काठमाडौं । महिला उद्यमीहरूको पूँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ औपचारिक रूपमा सुरु गरेको छ । परम्परागत बैंकिङ प्रणालीमा घरजग्गा धितो राख्न नसकेकै कारण लगानीबाट वञ्चित भइरहेका सम्भावनायुक्त महिला उद्यमलाई प्राथमिकता दिने लक्ष्यसहित यो पहल अघि बढाइएको हो ।
ललितपुरस्थित द प्लाजामा शुक्रबार आयोजित कार्यक्रममा संयुक्त दिगो विकास लक्ष्य कोष, खाद्य तथा कृषि सङ्गठन र ह्यान्ड-इन-ह्यान्ड इनिसिएटिभसँगको सहकार्यमा सिम्रिक इनिसिएटिभको शुभारम्भ गरिएको हो ।
‘महिलाका लागि, महिलाद्वारा’ भन्ने मूल अवधारणामा आधारित यस पहलले महिला नेतृत्वका उद्यमलाई वित्तीय स्रोत, व्यावसायिक सहजीकरण र बजार विस्तारका अवसरसँग जोड्नेछ । यसअन्तर्गत नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृत निजी इक्विटी फन्ड ‘सिम्रिक फन्ड’मार्फत सम्भावनायुक्त महिला उद्यममा लगानी गरिनेछ । फन्डमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुख्य लगानीकर्ताका रूपमा आबद्ध छ ।
नेपालमा महिला उद्यमशीलताको सम्भावना ठूलो भए पनि पूँजीमा पहुँच अझै प्रमुख चुनौतीका रूपमा रहेको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन घरजग्गा धितो आवश्यक पर्ने परम्परागत अभ्यासले आफ्नै नाममा अचल सम्पत्ति नभएका महिला उद्यमीलाई व्यवसाय विस्तार गर्न कठिन बनाउँदै आएको छ । सिम्रिक इनिसिएटिभले यही समस्यालाई सम्बोधन गर्दै व्यवसायको वास्तविक क्षमता, आम्दानीको सम्भावना र सञ्चालनको अवस्थालाई लगानीको आधार बनाउने लक्ष्य राखेको छ ।
कार्यक्रममा आध्यन्त फन्ड म्यानेजमेन्टका अध्यक्ष मनोज पौडेलले नेपालको वित्तीय प्रणालीले घरजग्गालाई सम्पत्तिका रूपमा प्राथमिकता दिए पनि सञ्चालनमा रहेका व्यवसायको सम्भावना र मूल्याङ्कनलाई पर्याप्त महत्त्व दिन नसकेको बताए ।
“नेपालमा गैरकृषि साना उद्यममध्ये करिब ५० प्रतिशत महिलाले सञ्चालन गर्छन् । तर, तीन चौथाइ परिवारमा महिलाको नाममा घर वा जग्गा छैन,” पौडेलले भने, “हाम्रो प्रणालीले लालपुर्जाको मूल्य तुरुन्तै बुझ्छ, तर व्यवसायको नगद प्रवाह, ग्राहकको विश्वास र भविष्यको सम्भावनालाई सम्पत्तिका रूपमा हेर्न अझै सकेको छैन ।”
उनले बैंकबाट कर्जा पाउन नसक्नु र कुनै व्यवसाय लगानीयोग्य नहुनु फरक विषय भएको बताए । कतिपय व्यवसायलाई धितोमा आधारित कर्जाभन्दा जोखिम बाँडफाँट गर्ने प्रकृतिको पूँजी आवश्यक पर्ने उनको भनाइ थियो ।
पौडेलका अनुसार सिम्रिक इनिसिएटिभले उद्यमलाई बुझ्ने, जोखिम बाँड्ने र लगानी गर्ने तीनवटा आधारमा काम गर्नेछ । विगत पाँच वर्षमा करिब २० संस्थागत लगानीकर्ताको सहकार्यमा २० भन्दा बढी उद्यममा ४०० करोड रुपैयाँभन्दा बढी पूँजी परिचालन गरेको अनुभवलाई यस पहलको आधार बनाइएको उनले बताए । सिम्रिक फन्डको लगानी समिति र लगानीसम्बन्धी कारोबार टोलीमा समेत महिलाको नेतृत्व रहने जनाइएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महिला उद्यमशीलताको प्रवर्द्धन देशको उत्पादनशील अर्थतन्त्र निर्माणसँग जोडिएको विषय भएको बताइन् । महिलाले कृषि तथा अन्य व्यवसाय विस्तार गर्न खोज्दा धितो अभावकै कारण वित्तीय स्रोतबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

“धितो नहुँदा सम्भावना भएका व्यावसायिक विचारसमेत रोकिन्छन् । आध्यन्तको यो निजी इक्विटी फन्डले महिलालाई सहयोग गर्ने मात्र होइन, उनीहरूलाई उद्यम र सम्पत्तिको वास्तविक मालिक बन्न पनि मद्दत गर्छ,” मन्त्री गौतमले भनिन् ।
