काठमाडौं । रुवान्डाले ‘सन् २०३० को दशकको सुरुवाती वर्षहरू’देखि लागू हुनेगरी अफ्रिकी मुलुकमा मोटर रेस (दौड) आयोजना गर्न ‘फर्म्युला १’सँग १० वर्षे सम्झौतामा हस्ताक्षर गरेको छ ।
‘अफ्रिकन ग्रान्ड प्रिक्स’ नाम दिइने यो प्रतियोगिता राजधानी किगालीबाट २५ माइल दक्षिणमा रहेको बुगेसेरामा निर्माण गरिने नयाँ र विशेष प्रयोजनका सर्किटमा आयोजना हुनेछ । यो सर्किट सहरको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसँगै अवस्थित हुनेछ । सन् १९९३ यता अफ्रिकामा हुन लागेको यो पहिलो ‘फर्म्युला १’ दौड हुनेछ ।
‘फर्म्युला १’को एक विज्ञप्तिमा भनिएको छ कि यो परियोजना “आगामी पुस्ताका लागि सफल, दिगो र विश्व-स्तरीय ग्रान्ड प्रिक्स आयोजना गर्न उपयुक्त साझेदारसँग मिलेर बलियो आधार तयार पार्न गरिएको वर्षौंदृष्टि सहकार्यको परिणाम” हो।
पूर्व ‘फर्म्युला १’ चालक एलेक्स वुर्जद्वारा डिजाइन गरिएको यो सर्किट “प्राकृतिक भूबनोटसँग मेल खाने गरी तयार पारिएको छ, यसमा त्यस क्षेत्रको उचाइमा हुने परिवर्तनहरूलाई प्रयोग गरी एक अद्वितीय र चुनौतीपूर्ण रेसिङ अनुभव सिर्जना गरिएको छ, साथै दर्शकहरूका लागि खेल हेर्ने उत्कृष्ट अवसर पनि प्रदान गरिएको छ,” विज्ञप्तिमा थप उल्लेख छ ।
‘फर्म्युला १’ले यो दौडले अफ्रिकामा खेलको पहुँच विस्तार गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरेको छ । युरोप, एसिया र अमेरिकाको तुलनामा अफ्रिका यस खेलका लागि तुलनात्मक रूपमा कम अन्वेषण गरिएको बजार हो र वर्षभरिको तालिकामा यो दौड कुन समयमा समावेश गर्दा सबैभन्दा उपयुक्त हुन्छ भन्नेबारे अझै निर्णय भइसकेको छैन् ।
रुवान्डामाथि यसअघि ‘स्पोर्ट्सवाशिङ’ (खेलकुदको माध्यमबाट आफ्नो छवि सुधार्ने प्रयास)को आरोप लागेकाले यो दौड विवादित हुने सम्भावना पनि छ । यो खेलले मार्चदेखि मे महिनासम्म चल्ने मुख्य वर्षायाममा दौड आयोजना गर्न नचाहने सम्भावना छ । अक्टोबरदेखि नोभेम्बरसम्म अर्को छोटो र कम अवरोध पुर्याउने वर्षायाम हुन्छ ।
‘फर्म्युला १’ आफ्नो सिजनलाई २४ वटाभन्दा बढी दौडमा सीमित राख्न प्रतिबद्ध छ ।
रुवान्डाका राष्ट्रपति पल कागामेले भने, “तीन दशकभन्दा बढी समयदेखि, विश्वको प्रमुख मोटरस्पोर्ट च्याम्पियनसिप यो महादेशबिना नै सञ्चालन हुँदै आएको थियो, तर यो सम्झौतासँगै अब त्यो अवस्था परिवर्तन हुनेछ । रुवान्डा ‘फर्मुला १ अफ्रिकन ग्रान्ड प्रिक्स’ आयोजना गर्न र अफ्रिकाभरिका १० करोडभन्दा बढी प्रशंसकहरूसँग यो क्षण बाँड्न पाउँदा गर्व गर्छ । तीमध्ये धेरैजसो युवाहरू छन् जो यो खेल आफ्नै देशमा हेर्न र यसमा आफूलाई इन्जिनियर, प्राविधिक, उद्यमी तथा भविष्यमा चालकका रूपमा देख्न योग्य छन् ।”
