१२ मंसिर २०८३, शनिबार

राधिका आमाले सोधिन्– हामीले परिवर्तन खोज्दा मानवीयता त गुमाइरहेका छैनौँ ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–धर्मराज तिमिल्सीना

मानिसको जीवनमा केही दिन यस्ता हुन्छन्, जसलाई समयले धेरै टाढा पुर्‍याए पनि स्मृतिले कहिल्यै टाढा लैजान सक्दैन । केही घटना केवल घटना भएर सकिँदैनन्, ती मानिसको जीवनको स्थायी अध्याय बन्छन् ।

राधिका शाक्यका लागि वि.सं. २०८२ भदौ २४ त्यस्तै एउटा दिन बन्यो । बालकोटमा रहेको उनको घरमा आगो लगाएर जागिरे जीवनको उनको श्रम पसिना पनि जलाइदिए । तर बालकोटको त्यो घर राधिका आमाका लागि केवल इँटा, ढुङ्गा, सिमेन्ट र काठले बनेको संरचना थिएन । त्यो ३३ वर्षको जागिरे जीवनको कमाइ, पसिना, लगनशीलता र निरन्तरको परिश्रमबाट बिस्तारै ठडिएको संसार थियो । त्यो घरभित्र परिवारका स्मृतिहरू थिए, जीवनका सुखदुःखका कथा थिए, हजारौँ पुस्तक थिए, महत्वपूर्ण कागजात थिए, देश–विदेशबाट प्राप्त उपहार थिए, भेटघाटका तस्वीर थिए, राजनीतिक इतिहासका दृश्य थिए र सबैभन्दा ठूलो कुरा, वर्षौंको जीवन थियो । आगोले भवन जलायो, तर त्यससँगै एउटा परिवारले दशकौँ लगाएर जोगाएको स्मृति, श्रम र भावनाको ठूलो हिस्सा पनि खरानी बन्यो ।

राधिका आमासँग संवाद हुँदा कसैलाई दोषारोपण गर्न मात्र यो कुरा सुनाइरहेकी थिइनन् उनी आफ्नो मनभित्रको उकुसमुकुसलाई प्रश्नमा बदल्न चाहन्छिन् ।

 

राधिका आमासँग संवाद हुँदा कसैलाई दोषारोपण गर्न मात्र यो कुरा सुनाइरहेकी थिइनन् उनी आफ्नो मनभित्रको उकुसमुकुसलाई प्रश्नमा बदल्न चाहन्छिन् । उनको प्रश्न आन्दोलनविरुद्ध मात्र होइन, समाज र राज्यको विवेकतर्फ पनि छ । लोकतन्त्रमा असन्तुष्टि व्यक्त गर्ने अधिकार कहाँसम्म हुन्छ, आन्दोलन र हिंसाबीचको सीमारेखा कहाँ हुन्छ, परिवर्तनका नाममा उठेको आगोले कसको जीवन जलाउँछ र एउटा राजनीतिक आक्रोशले निर्दोष मानवीय स्मृतिमाथि आगो लगाउन पाउँछ कि पाउँदैन ? उनको आग्रह यही छ कि भदौ २४ जस्ता दिनहरू फेरि नदोहोरियोस्  ।

भदौ २४ को बिहान उनी प्रधानमन्त्री निवासमै थिइन् । अघिल्लो दिनको घटनापछि कर्फ्यु लागेको थियो । बाहिरको अवस्था क्रमशः जटिल बन्दै गएको भए पनि उनी आफ्नो नियमित काममा व्यस्त थिइन् । केही समयपछि सिंहदरबार जल्यो, सर्वोच्च अदालतमा आक्रमण भयो, नेताहरूका घरमा आक्रमण भयो भन्ने खबरहरू आउन थाले । त्यसपछि करिब १२ बजेतिर बालकोटको घरमा पनि आक्रमण भइरहेको खबर आयो । उनले घर सुरक्षामा रहेका सशस्त्र प्रहरीसँग फोनमा कुरा गरेर तोडफोड भए पनि आगो नलागोस् भनेर आग्रह गरिन् । तर केही समयमै त्यही सुरक्षाकर्मीको फोन आयो, घरमा आगो सल्किएको खबर लिएर । त्यो खबर सुनेपछि राधिका आमा प्रधानमन्त्री केपी शर्मासँग पुगिन् ।

“बालकोटको घरमा आगो लाग्दैछ, म बालकोट जान्छु” भन्ने उनको आग्रह थियो । तर बाहिर कर्फ्यु भएकाले जान सम्भव थिएन । उनको मनमा भने त्यो घर केवल एउटा घर थिएन, आफ्नै रगत र पसिनाले बनाएको जीवनको सम्पत्ति थियो । त्यसैबीच सुरक्षा अवस्थाका कारण प्रधानमन्त्री निवास छोड्नुपर्ने परिस्थिति आयो । केही मिनेटमै उनले दुईवटा सुटकेस तयार पारिन् । एउटामा औषधि र अत्यावश्यक सामग्री, अर्कोमा केही कपडा । घरबाट निस्कँदा उनी सामान्य घरायसी लुगामै थिइन्, एउटा बरक ओढेर चप्पल लगाएकी थिइन् । उनलाई आफू कहाँ जाँदैछु भन्ने पनि थाहा थिएन । हेलिकप्टरमा सेनाका अधिकारीहरूसहित उनीहरू मकवानपुरको चनमनस्थित सैनिक ब्यारेकतर्फ पुगे ।

सैनिक ब्यारेकमा नौ रात दश दिन बिताएपछि आश्विन २ गते उनीहरू भक्तपुरको गुन्डुस्थित एउटा घरमा पुगे । त्यही सैनिक ब्यारेकमा बसेर उनले सामाजिक सञ्जालका तस्वीर र भिडियोमार्फत आफ्नो बालकोटको घर ध्वस्त भएको दृश्य देखिरहेकी थिइन् ।

 

