काठमाडौं । रसुवाको भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा एक जनाको शव फेला परेको छ।
भदौ १० गतेको बाढीपछि जारी खोजी तथा उद्वारका क्रममा थप एकजनाको शव फेला परेको हो । सेनाले दिएको जानकारी अनुसार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा शव फेला पारेको हो।
यस्तो छ सेनाले दिएको जानकारी-
१. हवाई खोज तथा उद्धार कार्य
नेपाली सेनाद्वारा हवाई साधनमार्फत आज दिउँसो ३ बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट २० जनाको उद्धार गरिएको र हालसम्म हवाई साधन मार्फत ४०४० (स्वदेशी-३७५७ र विदेशी-२८३) जनाको उद्धार गरिएको सेनाले जनाएको छ।
२. टनेलमा खोज तथा उद्धार कार्य
रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली कम्पोजिट क्विक रियाक्सन टिम तथा आयोजनाको प्रतिनिधि सहितको टोली पावर हाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगी खोजी कार्य गरिरहेको छ। संयुक्त टोलीले रसुवा भोटेकोसी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा १ वटा शव फेला पारेको छ।
यस्तै, लाङटाङ जलविद्युत आयोजनामा संयुक्त उद्धार टोलीद्वारा खोज तथा उद्धार कार्य जारी रहेको छ।
चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले ४ वटा ६/६ मिटर लम्बाइका ठुला पाइपहरूको प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारिएको छ। स्याफ्रुवेशीदेखि चिलिमे जलविद्युत आयोजनाको टनेलसम्म हेवी इक्विपमेन्ट लैजानको लागि सडकमा रहेको ठुलो ढुङ्गालाई ब्लाष्टिङ्ग गरी हटाउने कार्य भएको र मेजर रकसम्म पुग्नको लागि ९५ मिटर बाँकी रहेको छ। विन्च मेसिन र बकेटबाट डेब्रिस हटाउने कार्य भइरहेको तथा संयुक्त टोलीबाट टनेलको ११५ मिटरसम्म प्रवेश गरी खोजी कार्य गरिरहेको छ।
नेपाली सेनाका अनुसार माथिल्लो त्रिशुली १ मा विदेशी सहितको संयुक्त टोलीले मुख्य प्रवेश टनेलको करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरिरहेको छ।
यता, त्रिशूली-३ए को पावरहाउस तथा टनेलमा नेपाली सेनाको ३४, सशस्त्र प्रहरी बल-४ र आयोजनाका प्रतिनिधिहरूसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ।
त्रिशूली- ३बी मा नेपाली सेनाको १०१ जना र आयोजनाको प्रतिनिधिहरू सहितको संयुक्त टोलीले थ्री एक्स एक्साभेटर प्रयोग गरी करिब २३ फिट गहिराइसम्म खनेर खोजी गर्दा आयोजनाको कार्यालय तथा आवास गृह इलाकामा फेला नपरेको तथा खोजी कार्य भइरहेको जनाइएको छ।
३. पुल जडान
नुवाकोट जिल्ला, विदुर न.पा-५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाका इन्जिनियरिङ फौजबाट खट्टिएको ५५ जनाको टोलीद्वारा पुल निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ।
नेपाली सेनाका इन्जिनियरबाट ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने करिब २५० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणको परामर्श सहित कार्य सुरु भएको छ।
४. जमिनी खोज तथा उद्धार र राहत
प्रभावित क्षेत्रका मैलुङदेखि स्याफ्रूबेसी इलाकासम्म पैदल गस्ती गरी खोज तथा उद्धार कार्य गरिरहेको छ। साथै, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज जम्मा ५० जनाले स्वास्थ्य सेवा प्राप्त गरेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको छ।











प्रतिक्रिया