२९ कार्तिक २०८३, आइतबार

रास्वपाको २० सदस्यीय भ्रमण टोली चीन प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने औपचारिक भ्रमणका लागि आईतवार चीन प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलले दुई देशबीचको राजनीतिक सम्बन्ध विस्तारसँगै विपद् व्यवस्थापन र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने भएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणको मुख्य उद्देश्य दुई देशका सत्तारुढ राजनीतिक दलबीचको सम्बन्धलाई नयाँ आयाम दिनु रहेको बताए ।

महामन्त्री आचार्यले चीन भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र रास्वपाबीचको दुईपक्षीय सम्बन्धलाई आधार बनाएर विभिन्न आयाममा सहकार्य गर्ने विषयमा विचार आदानप्रदान हुने बताएका हुन् । महामन्त्री आचार्यले नेपाल प्राकृतिक विपद्बाट प्रभावित भइरहने मुलुक भएकाले विपद् व्यवस्थापनका विषयमा समेत विशेष छलफल हुने जानकारी दिए ।

विशेषगरी विपद्का बेला उद्धार, राहत, पुनःस्थापना र विपद्पछिको व्यवस्थापनमा चीनले अपनाउँदै आएका अभ्यासबारे जानकारी लिने र त्यस क्षेत्रमा सहकार्यका सम्भावना खोजिने उनको भनाइ थियो । उनले आर्थिक क्षेत्रसँग जोडिएका बहुआयामिक विषयमा अनुभव आदानप्रदान तथा सहकार्यका सम्भावना खोजिने जानकारी दिए । महामन्त्री आचार्यले उदाउँदो विश्व आर्थिक शक्तिका रूपमा रहेको चीनबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा विचार आदानप्रदान गरिने बताएका छन् ।

त्यस्तै, पार्टी सभापति देखी प्रधानमन्त्रीको आगामी चीन भ्रमणका लागि आवश्यक आधार तयार गर्ने विषय पनि प्रतिनिधिमण्डलको भ्रमणको महत्वपूर्ण उद्देश्य रहेको आचार्यको भनाइ छ । महामन्त्री आचार्यले प्रधानमन्त्रीले दुवै छिमेकी मुलुकसँग जोडिएका संवेदनशील विषयमा विशेष ध्यान दिएर धारणा राख्न निर्देशन दिएको उल्लेख गर्दै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका विषयमा पार्टीगत धारणा भन्दा पनि राज्यको आधिकारिक नीतिअनुसार आफ्ना कुरा राख्न निर्देश गरेको बताए ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गरेको हो । १० दिनसम्म सञ्चालन हुने भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका विभिन्न राजनीतिक तथा संस्थागत निकायका प्रतिनिधिहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ ।