२८ आश्विन २०८३, बुधबार

साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–सुभाष कायस्थ

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका टिकटकर मोहम्मद इर्साद खानमाथि थप दुईवटा ज्यान मार्ने उद्योगको मुद्दा चलिरहेको खुलासा भएको छ ।

टिकटकमा ‘गुण्डा’ नामले चर्चित इर्सादमाथि चलिरहेका दुवै ज्यान मार्ने उद्योगका मुद्दामा उनी धरौटीमा रिहा भई हाल मुद्दा विचाराधीन अवस्थामा रहेको धनुषा प्रहरीको भनाइ छ ।

धनुषा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालका अनुसार २०८२ फागुन ३ गते उनले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलका २६ वर्षीय मोहम्मद मुस्तफा राइन र २०८३ जेठ ७ गते जनकपुरधाम–८ का अल्ताफ राइनमाथि खुकुरी प्रहार गरेका थिए ।

यी दुवै घटनामा इर्सादमाथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता रहेको छ भने जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ ।

प्रवक्ता खनालले भने, “हामीले उनलाई फरार सूचीमा राख्दै खोजी तीव्र पारेका थियौँ । यसैबीच वडा नम्बर ५ मा साफीको हत्या घटनामा पक्राउ गर्न सफल भएका छौँ ।”

प्रहरीले उनलाई पक्राउ गर्न जाँदा घरपरिवारले भगाइदिने वा प्रहरी आइरहेको सूचना पाउनेबित्तिकै उनी फरार हुने गरेका थिए । तर यसपटक भने स्थानीयको सहयोगमा उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रवक्ता खनालका अनुसार मुस्तफामाथि बकर इदकै दिन खुकुरी प्रहार गरी घाइते बनाइएको थियो । मुस्तफाको जाहेरी अनुसार इर्सादले उनलाई घरमा बोलाएर पसलमा लगेका थिए । त्यहाँ घाँटीमा खुकुरी राखेर काट्ने धम्की दिइएको र मुस्तफा भाग्न खोज्दा पछाडिबाट लखेटेर खुकुरी प्रहार गरिएको आरोप छ । त्यस क्रममा मुस्तफाको बायाँ हातमा खुकुरी लागेर उनी घाइते भएका थिए ।

घटनापछि मुस्तफाले इर्सादविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए। प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा अघि बढाउँदै जिल्ला अदालतबाट गत असार ३१ गते नै पक्राउ अनुमति पुर्जी लिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयले साउन १८ गते जानकी प्रहरी चौकीलाई पत्राचार गर्दै खोजी तथा पक्राउका लागि आवश्यक पहल गर्न निर्देशन दिएको थियो ।

तर लामो समयसम्म उनी पक्राउ पर्न सकेनन् । त्यसको केही समयपछि पुनः वडा नम्बर ८ मा अल्ताफमाथि खुकुरी प्रहार गरी अर्को घटना गराए । त्यसमा पनि उनीविरुद्ध जाहेरी परेपछि ज्यान मार्ने उद्योगमा अदालतमा मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी छ ।

पुरानो मुद्दामा पक्राउ पर्न नसकेको व्यक्तिबाट पुनः गम्भीर हिंसात्मक घटना भएको आरोप सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान र पक्राउ प्रयासमाथि पनि चासो बढेको छ । बिहीबार साँझ जानकी मन्दिरनजिकै भएको छुरा प्रहारबाट जनकपुरधाम–५ सोनारपट्टीका २४ वर्षीय आमिन साफीको मृत्यु भएको छ भने सोही ठाउँका २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका छन् । हाल गम्भीर घाइते इम्तियाजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक सञ्जालका ‘गुण्डा’ इर्साद

इर्साद टिकटक र फेसबुकमा सक्रिय रहँदै सामाजिक सञ्जालमा ‘गुण्डा’ र ‘एमडी इर्साद खान’ नामबाट खाता सञ्चालन गर्दै आएका छन् । उनीमाथि सामाजिक सञ्जालमा अर्को समुदायलाई लक्षित गरी घृणा फैलाउने, हिंसालाई प्रोत्साहन गर्ने तथा गालीगलौजयुक्त सामग्री राख्ने गरेको आरोप समेत छ । यस्ता गतिविधिका कारण उनलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग पटक-पटक उठ्दै आएको थियो ।

यद्यपि सामाजिक सञ्जालमा राखिएका सामग्रीको प्रकृति, त्यसको कानुनी अवस्था र ती सामग्रीसँग पछिल्लो घटनाको सम्बन्धबारे आधिकारिक अनुसन्धानबाट पुष्टि हुन बाँकी छ । स्थानीयवासीका अनुसार इर्साद लागुऔषध सेवनकर्ता समेत हुन् ।

बिहीबारको घटनापछि प्रहरीले इर्सादकी ४२ वर्षीया आमा सैमुख खातुनलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा उनको संलग्नता वा भूमिका के थियो भन्नेबारे भने प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।

एक युवकको ज्यान गएको र अर्का युवक गम्भीर घाइते भएको घटनासहित विचाराधीन रहेका अन्य दुई ज्यान मार्ने उद्योगका मुद्दा, घटनाको कारण, प्रयोग गरिएको हतियार तथा संलग्न व्यक्तिहरूको भूमिका लगायत पक्षमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।