काठमाडौं । नेकपा (एमाले)का नेता विष्णु रिजालले एमालेले चुनाव हारे पनि राजनीति नहारेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत रिजालले एमाले लडेको तर समाप्त नभएको जिकिर गर्दै यस्तो बताएका हुन् ।
‘एमाले लडेको हो, सकिएको होइन । हामीले चुनाव हारेका हौँ, राजनीति हारेका होइनौँ,’ उनले भनेका छन्, ‘हामीले निर्माण गरेको संविधान छ, हामीले स्थापित गरेको व्यवस्था छ । त्यसैले खरानीबाट फिनिक्स चरा पुनर्जीवित भएझैं एउटा चुनाव हारेको एमालेले पुनर्जीवन प्राप्त गर्न सक्छ ।’
उनले चुनावी पराजयपछि एमालेले कठोर आत्मसमीक्षा र साधनाको बाटो रोज्नुपर्ने बताए ।
चुच्चो र प्वाँख खिइएपछि चट्टानमा घोटेर आफूलाई नयाँ उडानका लागि तयार पार्ने बाजको उदाहरण दिँदै उनले एमालेको पंक्तिले पनि आफूलाई नयाँ उडानका लागि तयार पार्नुपर्ने उल्लेख गरेका छन् ।
‘हामी फेरि नयाँ ऊर्जा र आत्मविश्वासका साथ नयाँ उचाइको उडान भर्न सक्छौँ,’ उनले भनेका छन्, ‘संकल्प गरौँ– सम्भव छ !’












प्रतिक्रिया