काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनर्स्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरिएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको केन्द्रीय समितिले गरेको अध्ययनअनुसार पहिचान गरिएको जग्गाको कुल क्षेत्रफल ३ हजार २७९ रोपनी २ पैसा छ । त्यसमध्ये रसुवामा १७७, नुवाकोटमा ९४ र धादिङमा ६ कित्ता छन् ।
क्षेत्रफलका हिसाबले नुवाकोटमा २ हजार ६६५ रोपनीभन्दा बढी, रसुवामा ५९१ रोपनीभन्दा बढी र धादिङमा २२ रोपनीभन्दा बढी जग्गा पहिचान भएको छ ।
समितिले पुनर्स्थापनाका लागि सुरक्षित स्थानलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ । जोखिमयुक्त क्षेत्रमा बस्ती बसाल्न नहुने भन्दै अन्तिम निर्णयअघि थप प्राविधिक, वातावरणीय र सामाजिक अध्ययन तथा स्थानीयसँग परामर्श गर्नुपर्ने बताइएको छ ।
यस्तै, पुनर्स्थापनालाई घरका लागि मात्रै जग्गा उपलब्ध गराउने नभई सडक, खानेपानी, विद्युत्, विद्यालय, स्वास्थ्य र सञ्चारसहितको एकीकृत बस्ती विकासका रूपमा अघि बढाउन समितिले सुझाव दिएको छ ।











प्रतिक्रिया