२८ आश्विन २०८३, बुधबार

मेस्सीसँगै ‘१० नम्बर’को जर्सीले पनि सन्यास लिन लागेको हो ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत सोमबार जब लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरे, त्यसपछिको प्रतिक्रिया राष्ट्रिय शोकजस्तै देखियो ।

विद्यालयहरूमा बालबालिका रोए, टेलिभिजनमा पत्रकारहरूका आँखाबाट आँसु झरे, पत्रिकाहरू भावपूर्ण श्रद्धाञ्जलीले भरिए र आफ्ना आदर्श खेलाडीप्रति कृतज्ञता व्यक्त गर्न प्रशंसकहरूका लागि विशेष टेलिफोन लाइन समेत खोलियो । अर्जेन्टिनामा सञ्चालित सप्ताहन्तका सबै खेलहरूमा ती महान् खेलाडीप्रति सम्मान प्रकट गर्न दशौँ मिनेटमा केही बेर खेल रोकियो ।

‘मैले आफूभित्रको सबै ऊर्जा खर्च गरिसकेको छु। अब मसँग दिने केही बाँकी छैन,’ मेस्सीले आफ्नो बिदाइ सन्देशमा लेखे ।

यो एउटा असाधारण सम्बन्धको असाधारण अन्त्य थियो । दुई दशकभन्दा बढी समयसम्म मेस्सीले एउटा यस्तो देशको अपेक्षाको भारी बोके, जसले उनीबाट वास्तवमा के चाहन्थ्यो भन्ने कुरा कहिल्यै निश्चित गर्न सकेन । उनको निरन्तर डिएगो म्याराडोनासँग तुलना गरियो, उनीमाथि उस्तै प्रकारको जोस नदेखाएको आरोपमा आलोचना गरियो र बाल्यकालमै बार्सिलोना गएका कारण उनलाई ‘कम अर्जेन्टिनी’ भएको आरोप पनि वर्षौँसम्म लगाइयो ।

तर जब उनी बिदा भए, मेस्सी र अर्जेन्टिनाबीचको सम्बन्ध पूर्ण रूपमा बदलिसकेको थियो । कुनै समय ‘बाहिरी व्यक्ति’का रूपमा हेरिएका उनी अब आफैँमा राष्ट्रिय प्रतीक बनिसकेका थिए ।

‘र हामी परिपूर्ण भएका छौँ,’ सन् १९८६ मा अर्जेन्टिनाका लागि विश्वकप जितेका जर्ज भल्डानोले मेस्सीको बिदाइमा प्रतिक्रिया दिदै भनेका छन् । मेस्सीले आफूलाई पूर्ण रूपमा समर्पित गरिसकेका थिए, आफूलाई रित्याएका थिए, तर अर्जेन्टिना भने उनले दिएका सबै कुराले भरिपूर्ण थियो ।

मेस्सीले आफ्नो राष्ट्रिय टोलीका लागि २१ वर्षको अवधिमा २०७ आधिकारिक खेल खेले, जुन एउटा पूरै जीवनकाल बराबर हो । उनले १२५ गोल गरे र ६८ गोलका लागि अवसर सिर्जना गरे । मैदानमा उनी हुँदा अर्जेन्टिनाले लगभग एक गोलको सुनिश्चितताका साथ हरेक खेलको सुरुवात गर्थ्यो । उनले ६ वटा विश्वकप खेले, सन् २०२२ मा कतारमा उपाधि जिते र अन्य दुई पटक फाइनलसम्म पुगे । अन्तिम विश्वकप दुई महिनाभन्दा कम समय अघि संयुक्त राज्य अमेरिकामा भएको थियो, जहाँ ३९ वर्षको उमेरमा उनले आफ्नो सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ८ गोल गरे र चार गोलका लागि अवसर सिर्जना गरे । उनको उत्कृष्ट प्रदर्शनको अन्तिम झलक एटलान्टामा इङ्गल्यान्डविरुद्धको सेमिफाइनलमा देखिएको थियो । खेलको अन्तिम क्षणसम्म पछि परेको अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै २-१ को जित हासिल गर्‍यो, यो राष्ट्रिय टोलीको इतिहासकै सबैभन्दा चर्चित जितहरूमध्ये एक थियो ।

अर्जेन्टिनाका लागि इङ्गल्यान्डलाई हराउनु भनेको सधै फुटबलको खेल मात्र थिएन । यो प्रतिद्वन्द्विता माल्भिनास टापु (फल्कल्यान्ड)को विवाद र सन् १९८२ को युद्धसँग अविभाज्य रूपमा जोडिएको छ । सेमिफाइनल पछि खेलाडीहरूले अर्जेन्टिनाको दाबीलाई समर्थन गर्दै उपनिवेशवाद-विरोधी एक विद्रोही ब्यानर फहराएका थिए । इङ्गल्यान्डलाई हराउनु भनेको पुरानो साम्राज्यलाई हराउनु सरह थियो अनि अर्जेन्टिनी फुटबलका लागि । यसले अनिवार्य रूपमा अर्का ‘नम्बर १०’ खेलाडी म्याराडोनाको याद दिलाउँछ, जसको सन् १९८६ को विश्वकप यात्रामा इङ्गल्यान्डविरुद्धको अर्को ऐतिहासिक जित समावेश थियो ।

