–अजितकुमार झा
इनरुवा । बुधबारदेखि १६ दिने लैंगिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका १२ वटै स्थानीयतहमा १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान सुरु भएको हो । तर सुनसरी दुहबी नगरपालिका–३ का रमेश यादवले आफ्नै छोरीलाई खोजी गरिदिनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको सृजना भएको छ ।
दुहबी–९ का अन्दाजी १७ वर्षीय फयाज हुसेनले गत कात्तिक ७ गते भगाएर लगेको आरोप लगाउँदै खोजी गरिदिनका लागि आग्रह गरेको भए पनि सुनवाई नगरेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय दुहबीमा टाइर बालेर विरोध प्रदर्शन गरेका छन् ।
घटनाको भोलिपल्टै अर्थात् कात्तिक ८ गते आरोपितको हुलियासहित इलाका प्रहरी कार्यालय दुहबीमा किटानी जाहेरी दिएको भए पनि एक महिनादेखि बेपत्ता रहेकी छोरीको खोजी तथा घटनामा संलग्न भनिएका व्यक्तिमाथि कारबाहीको माग गर्दै परिवारले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रहरी कार्यालय अगाडि टायर बालेर विरोध गर्नुका साथै कोशी राजमार्ग समेत केही बेर चक्काजाम गरेका थिए ।
छोरी बेपत्ता भएको एक महिना भए पनि न्याय नपाएको र आरोपित व्यक्ति पक्राउ नपरेको भन्दै परिवार तथा स्थानीयबासी आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन् ।
यता सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्ले दुवै जना बीच प्रेम सम्बन्ध रहेको र प्रेममा परेर भागेको बताएका छन् ।
केही दिन अगाडि मात्र एक पटक केटा र केटी दुवैलाई परिवारको जिम्ममा लगाएको भए पनि पुनः भागेको प्रहरी उपरीक्षक मल्लले बताए । केटा र केटीको खोजी कार्य जारी रहेको बताउँदै छिट्टै दुवै जनालाई कानुनी दायरामा ल्याउने उनले प्रतिक्रिया दिए ।











प्रतिक्रिया