फिदिम । लगातारको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पाँचथरका सबै शैक्षिक संस्था दुई दिनका लागि आकस्मिक बन्द गरिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा उच्च वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासन कार्यालय पाँचथरको निर्देशन अनुसार असोज ८ र ९ गते विद्यालयहरू बन्द गरिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका सबै स्थानीय तहहरूलाई विद्यालय बन्द गराउन पत्राचार गरिएको थियो । सोही आधारमा फिदिम नगरपालिका र याङवरक गाउँपालिकालगायत स्थानीय तहले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
बिहीबार र शुक्रबार आकस्मिक बिदा दिइएको र शनिबार तथा आइतबार नियमित बिदा पर्ने भएकाले पाँचथरका विद्यालयहरू लगातार चार दिनसम्म बन्द रहने भएका छन् ।
यसैबीच, पाँचथरमा बिहीबार साँझदेखि निरन्तर मध्यम वर्षा भइरहेको छ। हालसम्म जिल्लाभर कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रशासनले जनाएको छ ।











प्रतिक्रिया