काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–९ बाट क्षेत्रीय प्रतिनिधि छनोट हुँदा एउटै परिवारका ११ जना निर्वाचित भएका छन्।
कांग्रेस केन्द्रीय सदस्य राधेश्याम पाठकको परिवारका सदस्यहरू ठूलो संख्यामा क्षेत्रीय प्रतिनिधि बनेपछि उक्त वडा अधिवेशनको विषय पार्टीभित्र चर्चामा आएको छ।
रामग्राम–९ बाट चयन भएका कुल २४ क्षेत्रीय प्रतिनिधिमध्ये पाठक परिवारका मात्रै ११ जना छन्। प्रतिनिधि बन्नेमा राधेश्याम पाठकसहित चन्द्रशेखर पाठक, आशुतोष पाठक, कालिन्दी पाठक, गीता पाठक, जयदेव पाठक, तुषार पाठक, दामोदर पाठक, बेदव्यास पाठक, विश्वभरप्रसाद पाठक र भोला पाठक रहेका छन्।
परिवारका सदस्यहरू नै ठूलो संख्यामा प्रतिनिधि बनेपछि कांग्रेसका केही स्थानीय नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाएका छन्। उनीहरूले वडा अधिवेशनमा परिवारको प्रभाव बढी देखिएको टिप्पणी गरेका छन्। एक स्थानीय कांग्रेस नेताले अन्य व्यक्तिलाई प्रतिनिधिका रूपमा आउने अवसर कम भएको दाबी गर्दै भने, ‘अरूलाई ठाउँ नै नदिई परिवारका सदस्यलाई प्राथमिकता दिइएको देखियो।’
पाठक परिवारको राजनीतिक प्रभाव वडा तहमा पनि देखिएको भन्दै स्थानीय तहमा यस विषयमा चर्चा भइरहेको छ। राधेश्याम पाठकले आफ्ना भाइ चन्द्रशेखर पाठकलाई वडा सभापतिको जिम्मेवारीसमेत दिइएको बताएका छन्। चन्द्रशेखर यसअघि स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवार बने पनि पराजित भएका थिए।
तर, परिवारका ११ जना प्रतिनिधि चयन भएको विषयलाई लिएर आफूले कसैलाई जबर्जस्ती प्रतिनिधि बनाएको भन्ने आरोप पाठकले अस्वीकार गरेका छन्। उनका अनुसार उनका दाजुभाइ छुट्टाछुट्टै बस्दै आएका छन् र परिवारको दायरा काकाकाकी तथा अन्य आफन्तसम्म फैलिएको छ। करिब चार गाउँमा आफ्नो परिवार तथा आफन्तको ठूलो संख्या रहेको भन्दै उनले सबै जना आफ्नै पहलमा प्रतिनिधि बनेको भन्ने बुझाइ सही नभएको बताए।
‘हामी चार गाउँमा गरेर करिब दुई सय जनाजति छौँ। सबैलाई जनताले सर्वसम्मत रूपमा चुनेका हुन्। त्यसमा मैले के गर्न सक्छु ?’ पाठकले भने। उनले आफू लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै २०४२ सालको सत्याग्रहमा सहभागी भएको र पटकपटक जेलसमेत परेको बताए। यसपटकको प्रतिनिधि चयनको विषयलाई लिएर अनावश्यक रूपमा विवाद बनाइएको उनको दाबी छ।
रामग्राम–९ बाट निर्वाचित २४ प्रतिनिधिमध्ये झण्डै आधा संख्या एउटै परिवारका सदस्यको रहेपछि कांग्रेसको स्थानीय राजनीतिमा भने यसले नयाँ बहस सिर्जना गरेको छ।











प्रतिक्रिया