सैनिक ब्यारेकमा नौ रात दश दिन बिताएपछि आश्विन २ गते उनीहरू भक्तपुरको गुन्डुस्थित एउटा घरमा पुगे । त्यही सैनिक ब्यारेकमा बसेर उनले सामाजिक सञ्जालका तस्वीर र भिडियोमार्फत आफ्नो बालकोटको घर ध्वस्त भएको दृश्य देखिरहेकी थिइन् । आफ्नो ३३ वर्षको कमाइ, पसिना र निरन्तरको परिश्रमले बनाएको घर तीन दिनसम्म जलेर खरानी बनेको दृश्य टुलुटुलु हेर्नुबाहेक उनीसँग अरू विकल्प थिएन । राधिका आमा भन्छिन्– आस्थाको केन्द्र नै सखाप भएको थाहा पाएपछि दिनहुँ घर जलेका दृश्य हेरेर आफूलाई थप पीडा दिन चाहिनँ ।

आश्विन ४ गते उनी पहिलोपटक एक्लै बालकोट पुगिन् । केपी ओलीलाई त्यो विभत्स दृश्य देखाएर थप पीडा दिन नचाहेको बताउँछिन् । टाढैबाट भग्नावशेष देखिन्थ्यो । आँगनमा सिसाका टुक्रा थिए, जलेका सामग्री थिए, फुटेका वस्तु थिए । उनी आफ्नो मनलाई कठोर बनाएर उभिरहेकी थिइन् । तर आँगनमा आफ्ना स्वर्गीय ठूला बुबा आशाकाजी शाक्यले मायाको चिनोस्वरूप दिएको सुगन्धित फूलको बिजोग देख्दा उनी आफूलाई सम्हाल्न सकिनन् । गला अवरुद्ध भयो । आँखामा आँसु आयो । त्यो क्षणमा उनले केवल एउटा फूल जलेको देखिनन्, आफूले माया गरेर हुर्काएको संसारको एउटा टुक्रा जलेको देखिन् । बालकोट परिसरमा दुईवटा पक्की र दुईवटा प्रिफ्याब गरी चारवटा घर थिए । राधिका आमाले प्रत्येक घरका कोठा, भित्ता र कुनाकाप्चा नियालिन् । हरेक ठाउँमा वर्षौं लगाएर सजाइएका उपहार, तस्वीर, दस्तावेज र स्मृतिहरू थिए । त्यसैले भग्नावशेष हेर्दै गर्दा उनको मनमा सयौँ प्रश्न उठे– ती वस्तुहरू कसले नष्ट गर्‍यो ? आगो कसरी सल्कियो ? के सामान निकालेर खाली ठाउँमा आगो लगाइएको थियो ? उनका यी प्रश्नहरू संस्मरणमा प्रश्नकै रूपमा छन् । तर एउटा कुरा निर्विवाद रूपमा उनको मनमा गहिरो चोट बनेर बसेको थियो, त्यहाँ एउटा ठूलो पुस्तकालय थियो। दशौं हजार पुस्तकहरू मिलाएर राखिएको त्यो ज्ञानको संसार आगोमा जलेको थियो । राजनीतिक, सामाजिक, ऐतिहासिक र व्यक्तिगत जीवनसँग सम्बन्धित दस्तावेजहरू खरानी भएका थिए । देश–विदेशका विशिष्ट व्यक्तिहरूबाट प्राप्त उपहारहरू, हजारौँ भेटघाटका तस्वीरहरू र वर्षौंका सम्झनाहरू नष्ट भएका थिए । जहाँ म जनप्रशासन क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष हुँदा प्रकाशित गरेकको प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट विमोचन गरिएका दुई वटा संस्करण जनप्रशासन अखिल आवाज आईएसएसएन २८२२१८३४ जर्नल, एमपिए र विपिएको पुराना प्रश्नपत्रको संगालो, डायरी, क्यालेण्डर,  मैले क्याम्पसमा निर्माण गरेको सरस्वतीको मन्दिरको तस्वीर अनि बडिमालिका र बुढीनन्दालाई चिनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका तस्वीर उपहार पनि थिए यी पनि नष्ट भएका थिए ।

बाह्य मानवअधिकार रिपोर्ट तथा समकालीन समाचारले पनि त्यस समयका प्रदर्शनका क्रममा राजनीतिक नेताका घर तथा सार्वजनिक संरचनामा आगजनी र व्यापक क्षतिको दस्तावेजीकरण गरेका छन् ।

विवाहपछि १७ वर्षसम्म उनीहरू पाटनको पिलाछे, महापाल, पाटनढोका र काठमाडौंको बानेश्वरमा डेरामा बसे । त्यसैले घरविहीन डेरावालको पीडा राधिका आमाले टाढाबाट सुनेकी होइनन्, आफै भोगेकी हुन् ।

 

वि.सं. २०४४ सालमा राधिका शाक्य र केपी शर्मा ओलीको विवाह भयो । त्यसअघि केपी ओली १४ वर्षको जेल जीवनबाट भर्खरै बाहिर निस्किएका थिए । राधिका आमाको संस्मरणअनुसार त्यतिबेला उहाँको शारीरिक अवस्था अत्यन्त कमजोर थियो, कुनै स्थायी पेसा वा आर्थिक हैसियत थिएन, थियो त देशप्रतिको विश्वास, गरिब–निमुखाका लागि काम गर्ने इच्छा र राजनीतिक जीवनको सपना । राधिका आमाले पनि त्यही मानवीय भावनालाई आधार बनाएर जीवनका चुनौतीहरूसँगै सामना गर्ने निर्णय गरिन् । विवाहपछि १७ वर्षसम्म उनीहरू पाटनको पिलाछे, महापाल, पाटनढोका र काठमाडौंको बानेश्वरमा डेरामा बसे । त्यसैले घरविहीन डेरावालको पीडा राधिका आमाले टाढाबाट सुनेकी होइनन्, आफै भोगेकी हुन् । अन्ततः वि.सं. २०५८–५९ सालतिर बालकोटमा करिब एक रोपनी जग्गा १२ लाख रुपैयाँमा किनिन् । जीवनको एउटा मोडमा उनलाई यस्तो लाग्यो, यदि आफूलाई केही भयो भने किताब, दस्तावेज, कपडा र घरायसी सामानले भरिएको जीवन केपी सरले कसरी व्यवस्थापन गर्ने ? सन्तान नभएकाले भोलि सामान बोकेर कहाँ–कहाँ जाने ? यही चिन्ताले उनलाई आफ्नै घर बनाउने शक्ति त दिलायो तर घर बनाउने पैसा सहज थिएन । राष्ट्र बैंकमा काम गर्ने क्रममा एक दिन सुवर्ण देवानसँग उनले आफ्नो इच्छा सुनाइन् । “पैसा पुग्ला र घर बनाउँला भनेर पर्खिरहने हो भने त्यो दिन कहिल्यै आउँदैन, सुरु गर्नुपर्छ, पुग्दै जान्छ” भन्ने सुझावले उनलाई थप हौसला दियो । त्यसपछि उनले आफ्नो क्षमताले भ्याएसम्म घर बनाउने निर्णय गरिन् । नक्सापासदेखि निर्माणसम्मको जिम्मा भाइ ज्ञानेन्द्र शाक्यलाई दिइयो । उनी बिहानै पाटनबाट पुरानो मोटरसाइकल चढेर बालकोट पुग्थे, दिनभर निर्माणस्थलमा खटिन्थे र साँझ फर्किन्थे । राधिका आमा प्रायः शनिबार खाना लिएर पुग्थिन् । भाइको श्रम र निगरानीका कारण घर अपेक्षाकृत कम खर्चमा बनेको उनी बताउँछिन् ।

