काठमाडौं । प्रसिद्ध बेलायती पौडीबाज लुइस प्युले युद्ध चलिरहेकै बेला होर्मुज जलडमरुमा पौडी खेले । उनले तीन दिनमा करिब १५ किलोमिटर दूरी पार गरे । पौडी खेल्ने क्रममा उनले तेल बोक्ने ट्यांकर र अन्य जहाजहरूमाथि आक्रमण भइरहेको देखे ।
५६ वर्षीय प्यु संयुक्त राष्ट्रसङ्घका महासागर संरक्षणसम्बन्धी विशेष प्रतिनिधि हुन् ।
युद्धका कारण समुद्री जीव र वातावरणमा पुगिरहेको क्षतिप्रति विश्वको ध्यानाकर्षण गराउन उनले यो पौडी यात्रा गरेका हुन् ।
उनका अनुसार युद्ध समाप्त भएपछि पनि तेल र रसायनका कारण हुने प्रदूषणले कैयौँ दशकसम्म महासागरलाई हानि पुर्याइरहन सक्छ ।
प्युले ओमानको मुसन्दमबाट पौडिन सुरु गरेर होर्मुजसम्मको यात्रा तय गरे । उनले यो दूरी एकैपटकमा पार गरेनन्, बरु सुरक्षाका कारण उनले तीन दिन लगाएर विभिन्न खण्डमा पौडिए । उनी जम्मा साढे ६ घण्टा पानीमा रहे । युद्ध सुरु भएयता यस क्षेत्रमा यति लामो दूरी पौडिने उनी पहिलो व्यक्ति मानिन्छन् ।
प्युले बताएअनुसार पानीमा पसेको केही मिनेटमै उनले दुईवटा ठूला विस्फोटको आवाज सुने । उनले करिब ४ किलोमिटर टाढा रहेको एउटा तेल बोक्ने ट्याङ्करलाई निशाना बनाइएको देखे । त्यसपछि त्यहाँ लडाकु विमानहरू आइपुगे । उनले तुरुन्तै पानीबाट बाहिर निस्कनुपर्ने महसुस गरे । सुरक्षाका कारण उनको टोलीले पौडिन बन्द गर्यो । पछि उनीहरूले बाँकी दूरी फरक–फरक चरणमा पूरा गरे ।
भोलिपल्ट उनी बन्दरगाहतिर फर्किँदै गर्दा ग्यास बोकेको एउटा जहाजमा आक्रमण भयो । प्युका अनुसार उक्त जहाजबाट कडा रासायनिक गन्ध आइरहेको थियो र त्यसको वरिपरि आगोका लप्काहरू उठिरहेका थिए ।
ती बेलायती पौडीबाजले चेतावनी दिए कि फेब्रुअरीयता यस क्षेत्रमा दर्जनौँ ट्याङ्करहरूमा क्षति पुगेको छ । यी जहाजहरूबाट तेल र रसायनहरू समुद्रमा चुहिने जोखिम छ । यसले डल्फिन, कछुवा र अन्य समुद्री जीवहरूका साथै समुद्री किनार, कोरल रीफ (मूङ्गा चट्टान) र म्यान्ग्रोभ वनहरूलाई पनि हानि पुर्याउन सक्छ । प्युका अनुसार समुद्रमा फैलिएको तेल र रसायन सफा गर्नु अत्यन्तै कठिन काम हो ।
बेलायती पौडीबाज लुइस प्यु विगत ४० वर्षदेखि समुद्र र नदीहरूमा पौडी खेलेर वातावरण संरक्षणको अभियान चलाउँदै आएका छन् । उत्तरी ध्रुव (नर्थ पोल) पौडिएर पार गर्ने उनी विश्वकै पहिलो खेलाडी हुन् । उनले विश्वका सबै महासागरहरूमा लामो दूरीको पौडी पूरा गरिसकेका छन् ।
यसका साथै उनले अन्टार्कटिका, लाल सागर (रेड सी) र इङ्लिस च्यानल समेत पार गरेका छन् । सन् २०२३ मा उनले अमेरिकाको हडसन नदीको पूरै ५०७ किलोमिटर दूरी पौडिएरै पार गरेका थिए ।











प्रतिक्रिया