेशनको वैधानिकता र एकअर्कामाथि हुन सक्ने कारबाहीका विषयले कांग्रेसभित्रको विवादलाई थप पेचिलो बनाएको छ ।

देउवा पक्षले यही मंसिरको २१ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्दैछ भने गगन पक्षले स्थानीय तह निर्वाचन लक्षित गतिविधि अगाडि बढाएको छ ।