१२ मंसिर २०८३, शनिबार

वर्तमान सरकारप्रति जनविश्वास घट्दै गएको छ : नवीन सिग्देल

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । नेकपा (एमाले)का केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले बालेन्द्र साह नेतृत्वको सरकारप्रति जनविश्वास क्रमशः घट्दै गइरहेको बताएका छन् ।

मंगलबार एमाले मकवापुरगढी गाउँपालिका–५ को नवनिर्वाचित वडा कमिटीको शपथग्रहण कार्यक्रममा उनले जनताले रास्वपालाई करिब दुईतिहाइ दिएर निर्वाचनमा विजय गराएर एकलौटी सरकार बनाउने अवसर दिए पनि सरकारको सञ्चालनमा देखिएको असक्षमताको कारण जनताले विश्वास गर्न छाड्दै गएको उनको दाबी छ ।

नेता सिग्देलले समाजमा अराजकता, हत्या, हिँसा र असुरक्षा बढ्नाले असुरक्षित महसुस हुँदै गएको र दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक वस्तुहरूको अभाव, चरम महँगीको कारण जनताको दैनिक जीवन कष्टकर बन्दै गइरहेको बताए । राष्ट्रियता, संविधान र लोकतन्त्र संकटमा पर्नुको साथै विकास र समृद्विको यात्रामा अवरूद्व भएको बेला एमाले पार्टी, नेता र कार्यकर्तामा अभिभारा थपिएको उनले बताए ।

‘हामीले गरेको राम्रा कार्यहरू जनतामा लैजाने, कमी छन् भने जुन तह र जसबाट भएको छ त्यसलाई आत्मसमीक्षा गर्दै जनतामा जानुपर्छ ।’ सिग्देलले भने, ‘जनताको कुरा सुन्ने, सुझाव लिने, जनताकै सुझावअनुसार अगाडि बढ्न पार्टीका सबै नेताकार्यकर्ता एकताबद्व भएर लाग्नुपर्छ ।’

उनले जनताले एमाले खोजीरहेको भन्दै पार्टी र जनताको काममा जुट्नुपर्ने बताए । ‘समस्या छ, समस्याको साथी एमाले जनताले खोजिरहेका छन् । हामी जुट्दै, उठ्दै र उत्साहपूर्वक पार्टी र जनताको काममा जुटौँ ।’ आयोग सदस्य सिग्देलले भने ।

गत असोज ६ गते सम्पन्न चौथो वडा अधिवेशनले मकवापुरगढी–५ को अध्यक्षमा रमेश तिमल्सिना, उपाध्यक्ष दिलकुमारी घिसिङ, सचिव शिवराज तिमल्सिना, उपसचिव अशोक बजगाईँ, नवराज धिताल रहेको २१ सदस्यीय वडा कमिटी चयन गरेको थियो ।