१२ मंसिर २०८३, शनिबार

मेस्सीको अन्तिम प्रतिद्वन्द्वी देश बेनिन, ‘अफ्रिकाको भेनिस’ र ‘महिला साम्राज्य’को ऐतिहासिक भूमि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले बुधबार (अक्टोबर ७) आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय म्याच खेल्दै छन् । गत ३१ अगस्ट २०२६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेस्सीका लागि अर्जेन्टिनी फुटबल संघले घरेलु मैदानमा भव्य ‘फेयरवेल म्याच’ (बिदाइ खेल)को आयोजना गरेको हो ।

सन् २००५ मा १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि २० वर्षसम्म निरन्तर योगदान दिएका छन् । यस अवधिमा उनले देशका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्, जुन अर्जेन्टिनी फुटबल इतिहासकै सर्वाधिक गोल संख्या हो ।

मेस्सीका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धिहरूमा फिफा विश्वकप: २०२२ (विजेता) र २०१४ (उपविजेता), कोपा अमेरिका: २०२१ र २०२४ (दुई पटक विजेता), फिनालिसिमा: २०२२, ओलम्पिक स्वर्ण पदक: २००८ (बेइजिङ) मुख्य रहेका छन् ।

अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापिया तथा विश्वभरका लाखौँ समर्थकहरूले मेस्सीको यो अभूतपूर्व योगदानको सम्मान गर्दै घरेलु दर्शकमाझ यो ऐतिहासिक बिदाइ खेल समर्पित गरेका हुन् । आज भएकाे खेलसँगै मेस्सीको दुई दशक लामो गौरवशाली अन्तर्राष्ट्रिय फुटबल यात्राको औपचारिक समापन समेत भएकाे छ ।

उसाे भए, मेस्सीले अन्तिम पटक अन्तराष्ट्रिय खेलवाट सन्यास लिनुअघि खेल्न लागेको मैत्रीपूर्ण खेल्ने देश बेनिनका बारेमा जानकारी लिनुहाेस् ।

बेनिन पश्चिम अफ्रिकामा अवस्थित एक सानो तर ऐतिहासिक, सांस्कृतिक र राजनीतिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण राष्ट्र हो । आधिकारिक नाम बेनिन गणतन्त्र रहेकाे याे देशकाे राजधानी पोर्टो-नोभो रहे पनि सबैभन्दा ठूलो सहर, आर्थिक केन्द्र र सरकारी कार्यालयहरू कोटोलोमा अवस्थित छन्। पश्चिम अफ्रिकाको गिनिया खाडी नजिकै रहेकाे छ ।

यस देशकाे सिमानामा पूर्वमा नाइजेरिया, पश्चिममा टोगो, उत्तरमा बुर्किना फासो र नाइजर र दक्षिणमा आन्ध्र महासागर रहेकाे छ । क्षेत्रफलकाे हिसाबले १,१४,७६३ वर्ग किलोमिटर (लगभग नेपालभन्दा केही सानो) रहेकाे छ भने यस देशकाे जनसंख्या करिब १ करोड ३० लाखभन्दा बढी रहेकाे छ । आधिकारिक भाषाकाे रूपमा फ्रान्सेली साथै फोन र योरुबा स्थानीय रूपमा धेरै बोलिने भाषाहरू हुन् । यस देशमा पश्चिम अफ्रिकी फ्राङ्क मुद्राकाे रूपमा प्रयाेग हुन्छ ।

१७ औं देखि १९ औं शताब्दीसम्म यहाँ शक्तिशाली ‘दाहोमी साम्राज्य’ थियो । यो साम्राज्य आफ्नो बलियो सैन्य शक्ति र विशेष गरी ‘दाहोमी अमेजन’ भनिने महिला सैनिक दस्ताका लागि प्रसिद्ध थियो भने १७ औं र १८ औं शताब्दीमा बेनिनको तटीय क्षेत्र (उइदाह सहर)बाट लाखौँ अफ्रिकीहरूलाई दास बनाएर अमेरिका र युरोप पुर्‍याइएको थियो । त्यसैले यस क्षेत्रलाई ऐतिहासिक रूपमा ‘दास तट’ पनि भनिन्थ्यो ।

सन् १८९४ मा फ्रान्सले यसलाई आफ्नो उपनिवेश बनायो । १ अगस्ट १९६० मा यो फ्रान्सबाट स्वतन्त्र भयो र सुरुमा यसको नाम ‘दाहोमी’ राखियो । पछि सन् १९७५ मा नाम परिवर्तन गरेर ‘बेनिन’ बनाइयो ।

बेनिनलाई विश्वव्यापी रूपमा प्रसिद्ध ‘भोडू धर्म’को जन्मभूमि मानिन्छ । पश्चिमी मिडियामा भोडूलाई जादुटुनाका रूपमा गलत तरिकाले देखाइए तापनि बेनिनमा यो प्रकृति, पूर्वज र ईश्वरको पूजा गर्ने एक आधिकारिक तथा सम्मानजनक धर्म हो । प्रत्येक वर्ष जनवरी १० मा बेनिनमा राष्ट्रिय भोडू दिवस मनाइन्छ । यहाँ लगभग ४८ प्रतिशत क्रिस्चियन, २७ प्रतिशत मुस्लिम र बाँकी परम्परागत भोडू धर्म मान्छन् । धेरैजसो मानिसहरू क्रिस्चियन वा मुस्लिम धर्मका साथसाथै भोडू परम्परा पनि पालना गर्छन् ।

बेनिन बहुदलीय राष्ट्रपतीय गणतन्त्रात्मक मुलुक हो । अफ्रिकाका धेरै देशहरूमा राजनीतिक अस्थिरता र सैन्य कू भइरहँदा बेनिनलाई सन् १९९० को दशकदेखि पश्चिम अफ्रिकाको सबैभन्दा शान्त र लोकतान्त्रिक देशहरूमध्ये एक मानिँदै आइएको छ । वर्तमान राष्ट्रपतिकाे रूपमा पेट्रिस टालोन छन, जाे जो सन् २०१६ देखि सत्तामा रहेका छन् ।

बेनिनको अर्थतन्त्र मुख्यतया कृषिमा निर्भर छ । कपास यहाँको प्रमुख निर्यातजन्य बाली हो । यसका साथै काजू, तिलर पाम आयल पनि उत्पादन हुन्छ । कोटोलो सहरमा रहेको बन्दरगाह बेनिनको अर्थतन्त्रको मेरुदण्ड हो, जसले नाइजर र बुर्किना फासोजस्ता छिमेकी भूपरिवेष्ठित देशहरूलाई पनि व्यापारिक मार्ग प्रदान गर्दछ ।

इतिहासमा बेनिनको दाहोमी साम्राज्यसँग संसारकै एक मात्र पूर्ण रूपमा महिलाहरू सम्मिलित सैन्य दस्ता थियो, जसले फ्रान्सेली सेनासँग पनि वीरतापूर्वक युद्ध लडेको थियो ।

हलिउड चलचित्र द वुमन किङ्ग यही इतिहासमा आधारित छ । बेनिनको नोकोउए तालमा ‘गानभिए’ नामक गाउँ छ, जहाँ २०,००० भन्दा बढी मानिसहरू पूर्ण रूपमा काठका खाम्बामाथि बनाइएका घरहरूमा बस्छन् । यसलाई ‘अफ्रिकाको भेनिस’ पनि भनिन्छ ।