२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जवानको एक महिनापछि कुशको शव बनाएर दाहसंस्कार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी एक महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेका रौतहटका एक सैनिक जवानको हिन्दु परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका बैधनाथ साह कानुका २२ वर्षीय छोरा अभिषेक गुप्ता नेपाली सेनाको श्री शेरगण कार्यालय, रसुवामा जवान पदमा कार्यरत थिए ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि गुप्ता बेपत्ता भएका थिए । बाढीमा बेपत्ता भएपछि परिवारले लामो समयसम्म उनको खोजी तथा सकुशल फर्किने आशामा प्रतीक्षा गर्दै आएका थिए । तर, एक महिनाभन्दा बढी समय बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि पीडित परिवारले आज हिन्दु धार्मिक परम्पराअनुसार कुशको शव आकृति बनाएर दाहसंस्कार गरेका हुन् ।

परिवारजनका अनुसार लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नआएपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरिएको हो ।

अभिषेक नेपाली सेनामा कार्यरत रहँदा भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका थिए । उनको शव हालसम्म फेला नपरे पनि परिवारले हिन्दु संस्कारअनुसार अन्तिम बिदाइ गरेको हो ।

अन्तिम संस्कारको क्रममा नारायाण दल गणका प्रमुख सेनानी विश्वास विष्टको नेतृत्वमा गएको सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।