रौतहट । सिरहाको भगवानपुर गाउँपालिकाको विभिन्न स्थानबाट चोरी भएको ट्याक्टरको तीन थान ब्याट्री सप्तरीबाट बरामद भएको छ ।
चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत कात्तिक ३० गते राति भगवानपुर गाउँपालिका–३ र ५ का विभिन्न टोलबाट ट्याक्टरका ब्याट्री चोरी भएका थिए । घटनाबारे मंसिर १ गते प्रहरी चौकी ठाडीमा निवेदन परेपछि प्रहरीले अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो ।
खोजतलासकै क्रममा सोही दिन साँझ सप्तरीको बलानबिहुल गाउँपालिका–२ बाट भारततर्फ जाँदै गरेको बीआर ३२ एवाई ३४२१ नम्बरको मोटरसाइकलमा तीन थान ब्याट्री फेला परेका थिए ।
मोटरसाइकलमा शंकास्पद रूपमा ब्याट्री बोकेर लैजाँदै गरेको देखेपछि प्रहरीले रोकेर जाँच गरेको थियो ।
मोटरसाइकल चालक दिपेशकुमार यादवसँग सोधपुछ तथा अनुसन्धान गर्दा बरामद ब्याट्री भगवानपुरबाट चोरी भएका ब्याट्रीसँग मेल खाएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका क्रममा राजेशकुमार यादव समेत चोरीमा संलग्न रहेको खुलेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट चोरी भएका तीन थान ब्याट्री र प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी नरेश लिम्बुले जानकारी दिएका छन् ।











प्रतिक्रिया