मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच ऊर्जासम्बन्धी युद्धविराममा सहमति भएको घोषणा गरेको केही घण्टाभित्रै रुसले युक्रेनका ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।
आइतबार ट्रम्पले युद्धविराम तत्काल लागू हुने बताएका भए तापनि युक्रेनी राष्ट्रपतिले रुसले ग्यास स्टेसन, ऊर्जा पूर्वाधार र अन्य संरचनाहरूमा आक्रमण जारी राखेको जानकारी दिए ।
युक्रेनको सरकारी समाचार संस्था ‘उक्रिनफर्म’का अनुसार रुसी आक्रमणले विद्युत् ग्रिडहरू ध्वस्त पारेपछि इज्युमसहरमा विद्युत् आपूर्ति बन्द भएको थियो । साथै, रातको समयमा पश्चिमी युक्रेनका ऊर्जा तथा रेलमार्गसम्बन्धी पूर्वाधारहरूलाई पनि निशाना बनाइएको थियो । जेलेन्स्कीले देशभरका ऊर्जा संरचनाहरूमा भएका आक्रमणमा परी ३३ जना घाइते भएको बताए ।
उनले फक्स न्युजसँग भने, “हामीले आक्रमण गरेनौँ, जबकि रुसले हाम्रा ग्यास स्टेसन, ऊर्जा पूर्वाधार र अन्य संरचनाहरूमा आक्रमण गर्याे, “मलाई लाग्छ, यो राष्ट्रपति ट्रम्पप्रति पुटिनको जवाफ थियो,” उनले थपे ।
विश्वव्यापी द्वन्द्वका कारण अमेरिकी मध्यावधि निर्वाचनअघि नै इन्धनको मूल्य बढेको छ ।
यसैबीच, शुक्रबार ट्रम्पले रुसी डिजेल अमेरिका आयात गर्ने योजनाको घोषणा गरेका थिए ।
सोमबार, युक्रेनको सरकारी ग्रिड सञ्चालक ‘उक्रेनेर्गो’ले रुसी आक्रमणबाट ऊर्जासम्बन्धी उपकरणहरूमा पुगेको क्षतिको कारण खार्किभ, डोनेत्स्क र जापोरिजियामा नयाँ विद्युत् कटौती भएको जनाएको छ ।
क्षतिग्रस्त उपकरणहरूमा अत्यधिक भार (ओभरलोड) पर्न नदिन युक्रेनका केही भागमा विद्युत् कटौती (राशनिङ) लागू गरिएको उक्रेनेर्गोले बताएको छ । जेलेन्स्कीले ‘एक्स’ मा लेखे अनुसार यी आक्रमणहरू रुस ऊर्जासम्बन्धी युद्धविराम स्वीकार गर्न अनिच्छुक रहेको गतिलो प्रमाण हुन् ।
सोमबार साँझ, किभका मेयर भिताली क्लिट्स्कोले टेलिग्राममार्फत दिएको जानकारीअनुसार डार्नित्स्की जिल्लामा रहेको २५ तले आवासीय भवनमा एउटा ड्रोन प्रहार भएको छ । उनका अनुसार भवनको आँगनमा रहेका दर्जनौँ कारहरूमा पनि आगो लागेको थियो भने यस घटनामा एक जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।
सोमबार नै रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युद्धविरामबाट प्राप्त हुने ‘राहत’ वा ‘विश्राम’को हकदार युक्रेन नभएको बताएका छन् ।











प्रतिक्रिया