कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर–तौलिहवा सडकखण्डमा दुई वटा स्कुटर आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बुधबार साँझ करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प १२६५ नम्बरको स्कुटीले अगाडि रहेको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००९ प २४०२ नम्बरको ई–स्कुटीसँग ठोक्किएको थियो ।
दुर्घटनामा स्कुटी चालक रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाही निवासी २७ वर्षीय रुद्रनारायण थारु गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि पिपरा अस्पताल लगिएकोमा चिकित्सकले साँझ ४ः५० बजे मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा ई–स्कुटी चालक बाणगंगा–८ बोडगाउँकी ३५ वर्षीया रेखा घिमिरे र ट्याक्टर चालक बाणगंगा–११ मैरीका ३५ वर्षीय बमबहादुर चौधरी घाइते भएका छन् ।
घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।











प्रतिक्रिया