उनले रेमिट्यान्समा अत्यधिक निर्भर अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बलियो बनाउन स्वदेशमै उत्पादन र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइन् । अटोमेसन, रोबोटिक्स र कृत्रिम बौद्धिकता (एआई)को विस्तारले वैदेशिक रोजगारीका केही क्षेत्रमा जोखिम बढाउन सक्ने उल्लेख गर्दै उनले घरजग्गाजस्ता क्षेत्रमा मात्र पूँजी केन्द्रित गर्ने प्रवृत्तिभन्दा उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् ।
मन्त्री गौतमले सरकारले लगानीमैत्री वातावरण निर्माण र कानुनी सुधारलाई प्राथमिकता दिएको पनि जानकारी दिइन् । चालु आर्थिक वर्षमा १६६ वटा विधेयक संसद्मा लैजाने योजना रहेको र ५० भन्दा बढी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उल्लेख गर्दै उनले महिला उद्यमीलाई नीतिगत सुधारका लागि आफ्ना सुझाव मन्त्रालयमा पठाउन आग्रह गरिन् ।
सिम्रिक इनिसिएटिभले महिला उद्यमलाई सहयोग गर्न पूँजी, कर्जा तथा ग्यारेन्टी र व्यावसायिक क्षमता अभिवृद्धि गरी तीन क्षेत्रमा काम गर्नेछ । सिम्रिक फन्डमार्फत धैर्यशील पूँजी, संस्थागत सुशासन र रणनीतिक सहयोग उपलब्ध गराइनेछ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी अचल सम्पत्तिको धितोमा मात्र निर्भर नभई व्यवसायको नगद प्रवाह र सञ्चालन क्षमताका आधारमा कर्जा उपलब्ध गराउने प्रयास गरिनेछ ।
यसैक्रममा आध्यन्त फन्ड म्यानेजमेन्ट र ग्लोबल आईएमई बैंकबीच सिम्रिक इनिसिएटिभको बैंकिङ साझेदारका रूपमा काम गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
इनिसिएटिभको अर्को महत्त्वपूर्ण पक्ष उद्यमीको क्षमता अभिवृद्धि र बजार विस्तार हो । यसअन्तर्गत एफएओ नेपाल र संयुक्त दिगो विकास लक्ष्य कोषसँगको सहकार्यमा कृषि तथा खाद्य मूल्य शृङ्खलामा आबद्ध २० वटा महिला नेतृत्वका उद्यमलाई वित्तीय योजना निर्माण, ब्रान्डिङ र लगानीका लागि तयार पार्न सहयोग भइरहेको छ ।
कार्यक्रममा एफएओ नेपालका कार्यवाहक प्रतिनिधि अरुण जीसीले महिला नेतृत्वका कृषि उद्यमलाई आधुनिक बजार र पूँजीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।
आध्यन्तकी कार्यक्रम संयोजक प्रतिष्ठा पौडेलले एसएमई एक्सेलेटर कार्यक्रमबारे प्रस्तुति दिँदै स्थानीय उद्यमले हासिल गरेका नतिजाबारे जानकारी गराइन् ।
सिम्रिक फन्डकी मुख्य लगानीकर्ता नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले महिला उद्यमशीलतामा संस्थागत लगानीले आर्थिक प्रतिफलसँगै सामाजिक रूपान्तरणमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमको समापन गर्दै आध्यन्तकी कानुनी तथा अनुपालन प्रमुख एवं सिम्रिक फन्डकी लगानी प्रबन्धक आश्मा मैनालीले सम्भावनायुक्त उद्यमी तथा साझेदारलाई अभियानमा सहभागी हुन आह्वान गरिन् ।
कार्यक्रममा नीति निर्माता, विकास साझेदार, नियामक निकाय, वित्तीय क्षेत्रका प्रतिनिधि तथा महिला उद्यमीहरूको सहभागिता थियो ।
महिला उद्यमशीलताको प्रवर्द्धनमा पूँजीको अभावसँगै वित्तीय प्रणालीको परम्परागत सोच पनि चुनौतीका रूपमा रहँदै आएको छ । व्यवसायको सम्भावना हुँदाहुँदै धितो नभएकै कारण लगानी नपाउने अवस्थालाई बदल्न सिम्रिक इनिसिएटिभले कत्तिको प्रभावकारी भूमिका खेल्छ भन्ने कुरा यसको कार्यान्वयनमा निर्भर हुनेछ । विशेषगरी महिला उद्यमीले सहज रूपमा पूँजी प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्नु, लगानीको प्रक्रिया पारदर्शी बनाउनु र उद्यमलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउनु यस पहलको वास्तविक सफलता मापन गर्ने आधार हुनेछन् ।












प्रतिक्रिया