काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु न्यायको विषय तथ्यसहित विश्वसामु स्थापित गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित जलवायु परिवर्तन र जलवायु न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विश्वको राजनीतिक शक्ति सन्तुलन फेरिँदै गएको र बहुध्रुवीय विश्वमा नेपालले आफ्ना प्राकृतिक विपद् र जलवायुजन्य क्षतिको प्रभावकारी कूटनीतिक आवाज उठाउनुपर्नेमा जोड दिए ।
हालै भारतको नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स सम्मेलनको घोषणापत्रमा समेत जलवायु परिवर्तनका विषय समेटिएको स्मरण गराउँदै उनले नेपालजस्ता हिमाली मुलुकले विश्वव्यापी प्रदूषणको ठूलो मूल्य चुकाउनु परिरहेको धारणा राखे ।
नेता नेपालले रसुवाको भोटेकोशी बाढी लगायतका प्राकृतिक विपत्तिहरूले हिमाली तथा तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको भन्दै विकसित राष्ट्रहरूबाट त्यसको उचित क्षतिपूर्ति र जलवायु न्याय पाउनुपर्ने दाबी गरे ।
सन् २००९ मा आफ्नै नेतृत्वको सरकार हुँदा सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद् बैठक राखी विश्व समुदायको ध्यानाकर्षण गराएको स्मरण गर्दै उनले नेपालले हिमाल र प्रकृतिको संरक्षणमा खेलेको भूमिकाअनुसारको हक अन्तर्राष्ट्रिय मञ्चबाट लिन सक्नुपर्ने उल्लेख गरे ।
सहसंयोजक नेपालले विकास र पर्यावरणबीच सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले तराई–मधेशमा पानीको सतह घट्दै गएको र हिमालहरू पग्लिँदै कालो चट्टानमा परिणत हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै चुरे संरक्षण तथा जलाशय निर्माणका कार्यक्रमहरूलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।











प्रतिक्रिया