काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा रहेका मुख्य राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले आज बिहान ६ः४० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रहरीको अद्यावधिक जानकारी अनुसार काठमाडौंबाट धादिङतर्फ जाने मार्गको चन्द्रागिरि नगरपालिका–२, चिसापानी क्षेत्रमा खसेको पहिरो हटाइएकाले अहिले सो सडकखण्ड एकतर्फी रूपमा सुचारु भएको छ । तर, बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा भने सवारी सञ्चालनमा रोक लगाइएको छ । सो क्षेत्रमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्मको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारी साधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।
यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि देशका अन्य मुख्य राजमार्गहरूमा पनि आवगमन प्रभावित रहेको छ ।
यसैगरी, शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा रात्रिकालीन समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारी साधन चलाउन रोक लगाइएको छ ।
प्रहरीले यात्रामा निस्कनुअघि अनिवार्य रूपमा सम्बन्धित क्षेत्रको सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।











प्रतिक्रिया