काठमाडाैं । विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीले बुधबार (अक्टोबर ७) आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय म्याच खेल्दै छन् । गत ३१ अगस्ट २०२६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका मेस्सीका लागि अर्जेन्टिनी फुटबल संघले घरेलु मैदानमा भव्य ‘फेयरवेल म्याच’ (बिदाइ खेल)को आयोजना गरेको हो ।
सन् २००५ मा १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि २० वर्षसम्म निरन्तर योगदान दिएका छन् । यस अवधिमा उनले देशका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्, जुन अर्जेन्टिनी फुटबल इतिहासकै सर्वाधिक गोल संख्या हो ।

मेस्सीका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धिहरूमा फिफा विश्वकप: २०२२ (विजेता) र २०१४ (उपविजेता), कोपा अमेरिका: २०२१ र २०२४ (दुई पटक विजेता), फिनालिसिमा: २०२२, ओलम्पिक स्वर्ण पदक: २००८ (बेइजिङ) मुख्य रहेका छन् ।
यस्ताे छ मेस्सीका महत्वपूर्ण भनाइहरूः
“हरेक वर्षको सुरुवातमा म अघिल्ला सिजनहरूका नतिजासँग तुलना नगरी सबै कुरा हासिल गर्ने लक्ष्यका साथ अघि बढ्छु।
मैत्रीपूर्ण खेल होस्, अङ्कका लागि खेलिने स्पर्धा होस्, फाइनल होस् वा अन्य कुनै पनि म्याच, म सधैँ एउटै समर्पणका साथ खेल्छु । म सधैँ आफ्नो टोली, स्वयं र समर्थकहरूका लागि उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाउने प्रयास गर्छु ।
ममा तीव्र प्रतिस्पर्धात्मक भावना छ, त्यसैले हार्दा मलाई निकै नराम्रो लाग्छ । पराजयको बेला मेरो अवस्था हेरेरै त्यो महसुस गर्न सकिन्छ, म निकै खिन्न हुन्छु र कसैसँग कुरा गर्न मन पराउँदिनँ ।
नयाँ जीवन सुरु गर्न अर्जेन्टिना र आफ्नो परिवार छाड्ने निर्णय गरेर मैले ठूलो त्याग गरेँ । मैले साथीभाइ, आफन्तदेखि लिएर आफ्नो सम्पूर्ण परिवेश बदलेँ । तर मैले जे-जति गरेँ, त्यो केवल फुटबल र आफ्नो सपना पूरा गर्नका लागि गरेँ ।
मैले अझै पनि सडकमा खेल्ने बालबालिका जस्तै खेलको आनन्द लिने गरेको छु । जुन दिन मलाई यसमा रमाइलो लाग्न छाड्छ, त्यही दिन म फुटबलबाट सन्न्यास लिनेछु ।
म कहिल्यै अर्जेन्टिनी पहिचानबाट पछि हटिनँ र त्यस्तो चाहना पनि राखिनँ । देश छाडेर आए पनि मलाई अर्जेन्टिनी हुनुमा निकै गर्व लाग्छ । सानै उमेरदेखि म यस विषयमा स्पष्ट थिएँ र कहिल्यै बदलिन चाहिनँ ।
मेरो स्वभावको एउटा बलियो पक्षले मलाई धक्काहरू सहँदै जितको प्रयास जारी राख्न मद्दत गर्छ । ममा सधैँ लडेर फेरि उठ्ने र अघि बढ्ने क्षमता रहँदै आएको छ ।
बाल्यकालमा होचो कदका कारण मलाई कसैले जिस्काएनन् । वास्तवमा, मलाई लाग्छ– सानो कदकै कारण मैले झन् बढी माया पाएँ ।
म भाग्यमानी छु कि म आफ्नो रुचिकै क्षेत्रमा काम गरेर जीवन बिताइरहेको छु, जबकि धेरै मानिसहरू आफूलाई मन नपर्ने काम गर्न बाध्य छन् र त्यसबापत निकै कम पारिश्रमिक पाउँछन् ।”












प्रतिक्रिया