इङ्गल्यान्डविरुद्धको मेस्सीको त्यो जित नै उनको उत्कृष्ट प्रदर्शनको अन्तिम कडी सावित भयो । त्यसको चार दिनपछि उनीसँग खासै ऊर्जा बाँकी थिएन । अत्यधिक थकानका कारण उनी खेलमा खासै सक्रिय हुन सकेनन्, स्पेनले फाइनलमा खेलमाथि पकड जमाए पनि जितका लागि अतिरिक्त समयको सहारा लिनुपरेको थियो । ‘मेरा खुट्टाले साथ छाडे,’ उनले पछि आफ्ना बुबालाई लेखेको सार्वजनिक पत्रमा उल्लेख गरे, खेलको २० दिनपछि उनका बुबाको निधन भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मेस्सी र अर्जेन्टिनामाथि ‘हार पचाउन नजान्ने’ आरोप लगाए । स्पेनले केही मिटर पर विश्वकपको ट्रफी उचालिरहँदा अर्जेन्टिनी खेलाडीहरू भने समारोह तिर पिठ्युँ फर्काएर मैदानमै उभिरहेका थिए, खेल सकिएलगत्तै उनीहरूमध्ये केही खेलाडीहरूबीच छोटो तर अप्रिय विवाद समेत भएको थियो ।

त्यो दृश्य सुखद थिएन । तर मेस्सीको दृष्टिकोणबाट हेर्दा त्यसको अर्थ अर्कै लाग्छ । उनी आँखामा आँसु लिएर आफूलाई माया गर्ने समर्थकहरूतर्फ हेर्दै स्थिर उभिरहेका थिए । अरूले हारको ‘अशिष्टता’ भनेर बुझेको त्यो क्षण वास्तवमा एउटा बिदाइ पनि थियो । मेस्सीलाई थाहा थियो कि यो बिदाइको क्षण हो । र, पहिलोपटक, मृत्युको मुखमा पुगेका उनका बुबा उनीसँग त्यहाँ उपस्थित हुन सकेका थिएनन् ।

अर्जेन्टिनामा मेस्सीको निकै आलोचना हुने गर्थ्यो, किनभने अन्यत्र ठूलो सफलता हात पारे पनि राष्ट्रिय टोलीका लागि भने उनले एक दशकभन्दा लामो समयसम्म कुनै पनि प्रमुख उपाधि जिताउन सकेका थिएनन् । सन् २०१६ मा त उनी टोलीबाट बाहिरिएका पनि थिए तर पछि फेरि फर्किए । आज उनी निरन्तरताको प्रतीक बनेर बिदा हुँदैछन्, एउटा यस्तो गुण, जुन सबै कुरा क्षणभंगुर हुने यस समयमा विरलै देखिन्छ ।

उनको बिदाइले अर्जेन्टिनालाई उनको सम्मानमा ‘नम्बर १०’को जर्सी सधैँका लागि प्रयोगबाट हटाउन (रिटायर गर्न) आग्रह गर्ने आवाजहरू पनि उठाएको छ ।

तर, भावुक बिदाइ भिडियो सार्वजनिक गरेको अर्जेन्टिनी फुटबल सङ्घले भने त्यसो गर्नेछैन । आधिकारिक प्रतियोगिताहरूमा फिफाको खेलाडीको जर्सी नम्बरसम्बन्धी नियमले गर्दा यसो गर्न असम्भव छ । अर्जेन्टिनाले यस्तो अवस्था पहिले पनि बेहोरिसकेको छ ।

सन् २०२० मा कोभिड-१९ महामारीको समयमा सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताका बीच डिएगो म्याराडोनाको निधन हुँदा सर्वत्र गहिरो शोक छाएको थियो । त्यसबेला कवयित्री लिलियाना क्याम्पज्जोले लेखेकी थिइन्, ‘म म्याराडोनाको शवपेटिका चोरेर गरिब बालबालिकाका बस्ती-बस्तीमा घुमाउने थिएँ, जबसम्म घाम, वर्षा, माटो र हावाले त्यसलाई खरानीमा परिणत गरेर देशको सम्पूर्ण भूभागमा उडाउँदैनथे ।’

