१२ मंसिर २०८३, शनिबार

बालेन लक्षित पूर्वगृहमन्त्री अर्यालको टिप्पणी– मातृभूमिलाई योभन्दा बढी क्षति गर्न नसकोस्

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) लक्षित टिप्पणी गर्दै राजनीतिक संस्कारको जगेर्ना हुनुपर्ने बताएका छन् ।

अर्यालले सोमबार बिहान सामाजिक सञ्जालमा छोटो लेख्दै संवैधानिक लोकतन्त्र, संवैधानिक संस्कृति, राजनीतिक संस्कृति (संस्कार) र दलीय संस्कृतिको जगेर्ना हुनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘संवैधानिक लोकतन्त्र, संवैधानिक संस्कृति, राजनीतिक संस्कृति (संस्कार), दलीय संस्कृतिको जगेर्ना होस् । अल्गोरिदम निर्देशित राजकीय अराजकताले नेपाल राष्ट्र (मातृभूमि)लाई योभन्दा बढी क्षति गर्न नसकोस् । दिशाबोध होस्, तत्वबोध होस्, राष्ट्रको हित होस् ।’

अर्यालको यो टिप्पणी प्रधानमन्त्री साहले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा गरेको टिप्पणीपछि आएको हो ।

आइतबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए । उनले संसद् खुला र जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै देशलाई खुलामञ्च आवश्यक रहेको धारणा राखेका थिए ।

थापाको अभिव्यक्तिपछि प्रधानमन्त्री साहले राति फेसबुकमा लेखेका थिए, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’

साहको उक्त टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा राजनीतिक संस्कारको विषयलाई लिएर बहस भइरहेको छ ।

यस्तै, जेनजी नेत्री रक्षा बमले पनि प्रधानमन्त्री साहको टिप्पणीप्रति असन्तुष्टि जनाएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कार समेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन् ।’