काठमाडौं । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी सामाजिक सेवा तथा स्वयंसेवक विभागद्वारा आयोजित रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम शनिबार काठमाडौंको बानेश्वरमा सम्पन्न भएको छ ।
मानवीय सेवाको भावना, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको दायित्वलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा रक्तदानसँगै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएका सर्वसाधारण, स्वयंसेवक, खेलकुदकर्मी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटी सामाजिक सेवा तथा स्वयंसेवक विभाग प्रमुख अशिष राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष दिपेन्द्रप्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख विशाल भट्टराई लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएको उल्लेख गर्दै नियमित रूपमा रक्तदान गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न स्वास्थ्य समस्याका कारण आवश्यक पर्ने बिरामीहरूका लागि समयमै रगत उपलब्ध गराउन रक्तदान कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी रक्तदाताहरूले स्वेच्छिक रूपमा रक्तदान गर्दै सामाजिक सेवामा आफ्नो योगदान दिएका थिए । रक्तदान कार्यक्रममा कुल १०८ जनाले रक्तदान गरेका थिए ।
आयोजकका अनुसार रक्तदानमार्फत संकलित रगतले आवश्यक पर्ने बिरामी तथा अस्पतालहरूमा रगतको अभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, कार्यक्रमसँगै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २०० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरमा सहभागी सर्वसाधारणले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य परामर्श समेत प्राप्त गरेका थिए ।
नेपाल खेलकुद महासंघले खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनसँगै सामाजिक सेवाका क्षेत्रमा पनि आफ्नो भूमिका प्रभावकारी बनाउँदै लैजाने उद्देश्यअनुरूप यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
महासंघका अनुसार खेलकुदसँग जोडिएका युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउँदै समाजमा आवश्यक पर्ने सहयोग र सेवाका गतिविधिहरूलाई निरन्तरता दिने योजना रहेको छ ।
रक्तदान तथा स्वास्थ्य शिविरमा सहभागी रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक, आयोजक समिति, सहयोगी संस्था तथा उपस्थित सम्पूर्णप्रति आयोजकले आभार व्यक्त गरेको छ । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले जनाएको छ ।
कार्यक्रमले रक्तदानमार्फत जीवन बचाउने अभियानलाई प्रोत्साहन गर्नुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ । सामाजिक सेवाको भावना बोकेर आयोजना गरिएको उक्त कार्यक्रमले नेपाल खेलकुद महासंघको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई समेत थप बलियो बनाएको सहभागीहरूले बताएका छन् ।











प्रतिक्रिया