२८ आश्विन २०८३, बुधबार

वडाध्यक्ष विकमाथि प्रहरी हिरासतमा कुटपिट भएको दाबी, सुर्खेत लगियो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–हेमन्त केसी

सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ । उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो ।

वडाध्यक्ष विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले वडाध्यक्ष विकलाई छलफलका लागि भन्दै प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हिरासतमा राखी कुटपिट गरेको आरोप लगाएको छ । पार्टीले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत विकलाई तत्काल निःशर्त रिहा गर्न, निःशुल्क उपचारको व्यवस्था गर्न र कुटपिटमा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले जारी गरेको विज्ञप्तिमा हिरासतमा रहेका जनप्रतिनिधिमाथि कुटपिट हुनु गम्भीर विषय भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ ।

प्रहरी भन्छ– पक्राउ गर्न खोजिएका व्यक्तिलाई भगाए

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भने वडाध्यक्ष विकलाई अभद्र व्यवहार तथा राष्ट्रसेवक कर्मचारीको कर्तव्यमा बाधा पुर्‍याएको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका गोपाल बिकलाई पक्राउ गर्न असोज २० गते बिहान मुसिकोट नगरपालिका–१ कालिका मन्दिरनजिक प्रहरी टोली पुगेको थियो । गोपालका दाइसमेत रहेका वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग वादविवाद, गालीगलौज तथा हातपात गरेको र भाइलाई भगाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले केशरमानलाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

‘कुटपिट होइन, आफै ठोक्किएर घाइते’

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेदप्रसाद पौडेलले भने वडाध्यक्ष विकमाथि हिरासतमा कुनै कुटपिट नभएको दाबी गरेका छन् ।

पौडेलले विकले प्रहरी हिरासतमा कुटपिट भएको भन्दै ‘नाटक मञ्चन’ गरेको दाबी गर्दै आफै ठोक्किएर घाइते भएको बताए । स्वास्थ्यमा गम्भीर समस्या नरहेका व्यक्तिलाई बिरामी भएको भन्दै प्रदेश अस्पतालमा उपचारका लागि पठाइएको आरोप समेत उनले लगाए ।

यता, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक रोकाले प्रहरीको दाबी अस्वीकार गरेका छन् । उनले वडाध्यक्षमाथि कुटपिट नभएको प्रहरीको दाबी पुष्टि गर्न घटनास्थल तथा हिरासतको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।

विक आठबिसकोट नगरपालिका–३ बाट दुई पटक वडाध्यक्ष निर्वाचित भएका हुन् ।

हिरासतमा कुटपिट भएको आरोप र प्रहरीले त्यसलाई अस्वीकार गरेपछि घटनाबारे निष्पक्ष छानबिनको माग उठेको छ ।