२८ कार्तिक २०८३, शनिबार

सर्लाहीको हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–विश्वनाथ ठाकुर

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहले एक वृद्ध दम्पतीमाथि इँटा प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

आक्रमणबाट ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका छन् ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटाले टाउको तथा अनुहारमा प्रहार गरी उनीहरूमाथि आक्रमण गरेको बताइएको छ ।

स्थानीयका अनुसार किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीय रविन्द्र यादवले जानकारी दिए ।

गएराति भएको उक्त घटनामा संलग्न समूहको पहिचान हुन सकेको छैन ।

आक्रमणको कारण समेत अहिलेसम्म खुल्न नसकेको हरिपुर्वा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रमेश यादवले जानकारी दिए ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

वृद्ध दम्पतीमाथि आफ्नै घरमा भएको यस आक्रमणले स्थानीयबासी त्रसित बनेका छन् ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।