काठमाडौं । १३ वर्षअघि भएको रक्तचन्दन तस्करी प्रकरणमा फरार देखाइएका ठेकेदार नवीनराज बस्नेतको ठेगाना खुलेपछि उनलाई अदालतमा उपस्थित गराउन पत्राचार गरिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका क्रममा बस्नेतको नागरिकता र स्थायी ठेगानासहितका विवरण फेला परेको जनाएको छ । यसअघि ठेगाना यकिन नभएको भन्दै काठमाडौं जिल्ला अदालतले उनलाई मुद्दामा तामेलीमा राखेको थियो ।
विभागले डिभिजन वन कार्यालयलाई पत्र पठाउँदै बस्नेतलाई खोजी गरी काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन भनेको हो । पत्रको बोधार्थ काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई समेत दिइएको छ ।
२०७० सालमा दायर भएको उक्त मुद्दामा भीमकुमार सुनुवार र खेमबहादुर सिंहलाई भने अदालतले दोषी ठहर गर्दै जनही ६ महिना कैद र ३ लाख ६१ हजार ६ सय रुपैयाँ जरिबाना सुनाएको थियो ।
प्रहरीका अनुसार १८ चैत २०६९ मा काठमाडौंको गुहेश्वरीबाट गोठाटारतर्फ जाँदै गरेको मिनीट्रकबाट बालुवाले छोपेर राखिएको ९ थान रक्तचन्दन बरामद भएको थियो । चालक र सहचालक पक्राउ परेपछि अनुसन्धानका क्रममा उनीहरूले कालिञ्चोक सप्लायर्सका सञ्चालक बस्नेतले आफूहरूलाई बोलाएको बयान दिएका थिए । उक्त गाडी पनि बस्नेतले भाडामा लिएको खुलेको थियो ।
यसैबीच, बस्नेतमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानसमेत अघि बढाइएको विभागले जनाएको छ । विभागले बस्नेत, उनका परिवार तथा साझेदारसँग सम्बन्धित सम्पत्ति र विभिन्न कम्पनीका कागजात संकलन गरिरहेको छ ।
विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको जग्गा तथा कम्पनीमा गरिएको लगानीको स्रोतबारे समेत अध्ययन भइरहेको छ । भक्तपुरको दुवाकोटमा साझेदारसँग मिलेर ठूलो क्षेत्रफलमा जग्गा खरिद गरी प्लानिङ गरिएको विषय पनि अनुसन्धानमा रहेको बताइएको छ ।
बस्नेत यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे र एप्रोन निर्माणको ठेक्कामा समेत संलग्न थिए ।











प्रतिक्रिया