२८ आश्विन २०८३, बुधबार

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी (ओएनएफ)को दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९)गते काठमाडौंमा हुने भएको छ ।

आइतबार भर्चुअल पत्रकार सम्मेलन गर्दै मञ्चले दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनबारे जानकारी गराएको हो ।

‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता– समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’भन्ने नारासहित आयोजना हुने मञ्चको दोस्रो अन्तर्राष्ट्रिय  अधिवेशनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

अधिवेशनमा विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने मञ्चका अध्यक्ष रमेश पाण्डेले जानकारी दिए । उनका अनुसार मञ्चले विश्वभर छरिएर रहेका नेपालीलाई संगठित गर्दै उनीहरूको हकहित, अधिकार र पहिचान संरक्षणका साथै नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ । उनले प्रवासी नेपालीहरूको सीप, ज्ञान, पुँजी र अनुभवलाई नेपालको विकास तथा समृद्धिसँग जोड्नुपर्ने बताए ।

नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको ‘लोगो तथा नारा’ सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख निरज आचार्य, एमाले केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे, डा. सूर्य पाठक, सञ्जय थापा लगायतकाले अधिवेशनको सफलताको शुभकामनासहित मन्तव्य राखेका थिए ।

दोस्रो अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

मञ्चका अनुसार विश्वका ३९ देशमा राष्ट्रिय कमिटी, पाँचै महादेशमा महादेशीय कमिटी तथा ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको छ ।

मञ्चको दोस्रो अधिवेशनमा प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार र प्रवासी नेपालीका साझा समस्या समाधानका विषयमा महत्त्वपूर्ण छलफल हुनेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)लगायत प्रवासमा क्रियाशील विभिन्न संघसंस्थासँगको सम्बन्ध, सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकतामा राखिने मञ्चले जनाएको छ ।

भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता पनि गरिने

दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको अवसरमा मञ्चले विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता आयोजना गरेको छ ।

आयोजकका अनुसार प्रतियोगिता अक्टोबर ११ देखि नोभेम्बर ३, २०२६ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट हुने एक जना क्रिएटरलाई ७ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।

मञ्चले सूचना तथा प्रविधिको वर्तमान युगमा गुणात्मक र सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको जनाएको छ । मञ्चले विश्वभर रहेका नेपाली सिर्जनाकर्मी, भिडियो क्रिएटर तथा इच्छुक प्रतिभाहरूलाई प्रतियोगितामा सहभागी भई आफ्ना सिर्जनात्मक सामग्री प्रस्तुत गर्न आह्वान गरेको छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले अधिवेशनलाई ऐतिहासिक र सफल बनाउन विश्वभर क्रियाशील आफ्ना राष्ट्रिय कमिटी, नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक तयारी र सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।

दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनले प्रवासमा रहेका नेपालीहरूको हकहित संरक्षण, आपसी एकता र सद्भाव अभिवृद्धि तथा समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने अभियानलाई थप सशक्त बनाउने मञ्चको विश्वास छ ।