–कृष्ण पौडेल
कपिलवस्तु । बिहानै गाउँको कुनै टोलमा पुगेर सडक र नालीको अवस्था हेर्नु, फोहोर देखिए त्यसको कारण बुझ्नु, स्थानीयसँग प्रत्यक्ष संवाद गर्नु र सरसफाइका लागि सम्झाउनु– विजयनगर गाउँपालिकाका बास संयोजक अर्जुन बेल्वासेको दैनिकी यही कामबाट सुरु हुन्छ ।
विगत सात वर्षदेखि उनी विजयनगर गाउँपालिकाका विभिन्न गाउँ, टोल, सडक, सार्वजनिक स्थल र समुदायमा पुगेर सरसफाइ तथा स्वच्छताको अवस्था नियाल्दै आएका छन् । उनको जिम्मेवारी कार्यालयमा बसेर योजना बनाउने वा निर्देशन दिनेमा मात्र सीमित छैन । समस्या भएको ठाउँमै पुग्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, समाधानका लागि पहल गर्ने र व्यवहार परिवर्तनका लागि निरन्तर सचेतना फैलाउने उनको मुख्य काम हो ।
कुनै टोलमा सडकछेउ फोहोर थुप्रिएको भेटिए उनी त्यहाँ पुग्छन् । फोहोर कहाँबाट र कसरी आएको हो भन्ने बुझ्छन् र सम्बन्धित घरपरिवार तथा स्थानीयसँग संवाद गरेर उचित व्यवस्थापनका लागि सम्झाउँछन् । नाली थुनिएको अवस्थामा त्यसको कारण खोज्ने र आवश्यक परे तत्काल सरसफाइका लागि पहल गर्ने गर्छन् ।

सार्वजनिक सडक तथा बाटोमा दाउरा, निर्माण सामग्री वा अन्य सामान राखिएको भेटिएमा त्यसले आवागमन र सरसफाइमा पार्ने असरबारे सम्बन्धित व्यक्तिलाई सम्झाउने काम पनि उनको नियमित जिम्मेवारी हो । सडकमा गाईभैंसी बाँध्ने, सार्वजनिक स्थानमा फोहोर गर्ने, बाटो अवरुद्ध गर्ने वा खुला रूपमा दिसापिसाब गर्ने गतिविधि देखिएमा उनी प्रत्यक्ष रूपमा पुगेर सचेत गराउँछन् ।
‘मेरो काम भनेको समस्या देखेपछि त्यसलाई छोडेर हिँड्ने होइन । पहिला कारण बुझ्छु, सम्बन्धित व्यक्तिसँग कुरा गर्छु र कसरी सुधार गर्न सकिन्छ भनेर सम्झाउँछु । फेरि त्यही समस्या दोहोरिएको छ कि छैन भनेर पनि हेर्छु,’ बेल्वासे भन्छन् ।
सम्झाउँदा पनि अटेरी गर्नेहरूका हकमा भने उनी सम्बन्धित निकायसँग समन्वय गर्छन् । पटकपटक सम्झाउँदा पनि सुधार नभए वडा कार्यालयमार्फत सचेत गराउने र आवश्यक परे नियमअनुसार कारबाही तथा जरिवानाको प्रक्रिया अघि बढाउने गरिएको छ ।
सरसफाइ अभियानलाई प्रभावकारी बनाउन उनले स्थानीय प्रहरी तथा सम्बन्धित पक्षसँग समेत समन्वय गर्दै आएका छन् । सार्वजनिक स्थानमा फोहोर फाल्ने, बाटो अवरुद्ध गर्ने, सडकमा गाईभैंसी बाँध्ने तथा पटकपटक सम्झाउँदा पनि अटेर गर्ने गतिविधिमा निगरानी र आवश्यक कारबाहीका लागि समन्वय गर्ने काम पनि उनको भूमिकामा पर्दछ ।
बेल्वासेको कामको अर्को महत्वपूर्ण पक्ष हो– घरघर र समुदायमा पुगेर चेतना फैलाउनु । चर्पीको नियमित प्रयोग, खुला दिसापिसाबको अन्त्य, फोहोरको उचित व्यवस्थापन, घरआँगन सफा राख्ने बानी, नाली सफा राख्ने तथा सार्वजनिक स्थललाई फोहोर हुन नदिने विषयमा उनी स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्छन् ।
सात वर्षअघि यही विषयमा गाउँघर पुग्दा धेरै ठाउँमा एउटै कुरा पटकपटक सम्झाउनुपर्ने अवस्था रहेको उनको अनुभव छ । सरसफाइलाई व्यक्तिगत जिम्मेवारीभन्दा पनि अरू कसैले गरिदिने कामका रूपमा हेर्ने प्रवृत्ति थियो । तर अहिले अवस्था विस्तारै बदलिँदै गएको उनी बताउँछन् ।
‘पहिला एउटै कुरा पटकपटक सम्झाउनुपर्थ्यो । अहिले धेरै ठाउँमा स्थानीय आफैं सचेत हुन थालेका छन् । समस्या देखिएपछि आफैं समाधानका लागि पहल गर्ने अवस्था पनि आएको छ,’ उनी भन्छन् ।
बेल्वासेका लागि सरसफाइ केवल सडक वा सार्वजनिक स्थल सफा गर्ने अभियान मात्र होइन, नागरिकको व्यवहार परिवर्तनसँग जोडिएको विषय हो । त्यसैले कुनै ठाउँ एक दिन सफा गरेर अभियान सकिएको मान्नेभन्दा पनि समस्या दोहोरिन नदिनु उनको प्राथमिकतामा छ ।
सरसफाइका क्रममा उनी फोहोर उठाउने वा सडक सफा गराउने काममा मात्र सीमित हुँदैनन् । समस्या किन दोहोरिन्छ भन्ने कारण खोज्ने, सम्बन्धित व्यक्तिलाई बुझाउने, आवश्यक परे वडा कार्यालय तथा प्रहरीसँग समन्वय गर्ने र सुधार भए/नभएको पुनः अनुगमन गर्ने कामलाई उनले निरन्तरता दिएका छन् ।
गाउँमा पुग्ने, समस्या हेर्ने, नागरिकसँग कुरा गर्ने, सरसफाइका लागि सिकाउने, सुधार भए/नभएको हेर्ने र आवश्यक परे सम्बन्धित पक्षसँग समन्वय गर्ने-बेल्वासेको सात वर्षे कार्ययात्रा यही चक्रमा अघि बढिरहेको छ ।
सात वर्षअघिको विजयनगर र अहिलेको विजयनगरमा आएको परिवर्तन उनले सडक र सार्वजनिक स्थलमा मात्र होइन, नागरिकको सोच र व्यवहारमा समेत देखेका छन् । बाहिरबाट सम्झाउनुपर्ने ठाउँमा अहिले धेरै नागरिकले घर, टोल र सार्वजनिक स्थल सफा राख्नुपर्ने जिम्मेवारी आफैं महसुस गर्न थालेका छन् ।
गाउँको गल्लीदेखि सार्वजनिक स्थलसम्म पुगेर सरसफाइको अवस्था नियाल्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, सुधारका लागि पहल गर्ने र आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गर्ने बेल्वासेको सात वर्षे यात्रा अहिले व्यवहार परिवर्तनलाई निरन्तरता दिने अभियानमा अघि बढिरहेको छ ।











प्रतिक्रिया