२८ आश्विन २०८३, बुधबार

जनसम्पर्क समितिबाट कांग्रेस केन्द्रीय सदस्य बन्न प्रवासमा दौडधुप, ६ पदमा दर्जन बढी आकांक्षी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको संशोधित विधानले विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट पनि केन्द्रीय सदस्य बन्ने बाटो खोलेपछि प्रवासमा रहेका कांग्रेस नेताहरूबीच आकांक्षा र दौडधुप बढेको छ । विभिन्न देशबाट नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन् भने केही देशमा साझा उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको छ ।

कांग्रेसको नयाँ व्यवस्थाअनुसार विदेशस्थित जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य चयन हुनेछन् । भारतबाट एक, एसियाली मुलुकबाट एक, युरोपबाट एक, मध्यपूर्वबाट एक, अमेरिका–क्यानडा–अस्ट्रेलियालगायत क्षेत्रबाट एक र महिलाबाट एक जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था छ ।

विदेशमा कांग्रेसका जनसम्पर्क समिति ३७ देशमा क्रियाशील छन् । यही व्यवस्थाका कारण लामो समयदेखि प्रवासमा पार्टी संगठनमा सक्रिय रहेका नेताहरूले केन्द्रीय सदस्यका लागि आफ्नो दाबी अघि बढाएका हुन् ।

भारतबाट नेपाली जनसम्पर्क समितिका पूर्वसभापति तथा कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे आकांक्षी देखिएका छन् । भारतमा कांग्रेसको संगठन निर्माणमा लामो समयदेखि सक्रिय पाण्डेले केन्द्रीय सदस्यमा आफ्नो दाबी अघि सारेका छन् ।

युरोपबाट बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिकी पूर्वसभापति सीता सापकोटाले उम्मेदवारी घोषणा गरेकी छन् । नेपालमा समेत पार्टी राजनीतिमा सक्रिय रहेकी सापकोटा लामो समयदेखि बेल्जियममा कांग्रेसको संगठनसँग जोडिएकी छन् । उनी कांग्रेसको विशेष महाधिवेशनको पक्षमा पनि सक्रिय रहेकी थिइन् ।

अमेरिका क्षेत्रबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वकेन्द्रीय अध्यक्ष रविना थापा पनि केन्द्रीय सदस्यकी आकांक्षीका रूपमा देखिएकी छन् । अमेरिका–क्यानडा–अस्ट्रेलियालगायत क्षेत्रका लागि छुट्टै प्रतिनिधित्वको व्यवस्था भएपछि सो क्षेत्रबाट पनि दाबीहरू आउन थालेका छन् ।

एसिया क्षेत्रबाट जापानस्थित नेपाली जनसम्पर्क समितिका नारायण सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । करिब दुई दशकदेखि जापानमा रहेका सुवेदी व्यवसायसँगै कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।

मलेसियाबाट नेपाली जनसम्पर्क समितिका संरक्षक तथा पूर्वउपसभापति विनोद थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । थापा मलेसियाका व्यवसायी तथा एनआरएनए मलेसियाका पूर्वअध्यक्ष हुन् । उनी नेपालमै रहँदा पनि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताइन्छ ।

दक्षिण कोरियाबाट जनसम्पर्क समितिका पूर्वअध्यक्षद्वय गिरिराज कुँवर र नवराज सिवाकोटीले पनि केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । दुवै नेताको दाबी एसिया क्षेत्रबाट हुने प्रतिनिधित्वसँग जोडिएको छ ।

मध्यपूर्वबाट पनि आकांक्षीहरूको संख्या बढेको छ । कतारबाट राज रेग्मी र विमल सुवेदीले दाबी प्रस्तुत गरेका छन् भने यूएईबाट खेमराज बस्नेतले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसार अघि बढाएका छन् । बहराइनबाट पदमसुन्दर गुरुङले पनि केन्द्रीय सदस्यमा दाबी गरेका छन् ।

मध्यपूर्वबाट एक जना मात्र केन्द्रीय सदस्य चयन हुने भएकाले उक्त क्षेत्रका विभिन्न देशमा रहेका नेताहरूबीच उम्मेदवारी र सहमतिका विषयमा छलफल भइरहेको छ ।

