रौतहट । भारतबाट नेपालतर्फ अवैध रूपमा चकलेट ल्याउँदै गरेको आरोपमा ६ जना नेपाली नागरिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)को नियन्त्रणमा परेका छन् ।
भारत–नेपाल सीमास्थित नायकटोला क्षेत्रमा शनिबार साँझ एसएसबीको ७१ औं वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
एसएसबीका अनुसार विशेष सूचनाका आधारमा सीमाक्षेत्रमा निगरानी बढाइएको थियो । सोही क्रममा साइकलमा सामान बोकेर नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूको गतिविधि शंकास्पद देखिएपछि टोलीले उनीहरूलाई रोकेर जाँच गरेको थियो ।
जाँच गर्दा ६ वटा साइकलमा २४ बोरा चकलेट फेला परेको एसएसबीले जनाएको छ । बरामद चकलेटको तौल करिब ९६० किलो रहेको बताइएको छ ।
पक्राउ पर्नेहरूमा बाराको कलैया उपमहानगरपालिका–मटिअर्वाका ४० वर्षीय राजु महतो, ४८ वर्षीय रामानन्द महतो, ४५ वर्षीय सुरेन्द्र महतो, ४७ वर्षीय रामप्रवेश मण्डल, ४५ वर्षीय महेन्द्र महतो र २२ वर्षीय विकासकुमार मण्डल रहेका छन् ।
एसएसबीले उनीहरूले भारतबाट चकलेट नेपालतर्फ ल्याउँदै गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिसहित चकलेट र साइकललाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि मोतिहारीस्थित भन्सार कार्यालयमा बुझाइएको छ ।
सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार बढ्न नदिन एसएसबीले गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।











प्रतिक्रिया