“नयाँ अन्तर्राष्ट्रिय विमानस्थलसँगै बुगेसेरामा बन्ने सर्किटले आगामी दशकौंसम्म हाम्रो देश र क्षेत्रमा रोजगारी, सीप, पर्यटन र नयाँ व्यवसाय भित्र्याउनेछ, किनकि हाम्रो उद्देश्य केवल एउटा दौडको सप्ताहन्त मात्र नभई हाम्रा जनताका लागि दीर्घकालीन लाभ सुनिश्चित गर्नु थियो ।” उनले भनेका छन् ।
‘फर्म्युला १’का अध्यक्ष स्टेफानो डोमेनिकालीले यो नयाँ सम्झौतालाई “‘फर्म्युला १’ का लागि एक ऐतिहासिक क्षण” भनेका छन्, जसको अर्थ यो खेल अब “मानव बसोबास भएका हरेक महादेशमा” आयोजना हुनेछ ।
डोमेनिकालीले थपे, “अफ्रिका सधैं नै फर्मुला १ को भविष्यको हिस्सा रहँदै आएको छ । सुरुदेखि नै हामी सही तरिकाले, सही साझेदारसँग, दीर्घकालीन प्रतिबद्धताका साथ र अर्थपूर्ण प्रभाव सिर्जना गर्ने स्पष्ट दृष्टिकोणसहित यहाँ फर्कन दृढ थियौं ।”
यस दौडको आयोजनाले मानव अधिकार समूहहरूको विरोध निम्त्याउने सम्भावना छ, यी समूहहरूले रुवान्डामाथि ‘स्पोर्ट्सवाशिङ’ गरेको आरोप लगाउँदै आएका छन्, जस्तो कि प्रिमियर लिगका फुटबल क्लबहरू आर्सनल र एस्टन भिल्लालाई प्रायोजन गर्दा पनि भएको थियो ।
रुवान्डाको छिमेकी मुलुक ‘डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो’ले अन्तर्राष्ट्रिय न्यायालयमा रुवान्डाविरुद्ध मुद्दा दायर गरेको छ । यसमा रुवान्डामाथि नरसंहारको रोकथाम, जातीय विभेद, महिला अधिकार र यातनासम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
‘फर्म्युला १’का एक प्रवक्ताले भने, “हामीसँग अफ्रिकाभरिका १० करोड मानिसहरूलाई प्रेरित गर्ने र उनीहरूमाझ ‘फर्म्युला १’को उत्साह पुर्याउने अवसर छ, खेलकुद सकारात्मक परिवर्तनको संवाहक बन्न सक्छ ।”
ट्र्याक निर्माण प्रक्रियाको निगरानी तीनवटा कम्पनीहरूले गर्नेछन् । यसमा लामो समयदेखि ‘फर्म्युला १’ ट्र्याकको डिजाइन गर्दै आएका ‘टिल्के’ र ‘डार’ कम्पनीले सर्किटको निर्माता ‘वुर्जडिजाइन’ सँग मिलेर काम गर्नेछन् ।
रुवान्डाको पहाडी भू–भागको प्राकृतिक बनावटलाई उपयोग गर्दै, उचाइमा हुने उल्लेखनीय परिवर्तनसहित यसलाई तीव्र गतिमा दौडन मिल्ने र सहज बहाव भएको ट्र्याकको रूपमा डिजाइन गरिएको छ । अफ्रिकामा आयोजना गरिएको पहिलो ‘ग्रान्ड प्रिक्स’ सन् १९५८ मा मोरक्कोमा भएको विश्व च्याम्पियनसिपको अन्तिम चरणको दौड थियो । दक्षिण अफ्रिकाले रंगभेदको युगमा दौड आयोजना गरेको थियो, सन् १९६० देखि १९६६ सम्म ‘इस्ट लन्डन’मा र त्यसपछि सन् १९७६ देखि १९८५ सम्म जोहानेसबर्ग नजिकैको ‘क्यालामी’मा ।
रंगभेदको अन्त्य हुँदै गर्दा सन् १९९२ र १९९३ मा ‘क्यालामी’ मा पुनः दुईवटा दौडहरू आयोजना गरिएका थिए । हालैका वर्षहरूमा रुवान्डाले ‘क्यालामी’ र ‘केप टाउन’ लगायतका विभिन्न स्थानहरूमा ‘फर्म्युला १’को पुनरागमनबारे छलफल गरेको भए पनि कुनै सम्झौता भने हुन सकेको थिएन ।











प्रतिक्रिया