काठमाडाैं । रूघाखोकी मुख्यतया भाइरसको सङ्क्रमणका कारणले लाग्छ । रूघाखोकी लाग्नुको सबैभन्दा मुख्य कारण राइनोभाइरस हो, जसले लगभग ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म रूघाखोकी गराउँछ । अन्य भाइरसहरूमा कोरोनाभाइरस, एडेनोभाइरस, र रेस्पिरेटरी सिन्सिटियल भाइरस जस्ता २०० भन्दा बढी प्रकारका भाइरसहरूका कारणले पनि रूघाखोकी लाग्न सक्छ ।
सङ्क्रमित व्यक्तिले खोक्दा वा छिउ गर्दा हावामा साना-साना थोपाहरू (एरोसोल) निस्कन्छन् । ती थोपाहरू श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्दा रूघाखोकी सर्छ । सङ्क्रमित व्यक्तिले छोएको वस्तुहरू (जस्तै: ढोकाको ह्यान्डल, फोन, किबोर्ड, भाँडाकुँडा आदि) छोएर आफ्नो आँखा, नाक वा मुखमा हात लैजाँदा भाइरस शरीरभित्र प्रवेश गर्छ ।
शरीरको इम्युनिटी पावर कमजोर भएमा भाइरसले सजिलै आक्रमण गर्न सक्छ । चिसो मौसम वा मौसम बदलिँदा भाइरसहरू बढी सक्रिय हुन्छन् र मानिसहरू घरभित्रै वा गुम्म ठाउँमा बस्दा भाइरस एकबाट अर्कोमा छिटो फैलिन्छ । सार्वजनिक ठाउँ, विद्यालय वा भिडभाड हुने स्थानमा यो सङ्क्रमण छिटो सर्छ । नियमित हात नधुने बानीले पनि यसको जोखिम बढाउँछ ।
रूघाखोकी (सामान्य जुकाम र फ्लु) बाट बच्नका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै व्यक्तिगत सरसफाइमा ध्यान दिनु आवश्यक हुन्छ । यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ:
हात सफा राख्ने: साबुनपानीले कम्तिमा २० सेकेन्डसम्म निरन्तर हात धुने वा साफ गर्न ‘ह्यान्ड स्यानिटाइजर’को प्रयोग गर्ने ।
अनुहारमा हात नलैजाने: अनावश्यकरूपमा आँखा, नाक र मुखमा हात लैजानबाट बच्ने, किनकि भाइरस हातबाटै शरीरभित्र छिर्ने गर्छ ।
सङ्क्रमित व्यक्तिबाट दुरी कायम गर्ने: रूघाखोकी लागेका व्यक्तिहरूबाट सम्भव भएसम्म निश्चित दुरी कायम राख्ने ।
मास्कको प्रयोग गर्ने: भिडभाड वा सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने ।
हात धुने वा छोप्ने बानी: खोक्दा वा छिउ गर्दा कुहिनो वा टिस्यु पेपरले नाक-मुख छोप्ने र टिस्युलाई तुरुन्तै डस्टबिनमा फाल्ने ।
प्रशस्त तरल पदार्थ पिउने: मनतातो पानी, झोलिलो खानेकुरा, बेसार-पानी वा तुलसी/अदुवा हालेको चिया पिउनाले घाँटीलाई आराम मिल्छ र शरीर हाइड्रोरेट रहन्छ ।
पौष्टिक आहार र पर्याप्त निद्रा: भिटामिन ‘सी’ युक्त फलफूल (अमिलो फल, कागती, सुन्तला आदि) र पोषिलो खाना खाने तथा दैनिक ७–८ घण्टा राम्रोसँग सुत्ने ।
सरसफाइमा ध्यान दिने: घर वा कार्यालयमा धेरै प्रयोग हुने वस्तुहरू (मोबाइल, ढोकाको ह्यान्डल, किबोर्ड आदि) नियमित रूपमा सफा वा स्यानिटाइज गर्ने ।
यदि सामान्य लक्षणबाहेक धेरै उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने वा धेरै दिनसम्म निको नभएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिनुपर्छ ।











प्रतिक्रिया