६ मंसिर २०८३, आइतबार

कांग्रेसले विगतमा अहिलेभन्दा कठिन परिस्थिति सामना गरेको छ, चुनौतीबाट विचलित हुनुपर्दैन : शशांक कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । शेरबहादुर देउवा पक्ष नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक परिस्थितिको सामना गरेर अघि बढेको इतिहास रहेको बताएका छन् । पार्टी अहिले कठिन मोडमा रहे पनि विगतका चुनौती र संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

कोइरालाले शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेसले हरेक चुनौतीलाई चिर्दै लोकतन्त्रको रक्षा गर्दै आएको स्मरण गराए ।

‘अहिले पार्टी कठिन परिस्थितिमा छ । तर कांग्रेसले विगतमा अहिलेभन्दा अझ कठिन परिस्थितिको सामना गर्दै आएको छ,’ उनले भने, ‘हरेक चुनौतीलाई चिर्दै कांग्रेस अघि बढेको इतिहास छ ।’

गण्डकी प्रदेशको अधिवेशनलाई कांग्रेसको ऐतिहासिक यात्राको निरन्तरताका रूपमा व्याख्या गर्दै उनले पार्टीको गौरवशाली इतिहास र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई स्मरण गरेका थिए ।

पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकता र नेतृत्वको विषयलाई लिएर विवाद चर्किरहेका बेला कोइरालाको यो भनाइ आएको हो ।

 उद्घाटन समारोहमा अधिकांश नेताहरूले विशेष महाधिवेशनको वैधानिकता, पार्टीको आधिकारिकता र पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए ।

देउवाले विशेष महाधिवेशन गर्न पाइने भए पनि त्यसका लागि विधानले तोकेको निश्चित प्रक्रिया पूरा हुनुपर्ने बताए । आवश्यक हस्ताक्षरको सनाखत भएको थियो वा थिएन भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

पछिल्लो हिंसात्मक घटनामा आफूलाई जेनजी युवाहरूले नभई नेपाली सेनाले उद्धार गरेको दाबी समेत उनले गरे ।

नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिको निर्णयबिना गरिएको विशेष महाधिवेशन अवैधानिक रहेको धारणा राखे । नेता प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेता विमलेन्द्र निधिले संविधानलाई समयानुकूल बनाउन आवश्यक संशोधन गर्नुपर्ने बताए । उमाकान्त चौधरीले कांग्रेस कमजोर हुँदा देशले प्राप्त गरेका राजनीतिक उपलब्धि गुम्ने जोखिम रहेको उल्लेख गर्दै पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाए ।

डा. प्रकाशशरण महतले देउवाले नेतृत्व गरेको कांग्रेस नै पार्टीको मूलधार भएको दाबी गरे । कांग्रेसलाई कमजोर बनाउने प्रयासले राष्ट्रियता र लोकतन्त्रलाई समेत कमजोर बनाउने उनको भनाइ थियो ।

एनपी साउदले विध्वंसको आडमा बालेनहरूले सत्ता र गगनहरूले पार्टी कब्जा गरेको टिप्पणी गरे । मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनमार्फत पार्टी विभाजन गराउने प्रयास भएको आरोप लगाए ।

गुरु बरालले राष्ट्रिय चुनौती सामना गर्न कांग्रेसका नेता तथा कार्यकर्ता इमानदार र जिम्मेवार हुनुपर्ने बताए । कुन्दनराज काफ्लेले कांग्रेसले कसैको निगाहमा नभई विधि, विधान, संविधान र कानुनी प्रक्रियाका आधारमा आधिकारिकता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

अधिवेशन उद्घाटन समारोहमा पुष्प पराजुली, सीता देवकोटा, रणबहादुर रावल, भूपेन्द्र राई लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।