काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई हरेक घटनाक्रमले केही न केही सिकाएको बताएका छन् ।
सन् २००१ को अक्टोबर ७ बाट सरकार नेतृत्व गरेपछि आज २५ वर्ष पूरा पुगेको अवसरमा देशभरका भाजपा कार्यकर्ताहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले हरेक संकटले आफ्नो धैर्यको परीक्षा लिएको बताएका हुन् ।
उनले भने, ‘मैले ईश्वरसँग प्रार्थना गरेको थिएँ कि सिक्ने प्रक्रिया कहिल्यै नरोकिओस् । आज पछाडि फर्केर हेर्दा म कृतज्ञताको भावनाले भरिएको छु । हरेक घटनाले मलाई केही न केही सिकाएको छ । यसले मलाई विनम्रता सिकायो । जसले मलाई लडाए, उनीहरूले नै मलाई उठ्न सिकाए । जसले मेरो विरोध गरे, उनीहरूले मलाई लोकतन्त्रको शक्ति बुझ्न मद्दत गरे । हरेक संकटले मेरो धैर्यको परीक्षा लियो र हरेक उपलब्धिले मलाई अझ ठूला लक्ष्यहरू प्राप्त गर्न प्रयास गर्ने शक्ति प्रदान गर्यो ।’
उनले कुनै पनि सपनाहरू ठूला हुनुपर्ने र मनोबल झनै उच्च हुनुपर्ने बताए ।
उनले मिसन चन्द्रयान अभियानले आफूलाई असफलतापछि उठ्न सिकाएको र कोरोनाले सामूहिक चेतनाबारे सिकाएको समेत बताए ।
‘चन्द्रयानले मलाई असफलतापछि उठ्न सिकायो । कोरोनाले मलाई सामूहिक चेतनाबारे सिकायो । सञ्चारमाध्यमले तीता र मीठा दुवै अनुभवबाट पाठ सिक्दै अघि बढ्न मलाई प्रेरित गरे । हरेक गाउँ र हरेक गरिब व्यक्तिले मलाई यो सिकायो कि स्रोतसाधन सीमित भए पनि सपना ठूला हुनुपर्छ र मनोबल उच्च राख्नुपर्छ ।’ उनले भने ।
मोदीको सम्बोधन जारी रहेको छ ।
यसअघि उनले आज बिहानै नयाँ दिल्लीस्थित श्री विनायक मन्दिरमा पूजाअर्चना गरेका थिए ।
मोदी सन् २००१ को अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २०१४ मा उनी प्रधानमन्त्री बनेका थिए ।
मोदी लगातार तीन कार्यकाल प्रधानमन्त्रीका रूपमा रहेका छन् ।











प्रतिक्रिया