२८ आश्विन २०८३, बुधबार

बकैयाको ज्यामिरेमा जमिन चिरा, १६ परिवारलाई सुरक्षित स्थानमा सारियो (तस्वीरहरुसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीका १५–१६ घरपरिवार सुरक्षित स्थानमा सरेका छन् ।

आइतबार जोखिम देखिँदा तत्काल बस्ती छाड्न नमानेका स्थानीय सोमबार जमिनबाट अस्वाभाविक आवाज आउनुका साथै थप चिरा देखिएपछि सुरक्षित स्थानमा सरेका हुन् ।

भिरालो भू–भागमा रहेको बस्तीमा जमिनभित्रबाट आवाज आउन थालेको, केही भू–भाग तलतिर सरेको र ठाउँ–ठाउँमा चिरा देखिएको स्थानीयले बताएका छन् । जोखिमबारे स्थानीयलाई सूचना दिएपछि १५–१६ घरपरिवार सुरक्षित क्षेत्रमा स्थानान्तरण भएको स्थानीय प्रशासनले जनाएको छ ।

आइतबार बिहान करिब १० बजेदेखि तल्लो ज्यामिरेमा जमिन चिरिने, विद्युत्का पोल तलतिर सर्ने र घर समेत सर्न थालेको जानकारी गाउँपालिकालाई आएको थियो ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जोखिममा रहेको क्षेत्रमा करिब ३०–३५ घर रहेको प्रारम्भिक जानकारी दिए । उनका अनुसार जमिन साविकको अवस्थाभन्दा करिब चार फिट तल सरिसकेको र ठूलो भू–भाग नै सर्नसक्ने खतरा देखिएको छ ।

गाउँपालिकाले स्थानीयलाई तत्काल नजिकको विद्यालय लगायत सुरक्षित स्थानमा सार्ने प्रयास गरे पनि वर्षा रोकिएको र तत्काल अवस्था सामान्यजस्तो देखिएपछि उनीहरूले बस्ती छाड्न मानेका थिएनन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आइतबार नै घटनाबारे जानकारी पाएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।

उनका अनुसार यसअघि पनि उक्त क्षेत्रमा ठूलो चट्टान र जमिन सरेको जानकारी स्थानीय तहबाट प्रशासनलाई आएको थियो । यसपटक पनि उस्तै प्रकृतिको संकेत देखिएपछि बस्तीको अवस्थालाई गम्भीर रूपमा निगरानी गर्नुपर्ने देखिएको उनले बताएका छन् ।

गाउँपालिका अध्यक्ष लामिछानेका अनुसार तल्लो ज्यामिरे क्षेत्रमा यसअघि पनि यस्तै समस्या देखिएको थियो । २०५६ सालतिर सो क्षेत्रमा जमिन चिरिएर भू–भाग तलतिर धसिएपछि स्थानीयलाई करिब एक महिनाका लागि अन्यत्र सारिएको थियो । वर्षायाम सकिएपछि अवस्था सामान्य भएको भन्दै स्थानीय पुन: पुरानै ठाउँमा फर्केर बसोबास गर्दै आएका थिए ।

अहिले पुन: जमिन चिरिनु, भू–भाग सर्नु र जमिनभित्रबाट अस्वाभाविक आवाज आउन थालेपछि पुरानै जोखिम दोहोरिएको हो ।