काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा प्रमुख विपक्षी दल कांग्रेससहित १९ विपक्षी दलले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सडक आन्दोलन सुरु गरेको छ ।
उनीहरुले मंगलबार बिहानबाट नयाँ दिल्लीस्थित संसद भवनदेखि निर्वाचन आयोगसम्म ‘लोकतन्त्र बचाउ’को नारा लगाउँदै र्याली निकालेका हुन् ।
यसैबीच, प्रहरीले संसद भवन नजिकैको अल इन्डिया रेडियो बाहिर विपक्षी सांसदहरूलाई अघि बढ्नबाट रोकेको छ ।
अहिले विपक्षी दलका नेता राहुल गान्धी र प्रियंका गान्धीसहितका सांसदहरू सडकमा धर्ना बसेका छन् ।
सांसदहरुले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै ‘ज्ञानेश, इट्स डन ब्रो’को नाराबाजी गरेका छन् ।
दिल्ली प्रहरीले प्रदर्शनस्थल आसपास सुरक्षा व्यवस्था कडा पार्दै ब्यारिकेडहरू खडा गरेको छ ।
विपक्षी सांसदहरुले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि मतदाता नामावलीबाट लाखौं मतदाताको नाम हटाएको आरोप लगाउँदै लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पारेको आरोप लगाएका छन् । करिब १३ करोड मतदाताको नाम हटाइएको दाबी उनीहरुको छ । उनीहरुले यस प्रक्रियालाई मतदाताको लोकतान्त्रिक अधिकारमाथिको ठूलो प्रहारको संज्ञा दिएका छन् ।











प्रतिक्रिया