सुरुमा अढाइ तल्लाको नक्सा पास भए पनि एक तल्लामात्र बनाएर बस्ने योजना थियो । त्यसका लागि उनले एभरेस्ट बैंकबाट १५ वर्षको भाकामा १० लाख रुपैयाँ ऋण लिइन् । निर्माण अगाडि बढ्दै जाँदा साथीभाइ, ठेकेदार र कामदारहरूले पटकपटक निर्माण गर्दा झन् खर्चिलो हुने भएकाले अढाइ तल्ला नै बनाउन सुझाए । त्यसपछि झापा दमकमा रहेको अर्को घर बेच्ने निर्णय भयो । राष्ट्र बैंकको निर्व्याजी होम लोन लिएर करिब सात लाख रुपैयाँ लागतमा बनाइएको त्यो घर पछि करिब २० लाख रुपैयाँमा नामसारी गरिएको र बालकोटको पहिलो घर निर्माणमा करिब ४२ लाख रुपैयाँ खर्च भएको राधिका आमा सुनाउँछिन । त्यो पनि सबै राष्ट्रको नाममा सुम्पिसकेको छ, आफ्नो र केपी शर्मा ओलीको नाममा रहेको सबै सम्पति राज्यको नाममा हस्तान्तरण गरिसकेका छन् ।

वि.सं. २०६० मंसिरमा उनीहरू बालकोटको आफ्नै घरमा सरे । त्यतिबेला भुइँतल्लामात्र बस्नयोग्य थियो । माथिल्लो भागका कामहरू उनीहरू बसिसकेपछि सम्पन्न हुँदै गए । १७ वर्षसम्मको डेराको पीडा पार गरेर आफ्नै घरमा प्रवेश गर्दा त्यो खुसी शब्दमा व्यक्त गर्न नसकिने थियो । त्यो घर उनीहरूका लागि सुरक्षा, स्थायित्व र आफ्नै जीवनको एउटा नयाँ अध्याय थियो । तर समयले देखायो, कहिलेकाहीँ मानिसले सुरक्षित ठानेको घर पनि इतिहासको सबैभन्दा असुरक्षित क्षणको साक्षी बन्न सक्छ । त्यो घरमा सुरुमा दशवटा कोठा र दुईवटा भान्सा थिए । दुईवटा भान्सा हुनुको पछाडि पनि माया थियो । केपी ओलीको स्वास्थ्य कमजोर भएकाले आफ्नो शयनकक्ष र भान्सा आमनेसामने बनाइएको थियो, ताकि राधिका आमा भान्सामा काम गरिरहँदा पनि उहाँको अवस्था देख्न सकून् । घरको प्रत्येक कोठा कुनै न कुनै कथा बोकेर बसेको थियो । एउटा सानो गोलो सेतो मार्बलको डाइनिङ टेबल थियो, जसको कथा प्रधानमन्त्री निवासमा आएका विदेशी चिकित्सकहरूलाई खाना खुवाउन आवश्यक फर्निचर रातारात जुटाएको प्रसङ्गसँग जोडिएको थियो । राधिका आमाका लागि त्यो केवल टेबल थिएन, राष्ट्रको प्रतिनिधित्व गर्ने ठाउँमा पाहुनाको सम्मान गर्नुपर्छ भन्ने जिम्मेवारीको एउटा स्मृति पनि थियो । त्यही भान्सामा हजारौँ नेता, कार्यकर्ता, साथीभाइ र पाहुनाका लागि चिया, खाजा र खाना पाकेका थिए । राधिका आमा बाहिरबाट खाना ल्याएर पाहुना सत्कार गर्नेभन्दा घरमै पकाएर खुवाउनुलाई आफ्नो संस्कार र जिम्मेवारी ठान्थिन् । भित्तामा हिमशृङ्खलाका तस्बिर थिए, पुरानो काठमाडौंका तस्बिर थिए, नेपालका विभिन्न स्थानका स्मृति थिए । बैठकका दराजहरूमा उपहारहरू सजिएका थिए, तेह्रथुमको घरको प्रतिरूपदेखि बुद्धका मूर्ति, विभिन्न देशबाट प्राप्त सामग्री, राजनीतिक जीवनसँग सम्बन्धित दस्तावेज र सयौँ पुस्तकसम्म थिए ।

