१२ मंसिर २०८३, शनिबार

दिल्ली प्रदर्शन : अभिजीत दीपके विमानबाटै पक्राउ, अहिलेसम्म ६०० समर्थक प्रहरी नियन्त्रणमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपके विमानबाटै पक्राउ परेका छन् ।

शनिबार बिहान मुम्बईबाट फ्लाइटमार्फत दिल्ली पुगेका दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलबाट पक्राउ गरेको हो ।

उनीसँगै आशुतोष रान्का र सौरभ दास पनि पक्राउ परेका छन् ।

विमानभित्रै नियन्त्रणमा लिने क्रममा दीपके र दिल्ली प्रहरीका अधिकारीहरूबीच भनाभन भएको थियो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएरातिदेखि अहिलेसम्म ६०० सीजेपी समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि आज बिहानै दिल्ली प्रहरीले चर्चित युट्युबर ध्रुव राठीलाई उनको गुरुग्रामस्थित निवासबाट पक्राउ गरेको थियो । सीजेपीले गरेको प्रदर्शनमा सहभागी हुन दिल्ली आएका उनलाई बिहानै प्रहरीले पक्राउ गरेको हो ।

सीजेपीका अनुसार यो पार्टीका नेताहरूलाई विरोध प्रदर्शनस्थलसम्म पुग्न र शान्तिपूर्ण विरोध प्रदर्शनको नेतृत्व गर्नबाट रोक्ने उद्देश्यले केन्द्र सरकारले चालेको अधिनायकवादी कदम हो ।

दिल्ली उड्नुअघि दीपकेले सामाजिक सञ्जालमा लेखेका थिए–

जीवन जिउने दुईवटा मात्र तरिका छन् । एउटा– जे भइरहेको छ त्यसै हुन दिने र सहँदै जाने । अर्को– तिनलाई परिवर्तन गर्ने जिम्मेवारी लिने ।

सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) स्थगित गर्न माग गर्दै आज जन्तर–मन्तरमा विरोध प्रदर्शन गर्दैछ ।

राजधानी दिल्लीमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक बलका जवानहरू परिचालन गरिएको छ ।

दिल्ली मेट्रोका ४५ वटा स्टेसनमा आवतजावतमा रोक लगाइएको छ । साथै, राजधानीका सीमानाका, रेलवे स्टेसन, बस टर्मिनल र अन्य संवेदनशील स्थानहरूमा निगरानी बढाइएको छ ।