काठमाडौं । गोरखापत्र दैनिकका पूर्वसम्पादक वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको शनिबार बिहान निधन भएको छ ।
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि शनिबार बिहान सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव हाल अस्पतालमै राखिएको र आइतबार दाहसंस्कार गरिने अग्रज पत्रकार विष्णु निष्ठुरीले जानकारी दिए ।
‘उहाँको छोरी भोलि लन्डनबाट आइपुग्नुहुन्छ । त्यसपछि पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्तेष्टि गरिने जानकारी पाएका छौँ,’ उनले भने ।
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि आइतबार थप परीक्षणका लागि चिकित्सकले समय दिएका थिए । तर, शनिबार बिहान निकै गाह्रो भएपछि थानकोटबाट सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । उनी लामो समयदेखि मृगौला, कलेजो र फोक्सोको समस्याबाट पीडित थिए ।
२०१६ माघ ७ गते इलाममा जन्मिएका गौतम थानकोटमा बस्दै आएका थिए ।
विभिन्न पत्रिकाका स्तम्भकारका रुपमा काम गरिसकेका उनमा नेपाल टेलिभिजन, रेडियो नेपालमा पनि काम गरेको अनुभव थियो ।











प्रतिक्रिया