मैले देखेको घरको एउटा भित्तामा नेपालको चुच्चे नक्सासहितको ठूलो फ्रेम थियो । अर्को भागमा नेपाली कम्युनिस्ट आन्दोलनका अग्रजहरूका तस्वीर थिए । सहिद रामनाथ दाहाल, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी र जीवराज आश्रितका तस्वीरहरूले त्यो घरको एउटा भागलाई राजनीतिक इतिहासको स्मृतिस्थल बनाएका थिए । अर्को कोठामा नेपालका रैथाने कला, संस्कृति र विभिन्न कालखण्डका स्मृतिहरू थिए । राधिका आमाले आफ्नै जीवन, केपी ओलीको राजनीतिक जीवन र देश–विदेशका भेटघाटलाई तस्वीर, उपहार र दस्तावेजमार्फत घरभित्रै एउटा सानो संग्रहालयजस्तो बनाएकी थिइन् । पहिलो तल्लामा केपी ओलीको ठूलो तस्वीर थियो, जुन धेरै मानिसका लागि फोटो खिच्ने परिचित स्थान बनेको थियो । भित्तामा अमेरिका, भियतनाम, बर्मा, तेह्रथुम, सुन्दरीजल, टोखा र अन्य ठाउँसँग सम्बन्धित तस्वीरहरू थिए । विदेशी मित्रहरू, विभिन्न राजनीतिक नेताहरू, राष्ट्र बैंकमा लामो समय सेवा पूरा गर्दाको सम्मान, पारिवारिक भेटघाट र व्यक्तिगत जीवनका अनेकौँ स्मृतिहरू त्यहाँ सुरक्षित देखिन्थे । एउटा कोठामा चाँदीका सामान, पत्थरका उपहार, तिब्बतबाट प्राप्त सामग्री, मानसरोवरको पवित्र जल, विभिन्न समयका सिक्का, ब्याच र बुद्धका मूर्तिहरू थिए । त्यही घरको अर्को बैठकमा चीनका राष्ट्रपति सी चिनफिङ लगायत विभिन्न देशका विशिष्ट व्यक्तिहरूबाट प्राप्त उपहार, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र भारतका विशिष्ट व्यक्तिहरूका उपहार तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले केपी ओलीलाई प्रदान गरेका मानार्थ विद्यावारिधिका प्रमाणपत्र र सम्मानपत्रहरू राखिएका थिए । ती वस्तुहरूको आर्थिक मूल्यभन्दा पनि राधिका आमाका लागि तिनको अर्थ फरक थियो ।

त्यही कौसीमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र उनकी धर्मपत्नीलाई बिहानको खाना खुवाएको स्मृति राधिका आमाले विशेष रूपमा सम्झेकी थिइन्, आज त्यो ठाउँ नभए पनि त्यो बिहानको सम्झना भने उनको मनमा बाँकी भेटेँ ।

 

राधिका आमाले भनिन्– त्यो बैठक कोठा केवल सामान राख्ने ठाउँ थिएन । वि.सं. २०६० देखि २०८२ सम्म त्यहाँ सयौँ महत्वपूर्ण बैठक भए । देश–विदेशका मानिस आए । केपी ओलीको बिहानदेखि रातसम्मको काम त्यहीँ हुन्थ्यो । खाना पनि धेरैपटक त्यहीँ खानुहुन्थ्यो । जाडोमा कौसीमा बसेर भेटघाट गर्ने चलन थियो । त्यही कौसीमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र उनकी धर्मपत्नीलाई बिहानको खाना खुवाएको स्मृति राधिका आमाले विशेष रूपमा सम्झेकी थिइन्, आज त्यो ठाउँ नभए पनि त्यो बिहानको सम्झना भने उनको मनमा बाँकी भेटेँ । तेस्रो तल्लाको लामो कोठा पनि आफ्नै कथासहित बनेको थियो । नेवारी संस्कृतिमा म्ह पूजा र किजा पूजाका लागि परिवारका सदस्यहरू लाइनमा बसेर पूजा गर्ने परम्परा भएकाले राधिका आमाले त्यसलाई ध्यानमा राखेर ठूलो कोठा बनाएकी थिइन् । पछि त्यही कोठा बैठक र डाइनिङका रूपमा प्रयोग हुन थाल्यो । चीनबाट आएको ठूलो प्रतिनिधिमण्डलका लागि खाना खुवाउने प्रसङ्गमा उनले घरभित्रै ठूलो डाइनिङ व्यवस्था मिलाइन् । त्यसपछि मानव सेवा आश्रमका बाबुनानीदेखि कलाकार, पार्टीका साथीभाइ र विभिन्न समूहका मानिसहरूले त्यो ठाउँ प्रयोग गरेको सम्झिन्छिन । २०७२ सालको भूकम्पपछि पनि घरले अर्को भूमिका खेल्यो । पाटनको साँघुरो र अग्लो घरमा बस्ने आफ्नी वृद्ध आमालाई सुरक्षित राख्न राधिका आमाले कौसीलाई प्रिफ्याबले घेरेर कोठा बनाइन् । अर्को कौसी पनि कोठामा परिणत भयो । घरभित्र अजरबैजान, तुर्कमेनिस्तान, पाकिस्तान र बंगलादेशबाट प्राप्त गलैँचा, उपहार र सांस्कृतिक सामग्री थिए । छतमा लुगा धुने मेसिनसँगै कौसी खेती थियो, कागती, सुन्तला, अम्बा, स्याउ, ड्रागन फ्रुट र मौसमअनुसारका तरकारीहरू । एउटा घरभित्र जीवनका ठूला राजनीतिक भेटघाटदेखि सामान्य घरेलु तरकारीसम्म सबै अटाएको सम्झिन्छिन् । त्यस घरको इतिहास देशको राजनीतिक इतिहाससँग पनि जोडिँदै गयो । दोस्रो जनआन्दोलनपछि केपी शर्मा ओली उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका बेला मन्त्री क्वार्टरमा नबसी आफ्नै घरमा बस्ने निर्णय गरियो । त्यसबेला स्वास्थ्य कमजोर हुँदाहुँदै पनि उहाँले जिम्मेवारी सम्हाल्नुपरेको र घरमा पार्टी कार्यकर्ता, सरकारी कर्मचारी तथा विदेशी पाहुनाको निरन्तर आवतजावत हुने गरेको राधिका आमाले सम्झेकी छन् । एउटा घर विस्तारै घरभन्दा ठूलो जिम्मेवारीको ठाउँ बन्दै गयो ।

