–हेमन्त केसी
सुर्खेत । हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रमा जेसीबी परिचालन गरेर हिउँ हटाउन थालिएको हो ।
असोज १० गतेदेखि हिमपातका कारण अवरुद्ध सडक दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको छ ।
कर्णाली करिडोरअन्तर्गत यारी–नारा लेक हुँदै हिल्सासम्मको सडकमा करिब १० किलोमिटर क्षेत्रमा हिउँ जमेको छ । लामो समयदेखि यातायात सेवा अवरुद्ध हुँदा हिल्सामा रहेका स्थानीय, होटल व्यवसायी तथा सरकारी कार्यालयका कर्मचारी प्रभावित भएका छन् ।

सडक खुलाउन हिउँ पन्छाउने काम सुरु भएपछि चीनको ताक्लाकोट क्षेत्रमा रहेका हुम्लाका नागरिकलाई समेत दशैं–तिहारका बेला घर फर्किन सहज हुने अपेक्षा गरिएको छ ।
हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार नारा लेक क्षेत्रको ठाडो ढुङ्गामा जमेको हिउँ पन्छाउने काम बुधबार बिहानदेखि सुरु गरिएको हो । अहिले यारी क्षेत्रबाट नारा लेकतर्फ हिउँ हटाउने काम भइरहेको छ । नारा लेक पार गरेर हिल्सातर्फ जाने सडकमा जमेको हिउँ पन्छाउने कामलाई पनि तीव्रता दिइने उनले बताए ।

उनका अनुसार सडकको केही भागमा करिब तीन फिट हिउँ जमेको छ । नारा लेकको हिल्सातर्फ पर्ने ओरालोको खाल्डो क्षेत्रमा भने करिब चार मिटर हिउँ थुप्रिएको छ । अत्यधिक हिउँ जमेकाले उक्त क्षेत्रमा हिउँ हटाउन बढी समय लाग्ने उनको भनाइ छ ।
‘अहिले यारीबाट नारा लेकतर्फ हिउँ पन्छाउने काम सुरु भएको छ । हिउँ धेरै जमेकाले सडक सञ्चालनयोग्य बनाउन दुईदेखि तीन दिन लाग्ने अनुमान गरेका छौँ,’ उनले भने ।
चार हजार ६७० मिटर उचाइमा हिउँको अवरोध
समुद्री सतहदेखि चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा यसपटक भारी हिमपात भएपछि सडक यातायात प्रभावित भएको हो । उच्च हिमाली क्षेत्रमा पर्ने उक्त सडकखण्डमा हिउँ बाक्लो गरी जम्दा सवारीसाधन आवतजावत गर्न नसकेको हो ।
सडक योजनाका प्रमुख नेपालीका अनुसार हिउँ पन्छाउने कामलाई निरन्तरता दिन जेसीबीका लागि आवश्यक थप इन्धनको व्यवस्था गरिएको छ । बुधबार सिमकोटबाट इन्धन नारा लेकतर्फ पठाइएको उनले जानकारी दिए ।
जेसीबीमार्फत बिहानदेखि साँझ साढे ५ बजेसम्म हिउँ हटाउने काम गरिनेछ । मौसमले साथ दिए र काममा थप अवरोध नआए दुईदेखि तीन दिनभित्र सडक सञ्चालनयोग्य बनाउने योजनाको लक्ष्य छ ।
नारा लेकमा हिउँ जम्दा सिमकोटदेखि हिल्सासम्मको सडक सम्पर्क विच्छेद भएको छ । हिल्सा चीनको ताक्लाकोट जाने प्रमुख नाका भएकाले यो सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने नागरिक, व्यापारी र व्यवसायीलाई समेत समस्या भएको छ ।
हिल्सामा रोकिए स्थानीय र व्यवसायी
हिउँका कारण यातायात अवरुद्ध भएपछि हिल्सामा रहेका स्थानीयवासी तथा व्यवसायीको दैनिकी प्रभावित भएको छ । हिल्सास्थित मानसरोवर होटलकी सञ्चालक पेमा लामाले सडकमा जमेको हिउँ पन्छाउने काम सुरु भएकोमा खुसी व्यक्त गरिन् । उनले हिउँ हटाएपछि चाँडै यातायात सेवा सञ्चालनमा आउने विश्वास व्यक्त गरिन् ।
हाल हिल्सामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालय र अध्यागमन कार्यालयका कर्मचारीसँगै होटल व्यवसायी तथा केही स्थानीय व्यापारी बस्दै आएका छन् । सडक अवरुद्ध हुँदा उनीहरूको आवतजावतमा कठिनाइ भएको छ ।
विशेषगरी दशैं–तिहार नजिकिँदै गर्दा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार, रोजगारी तथा अन्य कामका लागि पुगेका हुम्लाका नागरिकलाई घर फर्किन सडक खुल्ने प्रतीक्षा छ । सडक सञ्चालनमा आएपछि उनीहरूलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।
१५ वर्षयताकै असोजमा भारी हिमपात
स्थानीयका अनुसार यस वर्ष हिल्सामा असोज १० गतेदेखि विगत १५ वर्षयताकै पहिलोपटक यति भारी हिमपात भएको हो । विगतका वर्षमा कात्तिक महिनापछि मात्रै यसरी बाक्लो हिउँ पर्ने गरेको भए पनि यस वर्ष मौसममा आएको परिवर्तनका कारण असोजमै हिमपात भएको उनीहरूको भनाइ छ ।
असोजमै परेको भारी हिमपातले उच्च हिमाली क्षेत्रमा जनजीवनसँगै यातायात र व्यापार व्यवसायमा समेत असर पारेको छ । हिमपातपछि नारा लेकमा जमेको हिउँ पन्छाउन ढिलाइ हुँदा सिमकोट–हिल्सा सडक लामो समयदेखि अवरुद्ध रहँदै आएको छ ।
अहिले नारा लेकमा हिउँ हटाउने काम सुरु भए पनि सिमकोट–हिल्सा सडकखण्डको अर्को उच्च हिमाली क्षेत्र न्यालु लेकमा जमेको हिउँ पन्छाउने काम भने सुरु भएको छैन । त्यसैले नारा लेकको हिउँ हटेपछि मात्रै सम्पूर्ण सडकखण्ड सहज रूपमा सञ्चालनमा आउने अवस्था निश्चित नहुने देखिन्छ ।











प्रतिक्रिया