रौतहट । तराई–मधेशमा सन्तानको सुख, दीर्घायु र परिवारको मंगलकामनासहित मनाइने महत्वपूर्ण पर्व जितिया (जिउतिया) शुक्रबारदेखि विधिवत् सुरु भएको छ । पर्वको पहिलो दिन व्रतालु महिलाहरूले नहाय–खाय विधि सम्पन्न गरेका छन् ।
बिहानै नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शरीर र मन शुद्ध गर्ने, धार्मिक विधिअनुसार पूजा–आराधना गर्ने र त्यसपछि परम्परागत परिकार खाने चलन नहाय–खायमा छ । यही दिनबाट जितियाको मुख्य व्रतका लागि आवश्यक धार्मिक तथा मानसिक तयारीसमेत गरिन्छ ।
सन्तानको स्वास्थ्य, दीर्घायु तथा परिवारमा सुख–शान्ति कायम रहोस् भन्ने कामनाका साथ विशेषगरी तराई–मधेसका महिला यो पर्वमा सहभागी हुने गरेका छन् । थारु, मधेशी लगायत विभिन्न समुदायमा जितियाको आफ्नै मौलिक परम्परा र विधि रहेको पाइन्छ ।
नहाय–खायपछि असोज १७ गते मुख्य जितिया व्रत बस्ने र असोज १८ गते पारणा गर्ने धार्मिक परम्परा छ । मुख्य व्रतका क्रममा महिलाहरूले कठोर उपवास बस्दै विभिन्न धार्मिक अनुष्ठान र परम्परागत विधि पूरा गर्ने गर्छन् ।
जितियालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई तराई–मधेशको सामाजिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ । आमाको सन्तानप्रतिको समर्पण, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिलाई यस पर्वले जीवन्त राख्दै आएको छ ।













प्रतिक्रिया