वि.सं. २०६४ मा केपी ओलीको मिर्गौला प्रत्यारोपण भयो । त्यसपछि संविधानसभाको पहिलो निर्वाचनमा उहाँ पराजित हुनुभयो । राधिका आमाले अब उहाँले पहिलेको जस्तो सक्रिय जीवन बिताउन नसक्नुहोला भन्ने सोचेकी थिइन् । तर त्यो अनुमान गलत सावित भयो । उहाँ फेरि सक्रिय राजनीतिमा फर्किनुभयो । यही क्रममा एउटा घर परिवारको घरमात्र नभएर पार्टीका भेटघाट, बैठक, कार्यकर्ता र विभिन्न गतिविधिको केन्द्रजस्तो बन्न थाल्यो । वि.सं. २०६८ चैत २७ गते राधिका आमाले ३३ वर्षको जागिरे जीवनबाट अवकाश लिइन् ।

अवकाशपछि हातमा आएको केही रकम के गर्ने भन्ने छलफल भयो । उनलाई भने अर्को घर बनाउने इच्छा थियो । अग्लो घर बनाउन मन थिएन, बुढेसकालमा तलामाथि गर्दा हुने शारीरिक कठिनाइको आफ्नै अनुभव थियो । त्यसैबीच २०७० सालको दोस्रो संविधानसभा निर्वाचन आयो । उनले मनमनै एउटा निर्णय गरिन्, केपी ओली निर्वाचित हुनुभयो भने दोस्रो घर बनाउने, पराजित हुनुभयो भने नबनाउने । २०७० को निर्वाचनमा एमाले दोस्रो दल बन्यो र केपी ओली संविधानसभा सदस्य निर्वाचित हुनुभयो । त्यसपछि उहाँ एमाले संसदीय दलको नेतामा निर्वाचित भएको दिन नै राधिका आमाले दोस्रो घरको शिलान्यास गरिन् । त्यस घरको जग्गा आठ आना थियो र चारवटा साना कित्ता जोडेर घर बनाइएको थियो । केपी ओलीको स्वास्थ्य कमजोर रहेकाले निर्माणमा राधिका आमाले प्रत्यक्ष रूपमा धेरै समय दिन सकिनन्; परिवार र सहयोगीहरूको सहायतामा घर बन्यो। दोस्रो घर पनि समयसँगै अनेक रूप फेरिँदै गयो। सुरुमा त्यहाँ सुरक्षा टोली बस्यो । केही वर्षपछि किताबको स्टोर बन्यो । पछि बैठक कोठामा परिवर्तन भयो । भित्ताभरि सयौँ तस्बिर टाँगिए । हार्मोनियम, तबला, गितार, मादल, सारङ्गी, झ्यालीजस्ता संगीत सामग्रीदेखि पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक तस्बिरसम्म त्यहाँ थिए ।

२०७८ सालमा केपी ओली नेतृत्वको सरकार परमादेशमार्फत हटेपछि बालकोट फर्किएको समयमा यो बैठक अझ बढी राजनीतिक भेटघाटको केन्द्र बन्यो । देशका ७७ वटै जिल्लाबाट आएका मानिसहरूले त्यो कोठा देखेँ ।

 

२०७८ सालमा केपी ओली नेतृत्वको सरकार परमादेशमार्फत हटेपछि बालकोट फर्किएको समयमा यो बैठक अझ बढी राजनीतिक भेटघाटको केन्द्र बन्यो । देशका ७७ वटै जिल्लाबाट आएका मानिसहरूले त्यो कोठा देखेँ । कहिलेकाहीँ ६०–७० जनासम्मका बैठक भए । पार्टीका बैठक, सर्वसाधारणसँग भेटघाट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगका संवाद, महिला दिदीबहिनीहरूसँगका छलफल र सांगीतिक कार्यक्रमसमेत त्यहाँ भए । भित्तामा दोस्रो जनआन्दोलनका सहिदहरूको ठूलो फ्रेम थियो । अर्को भागमा भारतका प्रधानमन्त्री, राष्ट्रपति र अन्य विशिष्ट व्यक्तिहरूसँगका तस्वीर थिए । बाहिर भोजपुरे करूवा, ढलोटको ठूलो गणेश, धरहराको प्रतिरूप, काठका हात्ती र विभिन्न कलात्मक उपहारहरू थिए । त्यही बैठक कोठाले नेपालको संविधान निर्माणको एउटा महत्वपूर्ण राजनीतिक प्रसङ्ग पनि देखेको राधिका आमाको संस्मरणमा छ ।

वि.सं. २०७२ असोज ३ गते संविधान घोषणा हुनुअघि भारतका तत्कालीन विदेश सचिव एस. जयशंकर नेपाल आएका थिए र केपी ओलीसँग त्यही बैठकमा भेट भएको थियो । राधिका आमाले त्यो भेटलाई नेपालको राष्ट्रिय स्वाभिमानसँग जोडिएको एउटा ऐतिहासिक क्षणका रूपमा सम्झेकी छन् । यहाँ फेरि पनि एउटा कुरा स्पष्ट हुन्छ, बालकोटको घर उनको लागि केवल निजी आवास थिएन, उनको आँखामा त्यो धेरै राजनीतिक र सामाजिक घटनाको साक्षी बनेको ठाउँ थियो । २०७८ असारमा बालुवाटारबाट बालकोट फर्किँदा हजारौँ शुभेच्छुक मुसलधारे पानीको समेत पर्वाह नगरी बालकोट पुगेका थिए । त्यसबेला केपी ओलीले घरको बार्दलीमा उभिएर उनीहरूलाई धन्यवाद दिएका थिए । त्यही घटनापछि “बालकोटको बार्दली” भन्ने सार्वजनिक भाष्य लोकप्रिय भएको राधिका आमाले सम्झेकी थिइन् । उनको दृष्टिमा भने बालुवाटारजस्ता सरकारी निवास अस्थायी हुन्छन्, आफ्नै श्रमले बनाएको घर स्थायी हुन्छ । त्यसैले सार्वजनिक पदबाट हटेर आफ्नै घर फर्किनु उनका लागि अपमान होइन, बरु आफ्नै रगत, पसिना र परिश्रमले बनाएको घरमा फर्किन पाउनु थियो । तर जुन बार्दलीलाई उनले फूलका गमलाले सजाइन्, जुन बार्दलीले हजारौँ मानिसलाई स्वागत गरेको थियो, त्यही घर अन्ततः आगोको निशानामा पर्‍यो । संस्मरणमा उनले आफ्नो मनमा उठेको प्रश्न राखेकी छन्, परिवर्तनको नाममा उठेको आगोले आखिर के परिवर्तन गर्‍यो ?