युरोपमा पनि आकांक्षीहरूको संख्या उल्लेख्य छ । आयरल्यान्डस्थित जनसम्पर्क समितिका पूर्वसभापति अंकित ओलीले उम्मेदवारी दिने तयारी गरेका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका ओली सन् २०१७ देखि आयरल्यान्डमा रहेका छन् ।

जर्मनीबाट टंक लम्साल र विजय मोक्तानले पनि केन्द्रीय सदस्यका लागि दाबी गरेका छन् । एउटै देशबाट दुई जनाको दाबी आएपछि उनीहरूबीच सहमति गराएर एक जनालाई अघि बढाउने प्रयास भइरहेको छ । बेलायतबाट जनसम्पर्क समितिमा आबद्ध विश्व आदर्श पण्डित पनि आकांक्षी छन् । उनी शंकरदेव क्याम्पसका नेपाल विद्यार्थी संघका पूर्वसभापति हुन् ।

त्यस्तै नेदरल्यान्ड्सबाट शालिक गौतम, स्पेनबाट इन्द्र शर्मा अधिकारीलगायत नेताहरूले पनि केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन् । विभिन्न देशबाट आकांक्षीहरूको नाम थपिँदै गए पनि अन्तिम सूची भने उम्मेदवारी दर्तापछि मात्र स्पष्ट हुने देखिएको छ ।

जनसम्पर्क समितिबाट केन्द्रीय सदस्यको उम्मेदवारीका विषयमा अहिले विभिन्न देशमा आन्तरिक छलफल र सहमतिको प्रयास चलिरहेको छ । विशेषगरी एउटै क्षेत्रबाट धेरै आकांक्षी देखिएपछि साझा उम्मेदवार बनाउने प्रयाससमेत भइरहेको छ ।

जनसम्पर्क समितिको अध्यक्ष र पदाधिकारीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन नपाउने व्यवस्थाका कारण केही देशका इच्छुक नेताहरू पछि हटेको पनि कांग्रेस नेताहरू बताउँछन् । त्यसैले अहिले चर्चामा रहेका सबै नाम अन्तिम उम्मेदवारको सूचीमा नपर्न सक्ने अवस्था छ ।

संशोधित विधानले जनसम्पर्क समितिको संगठनात्मक प्रतिनिधित्वलाई पनि नयाँ ढंगले व्यवस्थित गरेको छ । जनसम्पर्क समितिको अध्यक्ष बन्न क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिका लागि पनि क्रियाशील सदस्यता र पार्टी सदस्यता अनिवार्य गरिएको छ ।

जनसम्पर्क समितिको सदस्य संख्याका आधारमा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ । कम्तीमा एक सय सदस्य रहेको समितिबाट सभापतिसहित दुई जना, पाँच सय वा सोभन्दा बढी सदस्य रहेको समितिबाट सभापतिसहित सात जना तथा दुई हजार वा सोभन्दा बढी सदस्य रहेको समितिबाट सभापतिसहित १४ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ ।

यसअघि विदेशमा रहेका कांग्रेस नेता–कार्यकर्ताले जनसम्पर्क समितिमार्फत पार्टी संगठनमा योगदान गर्दै आए पनि केन्द्रीय तहमा प्रत्यक्ष प्रतिनिधित्वको अवसर सीमित थियो । नयाँ व्यवस्थाले भने प्रवासमा रहेका कांग्रेस नेताहरूलाई पार्टीको केन्द्रीय संरचनामै पुग्ने बाटो खोलेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य बन्न आकांक्षीहरूको संख्या बढ्दै गएको हो । उम्मेदवारी घोषणा र क्षेत्रीय सहमतिको प्रक्रिया अघि बढेसँगै अन्तिम प्रतिस्पर्धामा को–को रहने भन्ने विषय पनि क्रमशः स्पष्ट हुँदै जानेछ ।

जनसम्पर्क समितिबाट उम्मेदवारीका विषयमा तीव्र छलफल भइरहेकाले असोज २० गतेपछि मात्रै उम्मेदवारहरूको वास्तविक तस्वीर सार्वजनिक हुने बताइएको छ । कांग्रेसको महाधिवेशन आज काठमाडौंको रत्नपार्कमा उद्घाटन हुँदैछ ।