२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्त्येष्टि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी एक महिनाअघि बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको शनिबार परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।

बाराको सुवर्ण गाउँपालिका–१ स्थित तीयर नदी किनारमा परिवारजनले कुशको शव बनाएर साहको दाहसंस्कार गरेका हुन् । अन्तिम संस्कारअघि नेपाली सेनाले उनलाई सैनिक सम्मानसहित सलामी अर्पण गरेको थियो ।

सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोलीका साह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए ।

भदौ १० गते रसुवामा भोटेकोशी नदीमा आएको बाढीका बेला ड्युटीमा रहेका उनी त्यसपछि बेपत्ता भएका थिए ।

बाढीपछि परिवार, आफन्त तथा सुरक्षा निकायबाट उनको खोजी निरन्तर गरिए पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन सकेन । शव फेला नपरेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो ।

अन्तिम संस्कारमा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, नेपाली कांग्रेसका नेता सतेन्द्र यादव, जेन्जी अगुवा अजय यादव, नेपाली सेनाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो ।

साहको वास्तविक शव फेला नपरे पनि परिवारले लामो प्रतीक्षापछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको हो । एक महिनासम्म छोराको अवस्थाबारे पर्खाइमा रहेको परिवारका लागि शनिबारको संस्कार भावुक र पीडादायी क्षण बनेको थियो ।