घरको एउटा बाथरुमसहितको कोठा सुरुमा केपी ओलीलाई आराम गर्न बनाइएको थियो । पछि त्यसका सबै भित्तामा काठका दराज बनाएर देश–विदेशका सरकार प्रमुख र मित्रहरूबाट प्राप्त उपहारहरू सजाइए । बाहिरको खुला ठाउँमा पनि ऐतिहासिक दस्तावेज र उपहार राखिएका दराज थिए । त्यहाँका सामग्रीमध्ये कतिपयको भौतिक मूल्य ठूलो हुन सक्थ्यो, तर राधिका आमाका लागि तिनको अर्थ आर्थिक मूल्यभन्दा पर थियो । उनीहरू कसैले दिएको सम्मान, सम्बन्ध र इतिहासको स्मृति थिए । अनि सुनाउँछिन त्यो सबैभन्दा पीडादायी दश हजार पुस्तकको कुरा । एउटा व्यक्तिको घरमा दश हजार पुस्तक हुनु आफैमा ठूलो कुरा हो । तर राधिका आमाका लागि त्यो केवल निजी पुस्तक संग्रह थिएन । धर्म र दर्शनदेखि राजनीति, अर्थशास्त्र, समाज, महिला, नेपालका विभिन्न जातजाति, स्थानीय सरकार, संसद्, कृषि, उद्योग, संस्कृति, इतिहास, साप्ताहिक–मासिक पत्रिका, दैनिक अखबार र विभिन्न संस्थाका प्रतिवेदनसम्मका सामग्री त्यहाँ थिए ।

पार्टीका दस्तावेज, ऐतिहासिक रिपोर्ट, अनुसन्धान सामग्री र विभिन्न समयका महत्वपूर्ण कागजात पनि पुस्तकालयमा थिए । उनी त्यो संग्रहलाई व्यवस्थित र आधुनिक पुस्तकालय बनाएर नयाँ पुस्तालाई इतिहास पढाउने सपना देख्थिन् । त्यो पुस्तकालयको अर्को विशेषता उपहारहरूको संग्रह थियो । देशका विभिन्न भूभागबाट आएका मौलिक वस्तु थिए । सगरमाथादेखि हिमाली क्षेत्रमा पाइने ढुङ्गा, राडी–पाखी, विभिन्न जातजातिका पोसाक र गहना, स्थानीय कलाकृति, बुद्धका मूर्ति, धार्मिक सामग्री र सांस्कृतिक सम्पदाका वस्तु थिए । विभिन्न देशबाट प्राप्त उपहारहरू पनि थिए त्यहाँ बाजुरा पनि थियो । एउटा दराजमा विदेशी तथा नेपाली मित्रहरूसँगका स्मृति थिए, अर्कोमा राजनीतिक दस्तावेज । एउटा कोठामा केपी ओली बिरामी हुँदा प्रयोग भएका केही कपडा र औषधिसँग सम्बन्धित सामग्रीसम्म सुरक्षित राखिएको थियो । राधिका आमाको सपना थियो, यी सबैलाई व्यवस्थित गरेर एउटा आधुनिक निजी पुस्तकालय र स्मृति केन्द्रको रूप दिनु । हजारौँ पुस्तक र सयौँ दस्तावेजलाई नयाँ पुस्ताले पढ्न, बुझ्न र इतिहासका रूपमा अध्ययन गर्न सक्ने बनाउने उनको चाहना थियो । उनले आफ्नो जीवनको हजारौँ दिन लगाएर पुस्तकहरू मिलाएकी थिइन् । तर ज्ञानको त्यो संसार आगोमा पर्‍यो । पुस्तकको मूल्य खरानीले नाप्न पनि सकिँदैन । एउटा पुस्तकको मूल्य कति भनेर बजारले भन्न सक्छ, तर दश हजार पुस्तकभित्र कैद दशौँ हजार विचार, स्मृति र इतिहासको मूल्य बजारले कहिल्यै तोक्न सक्दैन ।

त्यस्तै, नष्ट भएका वस्तुहरूको सूची पनि पीडादायी छ । आफ्नै परिश्रमले कमाएर प्राप्त गरेका शैक्षिक प्रमाणपत्रहरू, केपी ओलीका विभिन्न शैक्षिक सम्मान र मानार्थ उपाधिका प्रमाणपत्रहरू, जेल जीवनका क्रममा लेखिएका पत्रहरू, मूलघर निर्माण गर्दाका बिलहरू, मन्त्री, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्री हुँदा संकलित ऐतिहासिक चिठीपत्र तथा दस्तावेजहरू, नेपाली जनताले दिएका स्वदेशी उपहार, विश्वका विभिन्न हिमशिखर र खोला–नालाबाट संकलित ढुङ्गा, हजारौँ फोटो, सयौँ एल्बम यी सबै राधिका आमाका स्मृतिमा थिए ।  उनले आफ्नो संस्मरणमा भौतिक सम्पत्तिको क्षतिभन्दा ठूलो क्षति स्मृतिको क्षति भएको अनुभूति सुनाएकी छन् । प्रारम्भिक विद्यालयदेखि विश्वविद्यालयसम्मका प्रमाणपत्रहरू, केपी ओलीलाई विभिन्न विश्वविद्यालय र संस्थाहरूले प्रदान गरेका सम्मानपत्र, विदेशी विश्वविद्यालयका निमन्त्रणापत्र, जेल बसाइँका क्रममा लेखिएका पत्र, घर निर्माणका कागजात, देश–विदेशबाट प्राप्त उपहार र हजारौँ तस्बिरहरू नष्ट भएको उल्लेख छ। यी वस्तुहरू पुनः किनेर ल्याउन सकिँदैन ।

राधिका आमाको पीडालाई बुझ्न एउटा कुरा सम्झिनुपर्छ, यो घर एकैपटक बनेको थिएन । यो १७ वर्षको डेराको दुःखबाट जन्मिएको थियो ।

 

