विराटनगर । युवापिढीलाई धर्म संस्कृतिको पहिचान गराउने र लोप हुँदै गएको संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भीमसेन जात्रा निकालिएको छ ।
विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०६८ सालमा विराटनगरको संसारी माइस्थानमा भीमसेन मन्दिर स्थापना गरेदेखि भीमसेन जात्रा निकाल्दै आएका छन् । स्थानीय संसारी माइस्थानस्थित भीमसेन मन्दिरबाट निकालिएको भीमसेनसहितको खट जात्राले विराटनगरको विभिन्न भागको परिक्रमा गरी झी पुचःमा समापन गरिएको थियो ।
जात्रामा नेवारी संस्कृति झल्किने धिमे बाजा र लाखे नाच प्रस्तुत गरिनुका साथै परम्परागत नेवारी पोशाक लगाएर महिलाहरु सहभागी भएका थिए ।
भिं द्यो अर्थात असल देवता नै अपभ्रंस भएर भीमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भीमसेनको जात्रा निकालिने गरिन्छ । यसपटकको भीमसेन जात्रामा नेवार मात्र होइन अन्य समुदायका मानिसहरुको पनि सहभागिता रहेको थियो ।











प्रतिक्रिया