२८ आश्विन २०८३, बुधबार

बुढीगण्डकी भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बुढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुनसक्ने बताइएको छ ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताएका छन् ।

सापकोटाका अनुसार नदीमा पानीको बहाव पटकपटक थुनिने र खुल्ने भइरहेको छ । बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्र प्रभावित भएको उनले बताए ।

‘हामी यही तटीय क्षेत्रमा छौँ । गाउँपालिका आसपासमै छौँ । ठूलो बाढी आएको छ । माथि सुक्खा पहिरो गयो र नदी थुनिएर बाढीको रूप लिएको छ भन्ने भनिएको छ । हामीले त्यहाँ सम्म यही हेरिराख्या छौँ । त्यो थुनिँदै खोलिँदै, थुनिँदै खोलिँदै गरिराख्या छ । बाढीको ठूलो झड्का आएको छ । करिब १५०–२०० मिटर जति माथिको एरियासम्म त्यसले कभरेज गर्या छ’ उनले भने, ‘तल्लो तटीय क्षेत्रका बस्तीहरू बग्यो भन्ने खबर आएको छ । मानवीय क्षतिबारे अहिलेसम्म कुनै सूचना आएको छैन ।’

उनका अनुसार नदी किनारमा रहेका जगत, सल्लेरी लगायत तल्लो तटीय क्षेत्रका बस्ती तथा बजारमा क्षति पुगेको खबर प्राप्त भएको छ । ती क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा ट्रेकिङ एजेन्सीसम्बद्ध होटलहरू बगाएको र केही विद्यालय समेत बाढीले बगाएको सूचना आएको उनले जानकारी दिए ।

बाढीबाट मानवीय क्षति भए/नभएकोबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त नभएको सापकोटाले बताए ।

क्षतिको वास्तविक विवरण संकलन तथा अवस्था बुझ्ने काम भइरहेको र सम्बन्धित निकायबीच समन्वय भइरहेको उनले बताए ।

नदीमा पानीको बहाव निरन्तर परिवर्तन भइरहेकाले तत्काल क्षतिको यकिन विवरण सार्वजनिक गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

बाढीको जोखिम कायमै रहेकाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।