घरको आँगनमा फूलहरू थिए । कौसीमा खेती थियो । गमलामा ऋतुअनुसारका फूलहरू फुल्थे । तरकारी बारीमा कागती, सुन्तला, मेवा, एभोकाडो, ड्रागन फ्रुट, लसुन, प्याज, धनियाँ, खुर्सानी, भिन्डी, तिते करेला, गोलभेँडा र अन्य तरकारी हुन्थे । परिवार र पाहुनाका लागि घरमै उत्पादन भएको तरकारी प्रयोग हुन्थ्यो । घरको सौन्दर्यमा प्रकृतिको त्यो सानो संसार पनि जोडिएको थियो । आगोले घरका भित्तामात्र होइन, त्यो हरियाली पनि नष्ट गरिदियो । राधिका आमाको पीडालाई बुझ्न एउटा कुरा सम्झिनुपर्छ, यो घर एकैपटक बनेको थिएन । यो १७ वर्षको डेराको दुःखबाट जन्मिएको थियो । यो जागिरे जीवनका वर्षौंको बचतबाट बनेको थियो । ऋण लिएर, अर्को घर बेचेर, भाइको श्रम लिएर, आफै बजार धाएर, सामानको मूल्य तुलना गरेर, प्रत्येक सामग्रीको हिसाब गर्दै बनाइएको थियो । यो कुनै एक दिनको निर्णयको परिणाम थिएन । त्यसैले त्यो घर भत्किएको दिन एउटा भवन ढलेको मात्र होइन, ३३ वर्षको परिश्रमको एउटा प्रत्यक्ष प्रतीक ढलेको दिन थियो । त्यसैले “राधिका आमाको घर जल्यो” भन्नु पर्याप्त हुँदैन ।

वास्तवमा एउटा आमाले जीवनभर सँगालेका हजारौँ साना–ठूला सम्झनाहरू जले। एउटा पुस्तकालय जल्यो । एउटा निजी अभिलेखालय जल्यो । देश–विदेशका सम्बन्धका स्मृति जले । पारिवारिक तस्वीर जले । राजनीतिक इतिहासका तस्वीर जले । सम्मानका प्रमाणपत्र जले । नेपाली जनताले दिएका मायाका चिनो जले । घरको भित्तामा टाँसिएको एउटा तस्वीरसँग जोडिएको कथा जले । अनि एउटा आमाले भविष्यका लागि बनाएको पुस्तकालयको सपना पनि जलेर भग्नावशेषमा पुग्यो ।

आज त्यो घर छैन । कोठाहरू छैनन् । दराज छैनन् । पुस्तक छैनन् । तस्वीर छैनन् । उपहार छैनन् । बार्दली छैन । फूलका गमला छैनन् । तर राधिका आमाको स्मृतिमा ती सबै अझै जीवित छन् ।

 

आज त्यो घर छैन । कोठाहरू छैनन् । दराज छैनन् । पुस्तक छैनन् । तस्वीर छैनन् । उपहार छैनन् । बार्दली छैन । फूलका गमला छैनन् । तर राधिका आमाको स्मृतिमा ती सबै अझै जीवित छन् । एउटा सेतो मार्बलको टेबलमा विदेशी पाहुनालाई खाना खुवाएको रात जीवित छ । एउटा बिरामी मानिसको अवस्था भान्साबाट हेर्न मिलोस् भनेर बनाइएको शयनकक्ष जीवित छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई खाना खुवाएको बिहान जीवित छ । नेवारी संस्कृतिअनुसार परिवारसँग म्ह पूजा गरेको क्षण जीवित छ । हजारौँ मानिसले बैठकमा बसेर गरेको छलफल जीवित छ । बार्दलीबाट शुभेच्छुकलाई धन्यवाद दिएको क्षण जीवित छ । त्यसैले यो कथा एउटा घरको मात्र कथा होइन । यो घरभित्र इतिहास कसरी बस्छ भन्ने कथा हो ।

हामीले प्रायः इतिहास ठूला भवन, सरकारी अभिलेख, संग्रहालय र पुस्तकमा खोज्छौँ । तर एउटा परिवारको घरभित्र पनि देशको एउटा सानो इतिहास सुरक्षित हुन सक्छ । एउटा फोटोले एउटा समय बोल्न सक्छ । एउटा उपहारले एउटा अन्तर्राष्ट्रिय सम्बन्धको स्मरण गराउन सक्छ । एउटा पत्रले एउटा राजनीतिक संघर्ष सम्झाउन सक्छ । एउटा पुस्तकले एउटा पुस्ताको ज्ञान जोगाउन सक्छ । एउटा घरले हजारौँ मानिसका पाइला र संवादको इतिहास बोकेको हुन सक्छ । त्यसैले राधिका आमाको पीडा केवल व्यक्तिगत पीडा भनेर टार्न मिल्दैन । उनले स्वयं पनि यसलाई व्यक्तिगत आरोपको दस्तावेजभन्दा बढी एउटा समयको अभिलेखका रूपमा प्रस्तुत गर्न खोजेकी छन् । उनको संस्मरणको मूल प्रश्न पनि यही हो आन्दोलन परिवर्तनको माध्यम हुन सक्छ, असन्तुष्टि लोकतन्त्रको स्वाभाविक आवाज हुन सक्छ, तर परिवर्तनको बाटो हिंसामा परिणत हुँदा त्यसको आगोले अन्ततः कसलाई पोल्छ ?

