काठमाडौं । बिहारको गंगा नदीमा डुङ्गा पल्टिँदा १३ जना बालबालिकाको मृत्यु भएको छ ।
वैशाली जिल्लाअन्तर्गत राघोपुर गाउँस्थित गंगा नदीमा मंगलबार साँझ दुर्घटना भएको हो ।
करिब ३० जना सवार निजी डुङ्गा अचानक अनियन्त्रित भई पल्टिँदा १३ जना बालबालिकाको डुबेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनाबारे जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रशासन उद्धार कार्यमा जुटेको थियो ।
मृत्यु हुनेहरूमध्ये अधिकांश बालबालिका र युवाहरू छन् । मृतकहरुमध्ये एकै परिवारका सात बालबालिका थिए ।
उनीहरु छिमेकी गाउँमा आयोजना गरिएको भोजमा सहभागी हुन जाँदै थिए ।
दुर्घटनापछि घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवार र घाइतेहरूका लागि आर्थिक सहयोगको घोषणा गरेका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार, दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ उपलब्ध गराइनेछ भने घाइतेहरूलाई जनही ५० हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ ।
यस्तै, बिहार सरकारले पनि प्रत्येक मृतकका परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहायता (क्षतिपूर्ति) उपलब्ध गराउने निर्णय गरेको छ ।











प्रतिक्रिया