काठमाडौं । पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको विषय विवादमा आएपछि प्रहरीले इटहरीका एक दम्पतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इटहरीका ओसीम अन्सारी र उनकी पत्नी प्रियंका परियार रहेका छन्। पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा उनीहरूलाई प्रहरीले इटहरीबाट नियन्त्रणमा लिएको हो। पक्राउपछि दुवैलाई काठमाडौं ल्याएर प्रहरी वृत्त गौशालामा पठाइएको छ।
केही दिनअघि अन्सारी दम्पती पशुपतिनाथ पुगेका थिए। त्यहाँ बनाइएको उनीहरूको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गैरहिन्दूलाई मन्दिर प्रवेश गराइएको भन्दै बहस सुरु भएको थियो। भिडियोमा अन्सारीले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि विषय थप चर्चामा आएको थियो।
यही विषयलाई लिएर सांसद खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्। त्यसपछि पशुपति क्षेत्र विकास कोषले घटनाबारे प्रहरीमा उजुरी दिएको थियो।
यता, पक्राउ पर्नुअघि दम्पतीले सामाजिक सञ्जालमार्फत आफ्नो पक्ष सार्वजनिक गरेका थिए। उनीहरूले आफूहरू पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट केही भागसम्म पुगे पनि मन्दिरको भित्री भागमा प्रवेश गर्न नदिइएको दाबी गरेका छन्। भर्याङबाटै आफूहरूलाई फर्काइएको उनीहरूको भनाइ थियो।
प्रियंकाले पशुपतिनाथप्रति आफ्नो आस्था रहेको बताउँदै श्रीमानलाई पनि मन्दिर देखाउनका लागि त्यहाँ गएको स्पष्टीकरण दिएकी छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। अन्सारी इटहरीमा व्यापार गर्दै आएका छन् भने उनी इटहरी–८ का स्थायी बासिन्दा हुन्।











प्रतिक्रिया