बुटवल । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समाज विकासमा जोड्नुपर्ने बताएका छन् ।
एमालेका पुराना नेता गोविन्दप्रसाद पन्थीको निधनको छैटौं दिन शनिबार बुटवल–१३ मा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेता ज्ञवालीले नेपाली समाजमा नयाँ र पुरानो पुस्ताबीच खाडल सिर्जना गर्न खोजिएको भन्दै त्यो उचित नभएको बताएका हुन् ।
ज्ञवालीले पाका पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समाज विकासमा उपयोग गर्नुपर्ने बताए ।

एमाले बुटवल नगर कमिटीको आयोजनामा भएको सभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरे, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, प्रदेश सभा सदस्य चिन्तामणि पाण्डे लगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
अर्घाखाँचीको साविक भगवती गाविस (हाल छत्रदेव गाउँपालिका–७)मा विंस १९९७ साल भदौ ४ गते पिता परमानन्द पन्थी र माता मनकला पन्थीका ज्येष्ठ सुपुत्रका रूपमा जन्मिएका गोविन्दप्रसाद पन्थीको २०८३ साल कात्तिक ३० गते निधन भएको थियो ।
पन्थी २०६५ सालदेखि बुटवल उपमहानगरपालिका–१३ बेलवासस्थित लालिगुराँस पथमा बस्दै आएका थिए ।
स्वर्गीय पन्थीका श्रीमती मनकला पन्थी, छोरा चेतनारायण पन्थी, बुहारी सावित्रा गौतम पन्थी, पाँच छोरी, ज्वाइँ तथा १४ जना नातिनातिना छन् ।
उनकी माइली छोरी दीपा आचार्य एमाले अर्घाखाँची जिल्ला अखिल नेपाल महिला संघकी अध्यक्ष छिन् भने ज्वाइँ चेतनारायण आचार्य एमाले केन्द्रीय कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री छन् ।
यसअघि कात्तिक ३० गते निधन भएकै दिन एमालेले पार्टीको झण्डा ओढाएर उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो । उनको अन्तिम संस्कार गुल्मी जिल्लाको रिडीस्थित कालीगण्डकी घाटमा गरिएको थियो ।













प्रतिक्रिया