त्यतिबेला पनि ‘नम्बर १०’ जर्सीलाई सधैँका लागि विश्राम दिने (रिटायर गर्ने) माग उठेको थियो । तर त्यसो गर्दा मेस्सीबाट त्यो जर्सी खोसिने थियो, उनले सन् २००९ देखि अर्जेन्टिनाका लागि सोही नम्बरको जर्सी लगाएका थिए र त्यसैमा आफ्नो छुट्टै इतिहास कोर्दै थिए ।

यो कुरा महत्त्वपूर्ण छ, किनभने अर्जेन्टिनी फुटबलमा ‘नम्बर १०’ कहिल्यै पनि टोलीको एउटा सामान्य नम्बर मात्र रहेन । परम्परागत रूपमा उत्कृष्ट सिर्जनात्मक खेलाडीले लगाउने यो नम्बर टोलीका वास्तविक ‘जिनियस’ (असाधारण प्रतिभा)का लागि आरक्षित विशेष पहिचान बन्यो । सन् १९८६ को मेक्सिको विश्वकपपछि म्याराडोनाले यसलाई अमर महत्त्व प्रदान गरे । त्यसपछि मेस्सीले यसलाई आफ्नै पहिचान बनाए ।

पेलेले विश्व मञ्चमा ‘नम्बर १०’लाई फुटबलको असाधारण प्रतिभाको पर्याय बनाइसकेका थिए र त्यसपछि धेरै पुस्ताका महान् खेलाडीहरूले यसलाई निरन्तरता दिए । तर अर्जेन्टिनामा जत्तिको महत्त्व यो जर्सीको अन्यत्र कतै रहेन, जहाँ यो म्याराडोनाबाट मेस्सीमा हस्तान्तरण भयो ।

अर्जेन्टिनाले सहभागिता जनाएका पछिल्ला १२ वटा विश्वकपमध्ये १० वटामा म्याराडोना र मेस्सीले खेले । उनीहरू दुवैले एक-एक पटक उपाधि जिते, म्याराडोनाले १९८६ मा र मेस्सीले २०२२ मा । उनीहरूले थप तीन पटक विश्वकपको फाइनल खेले, डिएगोले सन् १९९० मा (इटालीमा) तथा लियोले सन् २०१४ (ब्राजिलमा) र २०२६ (अमेरिकामा) । उनीहरूले संयुक्त रूपमा विश्वकपमा २९ गोल गरे ।

यी तथ्याङ्कले मैदानमा अर्जेन्टिना उनीहरूप्रति कति ऋणी थियो भन्ने देखाउँछन् । तर, मैदानबाहिर उनीहरूको महत्त्व कस्तो थियो भन्ने कुरा यी तथ्याङ्कले बताउँदैनन् । अनि यी दुई व्यक्तिहरू एक-अर्काभन्दा निकै भिन्न थिए ।

डिएगोको स्वभावमा अतिशयता, उदारता र क्षणिक आवेगको मिश्रण थियो । स्पेनिस पत्रकार रामोन बेसाले लेखेझैँ, लाखौँ अर्जेन्टिनीहरू उनका ‘भावनात्मक दास’ बनेका थिए । यसको विपरीत, लियो सधैँ निकै संयमित रहे, सायद यसको कारण डिएगोको पतनलाई नजिकबाट देख्नु र ख्यातिको मूल्य बुझ्नु थियो ।

मेस्सीले अर्को म्याराडोना बनेर म्याराडोनाको नम्बर पाएका होइनन् । उनले त्यही विशाल अपेक्षाको भारीलाई बिल्कुलै फरक तरिकाले बोके र अन्ततः त्यो नम्बरलाई आफ्नै बनाए । अब आउने जोकोहीले पनि त्यस्तै गर्नुपर्नेछ ।

अहिले राष्ट्रिय टोलीका लागि शोक र अभिभावकविहीन भएको महसुस हुने दिनहरू हुन् । अर्जेन्टिनाले म्याराडोनालाई गुमायो र अब, कम्तिमा मैदानबाट, मेस्सीलाई पनि गुमाएको छ । तर अर्जेन्टिना सधैँ उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने थलो रहँदै आएको छ र फुटबल जगत सधैँ अर्को त्यस्तै खेलाडीको आगमन हुने आशामा बाँचेको हुन्छ ।

स्पेनिस भाषामा एउटा भनाइ छ, ‘नो हाय दोस सिन त्रेस’जसको अर्थ हुन्छ, ‘तेस्रोबिना दुई हुँदैन’ । अहिलेसम्म तेस्रो खेलाडी आएको छैन । सायद अर्को म्याराडोना वा अर्को मेस्सी कहिल्यै नआउलान् । तर ‘नम्बर १०’ जर्सीलाई सधैँका लागि हटाउनु भनेको त्यो सम्भावनालाई नै त्याग्नु सरह हुनेछ ।

अर्जेन्टिना त्यसो गर्न तयार छैन ।