राधिका आमाको कथा सुन्दा सबैभन्दा धेरै मन छुने कुरा सायद यही हो, मानिसले घर बनाउँछ, तर वास्तवमा घरले मानिसको जीवन बनाइरहेको हुन्छ ।

 

इतिहासमा शासनहरू बदलिन्छन् । सरकारहरू आउँछन् र जान्छन् । राजनीतिक पदहरू स्थायी हुँदैनन् । प्रधानमन्त्री निवास बदलिन्छ । मन्त्री क्वार्टर बदलिन्छ । पार्टीका कार्यालय बदलिन्छन् । तर एउटा परिवारले आफ्नै श्रम र पसिनाले बनाएको घर उसको जीवनको निजी इतिहास हुन्छ । राधिका आमाको कथा सुन्दा सबैभन्दा धेरै मन छुने कुरा सायद यही हो, मानिसले घर बनाउँछ, तर वास्तवमा घरले मानिसको जीवन बनाइरहेको हुन्छ । घरका भित्ताहरूले मानिसका हाँसो सुन्छन् । भान्साले परिवारको गन्ध बोक्छ । दराजले पुराना कागज जोगाउँछ । पुस्तकालयले विचार जोगाउँछ । बार्दलीले मानिसका अनुहार सम्झिन्छ । आँगनले फूलको सुगन्ध सम्झन्छ । एउटा कोठाले कुनै प्रिय व्यक्तिको अन्तिम भेट सम्झन्छ । त्यसैले घर भत्किँदा भौतिक संरचना मात्र भत्किँदैन मानिसको आफ्नै अतीतको एउटा भाग पनि भत्किन्छ ।

आज राधिका आमा त्यो घरको भग्नावशेषमा उभिँदा उनीसँग आफ्नो विगत फिर्ता ल्याउने कुनै उपाय छैन । दश हजार पुस्तक फेरि एउटै जीवनमा जम्मा गर्न सकिँदैन । दशकौँका फोटो फेरि उही क्षणमा खिच्न सकिँदैन । विदेशी पाहुनाले दिएको त्यही उपहार फेरि उही हातबाट प्राप्त गर्न सकिँदैन । बाल्यकाल, वैवाहिक जीवन, जागिरे जीवन, राजनीतिक भेटघाट र परिवारका असंख्य स्मृतिलाई नयाँ भवनले हुबहु पुनः निर्माण गर्न सक्दैन । तर एउटा कुरा गर्न सकिन्छ त्यो स्मृतिलाई बचाउन सकिन्छ । त्यसैले मैले पनि यो लेख लेख्ने प्रयास गरे । ताकि भोलिका पुस्ताले बुझून्, एउटा घरभित्र कति ठूलो जीवन बस्न सक्छ । एउटा पुस्तकालयमा कति पुस्ताको ज्ञान अट्न सक्छ । एउटा फोटोमा कति वर्षको इतिहास अडिन सक्छ । एउटा उपहारमा कति ठूलो माया लुकेको हुन सक्छ । र एउटा आगोले मानिसको मनमा कति गहिरो घाउ बनाउन सक्छ । र अन्त्यतिर आइपुग्दा राधिका आमाको स्वर केवल आफ्नै घरको दुःखमा सीमित रहँदैन । उनी देशको अवस्था सम्झिन्छिन् । उनले एक वर्षका घटनाहरू नियाल्दै देश जलाएर खरानी बनाउने नाराहरू, शासनको अस्थिरता र जनताको भविष्यप्रतिको चिन्तालाई जोड्छिन् । आफ्नो व्यक्तिगत पीडाबीच पनि उनले देशका दुःखी मानिसहरूलाई सम्झेकी छन् । वि.सं. २०८३ भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट परिवार, आफन्त र घरबार गुमाएका हजारौँ मानिसको पीडामा र मलाई देखाउदै तिमीहरुको भविष्य यो देशमा के हुन्छ आफूहरु त अब बुढो भइसकेको भन्दै गम्भीर बन्छिन् ।

आज बालकोटको त्यो घर छैन । तर त्यस घरका सम्झनाहरू छन् । भित्ताहरू छैनन्, तर भित्तामा टाँसिएका तस्वीरका कथा छन् । दराज छैनन्, तर दराजमा राखिएका उपहारका अर्थ छन् । पुस्तकालय छैन, तर हजारौँ पुस्तकप्रतिको माया छ । बार्दली छैन, तर बार्दलीसँग जोडिएको इतिहास छ ।

“राधिका आमा” केवल आफ्नो घर गुमाएकी एउटी महिला भएर रहँदिनन् । उनी अर्कोको दुःखमा पनि आफ्नो दुःख देख्ने आमाको स्वर बन्न पुग्छिन् । आफ्नो घर खरानी भएको पीडा बोकेर पनि बाढीमा परिवार गुमाएका मानिसलाई सम्झनु, अरूको आँसुमा आफ्नो आँसु मिसाउनु र मानवीय करुणालाई राजनीतिक सीमाभन्दा माथि राख्नु नै यस कथाको सबैभन्दा गहिरो मानवीय पक्ष हो । आज बालकोटको त्यो घर छैन । तर त्यस घरका सम्झनाहरू छन् । भित्ताहरू छैनन्, तर भित्तामा टाँसिएका तस्वीरका कथा छन् । दराज छैनन्, तर दराजमा राखिएका उपहारका अर्थ छन् । पुस्तकालय छैन, तर हजारौँ पुस्तकप्रतिको माया छ । बार्दली छैन, तर बार्दलीसँग जोडिएको इतिहास छ । फूलका गमला छैनन्, तर फूलको सुगन्ध अझै स्मृतिमा छ । जहाँ एउटा आमाले भग्नावशेषमा उभिएर आफ्ना बितेका ३३ वर्ष खोज्छिन् । एउटा फोटोको टुक्रामा परिवार खोज्छिन् । जलेको कागजमा इतिहास खोज्छिन् । खरानीमा पुस्तकालय खोज्छिन् । उजाड आँगनमा फूल खोज्छिन् । अनि आफ्नै आँसु पुछेर एउटा प्रश्न सोधछिन्– हामीले परिवर्तन खोज्दा मानवीयता त गुमाइरहेका छैनौँ ? घर फेरि बनाउन सकिएला । भित्ताहरू फेरि उठाउन सकिएला । पुस्तकहरू फेरि किन्न सकिएला । तर जलेका तस्वीरमा कैद भएका क्षणहरू, बितेका मानिसहरू, पाएको माया, वर्षौंको श्रम र जीवनका ती विशेष दिनहरू फेरि कहिल्यै फर्केर आउँदैनन् । आगोले घर जलायो, पुस्तक जलायो, तस्वीर जलायो, उपहार जलायो तर एउटा आमाको स्मृति जलाउन सकेन । किनकि घर खरानी हुन सक्छ, तर घरभित्र बाँचेको माया कहिल्यै खरानी हुँदैन ।