२८ आश्विन २०८३, बुधबार

विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले होटल तथा रेस्टुरेन्ट व्यवसायलाई डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) सँग जोड्ने उद्देश्यले एकवर्षे राष्ट्रिय डिजिटल साक्षरता अभियान सुरु गरेको छ।

४७औँ विश्व पर्यटन दिवसको अवसरमा सुरु गरिएको ‘National Digital Literacy Campaign for the Hotel and Restaurant Industry’ अभियानमार्फत देशभरका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई डिजिटल प्रविधिको व्यावहारिक प्रयोग, अनलाइन बजार पहुँच र आधुनिक व्यवसाय सञ्चालन प्रणालीबारे प्रशिक्षण तथा प्राविधिक सहयोग उपलब्ध गराइने महासंघले जनाएको छ।

अभियानको शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले नेपालको आतिथ्यता क्षेत्रलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए। उहाँले डिजिटल प्रविधिको प्रयोग विस्तारसँगै व्यवसायीको क्षमता विकासमा मन्त्रालयले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न सहकार्य गर्न तयार रहेको बताउनुभयो। उहाँले प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर डिजिटल तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि अभियान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा महासंघसँग सहकार्य र समन्वय गर्न बोर्ड तयार रहेको धारणा राखे।

महासंघका अनुसार अभियानअन्तर्गत Google Business Profile तथा Google Maps मा व्यवसायको विवरण व्यवस्थापन, OTA तथा अनलाइन बुकिङ प्रणाली, होटल व्यवस्थापन प्रणाली (PMS), डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, QR Payment, ग्राहक समीक्षा व्यवस्थापन र डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिनेछ।

विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यमा रहेका होटल तथा रेस्टुरेन्टलाई डिजिटल बजारसँग जोड्दै अनलाइन माध्यमबाट ग्राहक पहुँच र व्यावसायिक अवसर विस्तारमा सहयोग गर्ने लक्ष्य अभियानले लिएको छ।

महासंघले सातै प्रदेश, जिल्ला तथा आबद्ध संघ–संस्थाको सञ्जालमार्फत अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ। व्यवसायको आकार, स्थान र आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकासलाई अभियानमा प्राथमिकता दिइनेछ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’को नेतृत्वमा अघि बढाइएको अभियानलाई विश्व पर्यटन दिवसको एकदिने कार्यक्रमका रूपमा सीमित नगरी आगामी एक वर्ष पहिलो कार्यचक्रका रूपमा सञ्चालन गरिने जनाइएको छ।

अभियानले होटल तथा रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै नेपाली आतिथ्यता क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने महासंघको विश्वास छ।